खरेलको उपन्यास ‘आदिरा’ सार्वजनिक

लेखक खरेलले आदिरालाई प्रेम, करुणा र सद्भावको कथाका रुपमा वर्णन गरिन् ।

चैत्र ३०, २०८२

कान्तिपुर संवाददाता

Kharel's novel 'Adira' published

काठमाडौँ — अनिता खरेलको उपन्यास 'आदिरा' बजारमा आएको छ ।

मण्डला थिएटरमा कवि तथा उपन्यासकार विप्लव प्रतीक, फिल्म निर्देशक शान्ता नेपाली, जेन-जी अभियन्ता माजिद अन्सारीले पुस्तकको विमोचन गरेका हुन् ।

कवि प्रतीकले पाठक आफैले दृश्य बनाउन पाउने भएकाले उपन्यासले पृथक् आस्वाद दिने बताए ।उपन्यासमा स्वैरकल्पनाको अद्भुत संसार निर्माण भएको उनको भनाइ थियो । 'काल्पनिक संसारमा घुम्दाघुम्दै नभनिएको र कल्पना नगरिएको प्लट, मोड, आरोह अवरोहको विशाल इमेज रोचक ढंगले बुन्नु अर्को कठिन काम हो,' उनले भने, 'यही कठिन कामको अद्भुत परिणाम हो, आदिरा ।'

अर्की वक्ता नेपालीले उपन्यास पढ्दै गर्दा कल्पनाको संसारमा डुब्दै गएको र वास्तविक संसारसँग तुलना गर्दा आफूले निर्माण गर्दै गरेको फिल्मको परिवेश चितवनको माडीसँग दाँज्न पुगेको बताइन् । कथाले पाठकलाई उपन्यासभित्रै तानिरहने उनको भनाइ थियो ।

अन्सारीले कथाको प्लट सुरु भएपछि कथामा ट्वीस्ट आउन सुरु भएको बताए। 'पात्रहरुको अनुभूतिले मलाई आफ्नो कथासँग साक्षात्कार गराएको जस्तै भयो,' उनले भने ।

लेखक खरेलले आदिरालाई प्रेम, करुणा र सद्भावको कथाका रुपमा वर्णन गरिन् । त्याग र कर्तव्यपरायणता, मातृवात्सल्य, शक्ति र शाहसको कथा पनि यसमा समेटिएको उनको भनाइ थियो । यो लेखकको पहिलो उपन्यास हो । पुस्तक रेडपाण्डा बुक्सले बजारमा ल्याएको हो ।

कान्तिपुर

Link copied successfully