नारायणीमाथि पानीजहाजमा काव्य उत्सव, रचना वाचनसँगै कार्यपत्र प्रस्तुति र काव्य विमर्श

काव्य उत्सवमा सहभागी स्रष्टाहरूले पनि आफ्ना रचनामार्फत पर्यटन र वर्तमान समाजलाई जोड्ने प्रयास गरे ।

चैत्र २३, २०८२

कान्तिपुर संवाददाता

Poetry festival on a ship on Narayani, with readings, worksheet presentations, and poetry discussions

काठमाडौँ — नवलपरासीपूर्वको गैँडाकोटमा आइतबार सुरु भएको राष्ट्रिय पर्यटन काव्य उत्सव–२०८२ सोमबार सकिएको छ ।

स्थानीय पर्यटन, संस्कृति र पहिचानबारे सशक्त सन्देश प्रवाह गर्दै नारायणी नदीमा सञ्चालित राइनो क्रुज (पानीजहाज)मा गैंडाकोट नगरपालिका र गैंडाकोट नगर प्रज्ञा–प्रतिष्ठानको आयोजनामा गरिएको उत्सवमा वक्ताहरूले आफ्नो धारणा स्पष्ट रूपमा राख्दै कार्यक्रमको उद्देश्यलाई थप अर्थपूर्ण बनाए । 

कार्यक्रमका सहभागीले आइतबार साँझ र सोमबार बिहान नारायणी नदीको पानीमाथि कविता सँगसँगै मन्तव्य मार्फत आफ्नो धारणा प्रस्तुत गरे । 

गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति भीमप्रसाद शर्माले स्थानीय कला, साहित्य, संगीत र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नु संस्थाको मूल लक्ष्य रहेको स्पष्ट पारे ।

‘हामीले यिनै विषयलाई केन्द्रमा राखेर स्थानीयदेखि राष्ट्रिय तहसम्म कार्यक्रम गर्दै आएका छौँ,’ उनले भने, ‘संस्कृति जोगाउनु नै पहिचान जोगाउनु हो ।’

उद्घाटन सत्रमा नगरप्रमुख मदनभक्त अधिकारीले पनि यस अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । ‘प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा हामीले धेरै काम गरिसकेका छौँ,’ उनले भने, ‘बहुभाषिक र बहुसांस्कृतिक समाज रहेको हाम्रो नगरमा संरक्षण र प्रवर्द्धनका काम अझ सशक्त रूपमा अघि बढाइनेछ ।’

नारायणी नदीमा गरिएको कार्यक्रमलाई नयाँ अभ्यासका रूपमा व्याख्या गर्दै यसले उच्च तहसम्म ध्यानाकर्षण गराउने उपप्रमुख शान्ति कोइरालाले विश्वास व्यक्त गरिन् । ‘गैँडाकोटले नौलो सुरुवात गरेको छ, यसले संरक्षणको मुद्दालाई माथिल्लो सरकारसम्म पुर्‍याउनेछ,’ उनले भने । 

साहित्य र पर्यटनलाई जोड्ने यो प्रयासले नवलपुर (नवलपरासी पूर्व) को पहिचानलाई थप उचाइ दिने प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले धारणा राखे । ‘जलविहारसँग जोडिएको यस्तो साहित्यिक कार्यक्रमले पर्यटन प्रवर्द्धनमा ठोस योगदान पुर्‍याउँछ,’ उनले बताए ।

इतिहासतर्फ संकेत गर्दै नगर प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सदस्य लेखराम सापकोटाले करिब ६० वर्षअघि पनि यस्तै काव्य उत्सव भएको आफूले जानकारी पाएकोउ बताए । ‘२०२२ मा देवघाटमा दुई डुङ्गामा काव्यवाचन कार्यक्रम भएको सुनिएको थियो,’ उनले भने, ‘त्यसयता यस्तो प्रयास नभएकाले यो कार्यक्रम विशेष बनेको छ ।’ 

त्यतिबेला राजा महेन्द्र देवघाटधाम अवलोकनका लागि आएका बेला देवघाटको वेणीमा काव्य वाचन गरिएको र उक्त कार्यक्रमलाई आफूले नजिकैबाट नियालेको कार्यक्रमका प्रमुख अतिथि चूडामणि बन्धुले जनाए ।

‘कवितावाचनका लागि नाम टिपाएकाहरूले डुङ्गामा बसेर कविता सुनाए । मसँग कविता थिएन । म किनार मै बसेर त्यो माहोल हेरेँ,’ बन्धुले इतिहास स्मरण गरे ।

आइतबार र सोमबारको काव्य उत्सवमा सहभागी स्रष्टाहरूले पनि आफ्ना रचनामार्फत पर्यटन र वर्तमान समाजलाई जोड्ने प्रयास गरे ।

बेलायतमा बस्दै आएका विश्लेषक नारायण गाउँलेले गजलमार्फत देशको वर्तमान अवस्थालाई प्रस्तुत गरे भने पोखराका शिव त्रिपाठीले प्राकृतिक सम्पदा र पर्यटकीय सौन्दर्यलाई छन्दमा उतारे ।

