धनकुटामा चियासँग ‘कविता कन्सर्ट’

२०८१ फागुन २ गतेदेखि नियमित रूपमा हरेक शुक्रबार सञ्चालन हुँदै आएको यस कार्यक्रममा सहभागीहरूले कविता, गजल, मुक्तक तथा गीत प्रस्तुत गर्ने अवसर पाउँदै आएका छन्।

वैशाख ५, २०८३

विनोद घिमिरे

'Poetry Concert' with Tea in Dhankuta

What you should know

धनकुटा — हरेक शुक्रबार धनकुटामा सञ्चालन हुँदै आएको ‘चियासँग कविता’ कार्यक्रमको ५५औँ शृंखलामा ‘कविता कन्सर्ट’ आयोजना गरिएको छ । साहित्य र संगीतलाई एउटै मञ्चमा प्रस्तुत गर्दै आयोजित  ‘कविता कन्सर्ट’ कार्यक्रमले साहित्यप्रेमीमा नयाँ सांस्कृतिक स्वाद थपेको हो।

धनकुटा मदनचोकमा रहेको बहुमुखी पाठशालामा आयोजित कविता कन्सर्टका सहभागीहरूले कविता सुन्नकै लागि  शुल्क तिरेका थिए। कार्यक्रममा कवि उत्तम तुम्सा लिम्बू र डीआर फुयालले आ–आफ्ना करिब एक दर्जन कविता वाचन गरे। उनीहरूले समाजमा भइरहेका घटनाक्रम, व्यक्तिगत भोगाइ, प्रेम, पीडा र जीवनका विविध पक्षलाई कवितामार्फत प्रस्तुत गरे। लिम्बू लामो समयदेखि राजधानीमा बसेर साहित्यका विभिन्न विधामा सक्रिय रहँदै आएका छन् । भोजपुरे कलाकार तेजेन्द्र गन्धर्वले सारङ्गीको मधुर धुनमा आधा दर्जनभन्दा बढी गीत प्रस्तुत गरे। उनका गीतले जीवनका विविध अनुभूति र सामाजिक परिवेश समेटेका थिए ।

धनकुटा आयोजना गरिएको कविता कन्सर्टले साहित्य र संगीतलाई एकै सूत्रमा बाँध्दै दर्शकलाई फरक अनुभव दिलाएको आयोजकको भनाइ छ। धनकुटामा सञ्चालित रेडियो धनकुटा एफएम १०६.२ मेगाहर्जले कविता कन्सर्ट कार्यक्रम आयोजना गरेको हो। रेडियोका अध्यक्ष गोपाल बराइलीले एक वर्षअघिदेखि धनकुटामा नियमित रूपमा हरेक शुक्रबार चियासँग कविता कार्यक्रम सञ्चालन गर्दै आएका छन्। योपटक कन्सर्ट आयोजना गरेर साहित्यलाई नयाँ ढंगले अघि बढाउँदै ओझेलमा परेका प्रतिभालाई उजागर गरिएको बराइलीले बताए ।

‘चियासँग कविता’ कार्यक्रम २०८१ माघ महिनामा केही साहित्यप्रेमीको पहलमा सुरु भएको हो। २०८१ फागुन २ गतेदेखि नियमित रूपमा हरेक शुक्रबार सञ्चालन हुँदै आएको यस कार्यक्रममा सहभागीहरूले कविता, गजल, मुक्तक तथा गीत प्रस्तुत गर्ने अवसर पाउँदै आएका छन्।

कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुली प्रमुख अतिथिको भूमिकामा उपस्थित थिए।  मन्त्री पराजुलीले ‘चियासँग कविता’ कार्यक्रमले धनकुटामात्र नभई देशभर सकारात्मक सन्देश प्रवाह गरिरहेको उल्लेख गरे। साथै, उनले कार्यक्रमको निरन्तरताका लागि ‘चियासँग कविता अक्षयकोष’ मा १० हजार रुपैयाँ सहयोगको प्रतिबद्धतासमेत जनाए । 

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully