माडीमा गुञ्जियो दुराको ठाडो भाका

माडीको पूर्वी कुनो बगईमा थारु समुदायले शनिबार आफूले मनाउने प्रमुखमध्येको यमोसा पर्वको विधि बताइरहँदा त्यहाँ बसोबास भएका जनजाति दुराहरूले आफ्नो मौलिक ठाडो भाका गुञ्जाए ।

वैशाख २०, २०८३

रमेशकुमार पौडेल

Dura's strong voice echoed in the crowd.

What you should know

चितवन — माडी आदिवासी थारु समुदायको मुख्य बसोबास भएको क्षेत्र हो । भरतपुरदेखि दक्षिण चितवन राष्ट्रिय निकुञ्जको जंगल पार गरेर जानुपर्ने माडीमा थारुसँगै अनेक जातजातिको बसोबास छ ।

शनिबार माडीको पूर्वी कुनो बगईमा थारु समुदायले आफूले मनाउने प्रमुखमध्येको यमोसा पर्वको विधि बताइरहँदा त्यहाँ बसोबास भएका जनजाति दुराहरूले आफ्नो मौलिक ठाडो भाका गुञ्जाए ।

माडीको कान्तिपुर र खरकट्टामा गन्धर्व समुदायको पनि बसोबास छ । उनीहरूले सारङ्गीको धुनमा आफ्नो कथाव्यथा वर्णन गरे । थारु समुदायको यमोसा असोज या कात्तिक महिनामा सोह्रश्राद्धको अन्तिम दिन औंसी तिथिमा पर्दछ । तर माडी नगरपालिकाको प्रज्ञा प्रतिष्ठान र भरतपुरको संस्था भाषा, कला, तथा सांस्कृतिक प्रतिष्ठानले शनिबार आयोजना गरेको कार्यक्रममा उनीहरूले आफ्नो संस्कृति देखाउन यमोसा मनाउने विधि विधानलाई कार्यक्रमका अतिथि र अन्य सहभागिका माझमा पेस गरेका हुन् ।

बगईमा लमजुङ दुराडाँडाबाट बसाइ सर्दै आएका दुरा समुदायको पनि बसोबास छ । उनीहरूले लमजुङ छाडे पनि आफूहरूले गाउन नबिर्सेको ठाडो भाका उक्त कार्यक्रममा सुनाए । त्यसै गरी गन्धर्वहरूले सारङ्गीबाट मंगलधुन निकाल्दै कार्यक्रम अगाडि बढाएका थिए । माडी नगरपालिकाका मेयर ताराकुमारी काजी महतोले उद्घाटन गरेको कार्यक्रममा विभिन्न व्यक्तिहरूले माडीका बारेमा बोलेका थिए ।

‘माडी भरतपुरबाट केही पर छ । अहिले बाटो राम्रो भयो । खोलामा पुलहरू बने । तर कुनै बेला माडी आउनै कठिन थियो । यस्तो ठाउँमा पनि विभिन्न जातजाति समुदाय पहिल्यैदेखि मिलेर बसेका छन् । उनीहरूका आफ्ना मौलिक गीत, नाच र संस्कृति छन्,’ माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण सापकोटाले भने । सबै जातजातिको संस्कृतिलाई पहिचान दिन र संरक्षण गर्न आवश्यक रहेको उनले बताए ।

माडीमा आदिवासी थारु, बोटे, दराईहरूको बसोबास छ । जनजातिहरू दुरा, मगर, गुरुङ, तामाङ, नेवारका साथै ब्राह्मण, क्षेत्री, मधेसी र मुस्लिम समुदाय पनि माडीमा बस्छन् । उनीहरू सबैका संस्कृतिलाई उजागार गर्दै लैजाने योजना रहेको सापकोटाले बताए । भाषा, कला, तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष एकनारायण पौडेलले यस्ता कार्यक्रम आगामी दिनमा पनि गर्दै जाने जानकारी दिए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully