शर्माको 'पोइटिक डायस्पोरा' कवितासंग्रहमाथि विमर्श

प्राडा अरूण गुप्तोले अंग्रेजी भाषामा लेखिएका १३० वटै कविता निकै शक्तिशाली रहेको प्रतिक्रिया दिए ।

वैशाख ८, २०८३

इकान्तिपुर डेस्क

Discussion on Sharma's poetry collection 'Poetic Diaspora'

काठमाडौँ — कवि अनुशा शर्मा सुवेदीद्वारा लिखित कवितासंग्रह 'पोइटिक डायस्पोरा'माथि परिचर्चा गरिएको छ।

ललितपुरको हात्तीवनमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेका प्राडा अरूण गुप्तोले कविताका शब्दहरू निकै चिन्तनशील रहेको बताए । अंग्रेजी भाषामा लेखिएका १३० वटै कविता निकै शक्तिशाली रहेको उनको भनाइ थियो । 'कुनै विषयलाई समातेर शब्दमा खेल्न सक्ने क्षमता र शाब्दिक परिकल्पनाशक्ति निकै बलियो रहेको पाएँ,' उनले भने ।

समीक्षक केशव सिग्देलले अनुशाका कविता उच्च कोटिका भएको बताए। 'शब्द-शब्दमा गहन अर्थ मिठो शिल्पमा बाँधिएका छन्। खुट्किलाबद्ध शैलीले पाठकलाई नतानी रहन सक्दैन। कवितामा भक्तिधारामा प्रवाहित छन्। कविता पढ्दा कविभित्रको स्वतन्त्रताको चिन्तन प्रस्ट छचल्किन्छ,' उनले भने ।

अर्का समीक्षक महेश पौडेलले अनुशाका कवितामा जीवन र जगतलाई हेर्ने आयु रहेको बताए। उनले मेडिटेसनको काम गर्ने सामर्थ्य कवितामा रहेको धारणा राखेका थिए ।

कवि सरला केसीले पनि अनुशाका कवितामा शक्तिशाली भाव रहेको बताएकी थिइन्। 'मलाई उहाँका कविता पढ्दा कुनै शीतल छहारीमा बसेजस्तै भान भएको छ। शब्दमा शक्ति र भावमा ओज छ । भावनात्मक कसीमा पाठकलाई बाँध्न सक्ने सामर्थ्य कविताले राख्छन्,' उनले भनिन् ।

कवि लेखक राजीव श्रेष्ठले अनुशाका कवितामा जीवनको अनुभूति पाएको प्रतिक्रिया दिएका थिए। 'उहाँका कविता आफ्नै जीवन भोगाइबाट निस्किएका प्रतिछाया जस्ता छन्। उहाँका कवितामा अध्यात्मिक रससमेत रहेको छ,' उनले भने।

निबन्धकार एवं पत्रकार दीपक सापकोटाले अनुशाका केही कविता वाचन गरेका थिए । पत्रकार राज सरगमले सहजकर्ताको भूमिका निर्वाह गर्दै अनुशासँग कृतिका बारेमा संवाद गरेका थिए ।

कवि अनुशाले आफूले शब्दमा भन्न सकेका कुरा कविताका माध्यमबाट अभिव्यक्त गरेको बताइन् । 'मैले विभिन्न कारणले परिवारसँग टाढा रहनु पर्दाका अनुभूति कवितामा समेटेकी छु। आफ्ना भन्न नसकेका भाव कविताका माध्यमबाट व्यक्त गरेकी छु। यो कृति प्रकाशनका लागि मेरो परिवारको ठूलो साथ छ,' उनले भनिन् । 

इकान्तिपुर

Link copied successfully