नाटककार, आख्यानकार तथा कवि विजय मल्लको १९८२ सालमा जन्म भई २०५६ सालमा निधन भएको थियो ।
काठमाडौँ — समालोचक प्राडा वासुदेव त्रिपाठीले डा साधना पन्त ‘प्रतीक्षा’कृत ‘नारीवादी नाटककार विजय मल्ल’नामक समालोचनात्मक कृति र नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘विजय मल्ल’नामक जीवनीकृति लोकार्पण गरेका छन् । आइतबार वानीरा सङ्ग्रहालयमा दुवै कृतिको विमोचन गरिएको हो।
नइ एकेडेमीबाट प्रकाशित ती कृतिबारे प्रा केशव सुवेदीले समीक्षात्मक मन्तव्य दिएका थिए । दुवै कृतिको विमोचनसँगै नइ एकेडेमीले विजय मल्ल शताब्दी महोत्सव समापन भएको जानकारी दिएको छ ।
विजय मल्लका सिर्जनात्मक कृतिको संवर्धनमा उल्लेखनीय योगदानका लागि नेपाल तथा भारतका ४५ जना प्राज्ञ, साहित्यकार, नाट्य र चलचित्रकर्मीलाई २०८२ सालमा ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ र पदकबाट विभूषित गरिएको थियो । साथै नइबाट मल्लको व्यक्तित्व र कृतित्वमाथि चर्चा-परिचर्चा पनि गरिएको थियो ।
नाटककार, आख्यानकार तथा कवि विजय मल्लको १९८२ सालमा जन्म भई २०५६ सालमा निधन भएको थियो ।
नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित विजय मल्ल शताब्दी महोत्सव विसर्जन समारोहमा समालोचक प्राडा त्रिपाठीले मल्लबारे लामो प्रवचन दिएका थिए । समारोहमा ग्रन्थकार डा.साधना पन्त र नरेन्द्रराज प्रसाईले स्रष्टा विजय मल्लको योगदान र कृतिबारे प्रकाश पारेका थिए ।
