भैरव अर्यालको जीवनीमा आधारित उपन्यास ‘भग्न भैरव’ लेखन तथा नेपाली साहित्यको वाङ्मयप्रति पुर्याएको योगदानको कदर गर्दै प्रोल्लास सिन्धुलीयलाई भैरव अर्याल स्मृति साहित्य सम्मान प्रदान गरिएको आयोजकले जनाएका छन् ।
हेटौंडा — प्रत्येक वर्ष प्रदान गरिँदै आएको भैरव अर्याल स्मृति साहित्य सम्मान साहित्यकार प्रोल्लास सिन्धुलीयलाई प्रदान गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका–४ स्थित पुष्पलाल स्मृति पुस्तकालयमा शनिबार आयोजित कार्यक्रममा साहित्यकार सिन्धुलीयलाई २१ हजार १ सय ११ रुपैयाँसहित २०८२ सालको भैरव अर्याल स्मृति सम्मान प्रदान गरिएको हो ।
साहित्य संगम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरले संयुक्त रूपमा प्रदान गर्दै आएको उक्त सम्मान भैरव अर्यालकै जीवनीमा आधारित उपन्यास ‘भग्न भैरव’ लेखन तथा नेपाली साहित्यको वाङ्मयप्रति पुर्याएको योगदानको कदर गर्दै सिन्धुलीयलाई प्रदान गरेको आयोजकले जनाएका छन् । सिन्धुली जिल्लाको गैयाटारमा जन्मिएका सिन्धुलीयले निरन्तर रूपमा नेपाली साहित्य लेखन, सम्पादनलगायतका क्षेत्रमा योगदान पुर्याउँदै आएका छन् ।
सिन्धुलीयले ‘बाहिर एक मुठ्ठी तुसारो छ’, ‘शब्दहरूको नेपथ्य’, ‘चुपचापको अन्त्य’लगायत कविता संग्रह प्रकाशन गरेका छन् । कविताबाहेक कथा, लघुकथा, उपन्यास, निबन्ध, यात्रा संस्मरणका दर्जनौं कृति पनि उनले प्रकाशन गरेका छन् ।
साहित्य सगंम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त आयोजनामा भएको कार्यक्रममा साहित्यकारहरू स्नेह सायमी तथा लक्ष्मी मालीले आफ्ना कृति पुष्पलाल स्मृति पुस्तकालयलाई उपलब्ध गराएका थिए । कार्यक्रममा साहित्यकारहरू आरसी रिजाल, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष संप्रस पौडेल, कुन्ता शर्मा, निमेष निखिल, स्नेह सायमी, लक्ष्मी माली, धीरेन अनुपम, कल्पना पौडेललगायतको उपस्थिति थियो ।