गजलकार एवम् विश्लेषक गाउँलेले पवित्र नारायणीको पानीजहाजमा बसेर कविता सुन्ने र सुनाउने अनुभव अत्यन्तै अनौठो र गर्विलो रहेको सुनाए । ‘नारायणी नदीमाथि जलविहार गर्दै साहित्यिक कार्यक्रममा सहभागी हुन पाउँदा जीवनकै विशेष र सम्झनलायक अवसरका रूपमा अनुभव गरेको छु,’ गाउँलेले भने ।

१०० भन्दा बढी सर्जकको सहभागिता रहेको यस उत्सवमा रचना वाचनसँगै कार्यपत्र प्रस्तुति र काव्य विमर्श पनि समेटिएको थियो । नारायणी नदीमाथि तैरिइरहेको पानीजहाजको आकर्षक मञ्चमा उभिएर लेखक भूपिन खड्काले ‘नेपाली पर्यटन काव्य, सम्भावना र चुनौती‘ विषयमा अवधारणापत्र प्रस्तुत गरे । 

भूपिनको अवधारणापत्रको मूल आशय पर्यटन र काव्यबीचको गहिरो सम्बन्ध स्थापित गर्दै ‘पर्यटन काव्य’लाई सम्भावनायुक्त नयाँ साहित्यिक विधाका रूपमा प्रस्तुत गर्नु रहेको छ । भूपिनले मानव सभ्यताको विकास नै यात्रा र गतिशीलतासँग जोडिएको देखाउँदै पर्यटनलाई जीवनको स्वाभाविक र आवश्यक गतिविधि मानेका छन् ।

उनले अवधारणापत्रमार्फत नेपालमा पर्यटन काव्यसम्बन्धी अध्ययन, विमर्श र कार्यक्रमहरू अझै न्यून रहेको उल्लेख गर्दै यस क्षेत्रमा थप पहल आवश्यक रहेको औंल्याए । समग्रमा, पर्यटन काव्यले साहित्य र पर्यटन दुवैलाई समृद्ध बनाउने पुलको काम गर्न सक्छ भन्ने निष्कर्ष उनले सुनाए ।

उनको  अवधारणापत्रमाथि विवेचना गर्दै नियात्राकार प्रतीक ढकालले नेपालको पर्यटन उद्योगको चर्चा अन्तर्राष्ट्रियस्तरमा सम्मानपूर्वक हुने गरेको जनाए । हाम्रो हावापानी र भूबनोटसँग हामीले गर्व गर्नुपर्ने ढकालको तर्क छ।

गैंडाकोटमा बिल्कुल नवीन अनुभवको कार्यक्रममा सहभागी भएको वीरेन्द्र बहुमुखी क्याम्पसका सहप्राध्यापक रमेशकुमार श्रेष्ठले टिप्पणी गरे । ‘गैँडाकोटले गरेको काव्य उत्सवलाई केवल साहित्यिक जमघट नभई पर्यटन र संस्कृतिको प्रवर्द्धन गर्ने सशक्त मञ्चका रूपमा स्थापित गरेको छ,’ श्रेष्ठले भने ।

काव्यवाचन कार्यक्रममा विदुर अधिकारी, गोविन्द अर्याल, नीमा पौडेल तिवारी, होमनाथ घिमिरे, राधा कोइराला, भानुभक्त सापकोटा, लीला राना मास्की मगर, वसुन्धरा पौडेल, अञ्जान प्रदीप, मेनका चापागाईं काप्री, सरस्वती तिमिल्सिना, मुक्तिनाथ घिमिरे, एकदेव रिमाल, विष्णु तिवारी उषा, पोषराज पौडेल, ईश्वर कँडेल, भूपिन, विद्या भण्डारी चिराग, रामकृष्ण अनायास, धर्मानन्द शर्मा, प्रकाश चापागाईं, उदयनाथ रेग्मी, सञ्जीव पौडेल, डाक्टर उपेन्द्र सापकोटा, हरिप्रिया रिजाल, माधवप्रसाद चालिसे, कृष्णशरण उपाध्याय, शारदा सापकोटा, डाक्टर नारायणप्रसाद अधिकारी, जमुना लम्साल, इन्द्रराज पौडेल, सिर्जन लम्साल, राधा पाण्डे, प्रकाश थापा, बालकृष्ण थपलिया, गोविन्दगोपाल खतिवडा शोभा खनाल कोइराला, नारायण पौडेल, भूमिका गैरे तिमिल्सिना, विष्णुमाया पन्थी, गोविन्द रिमाल, एलबी क्षेत्री, लेखराम सापकोटा,  उपेन्द्र त्रिपाठी, विश्वराज लम्साल, रणेन्द्र बराली, सबिता तिवारी, कृष्ण उदासी, घनश्याम परिश्रमीलगायतका स्रष्टाले कविता, गजल, गीतमार्फत आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदीले फरक किसिमको काव्य उत्सवमा उत्साहजनक सहभागिता देखेर खुसी लागेको बताए ।  

कान्तिपुर

Link copied successfully