पुरस्कार यही चैत २८ गते शनिबार काठमाडौंमा एक कार्यक्रमबीच वितरण गरिने जनाइएको छ ।
काठमाडौँ — जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानले वार्षिक रूपमा प्रदान गर्दै आएको साहित्यिक पुरस्कार तथा सम्मान घोषणा गरेको छ ।
यस वर्षको जित-रेख मगर साहित्य पुरस्कार–२०८१ दुधौली-१४ आहालटार सिन्धुली निवासी उजिर राना मगरलाई दिने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफामगरले जानकारी दिए । अध्यक्ष लाफा मगरले बुधबार जारी विज्ञप्तिअनुसार, माम्ह्याक्नी (नबिर्स-२०५८) ए…डाजे डईको (ए..दाइ दिदीहरु-२०६४) मगर भाषा कवितासंग्रह र मोईझाओ रोहआङ (मातृभूमिको मायामा-२०६५) कृतिका लागि राना मगरलाई पुरस्कार दिन लागिएको हो । उक्त पुरस्कारको राशि ६० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
त्यसैगरी जयबहादुर हितान मगर स्मृति पुरस्कार–२०८१ समाजसेवी खगेन्द्र घर्ती मगरलाई दिइने भएको छ । उक्त पुरस्कार राशि ४० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । उनी नेपाल मगर संघका संस्थापक सदस्य हुन् ।
१५ हजार राशिको जित-रेख मगर नवप्रतिभा साहित्य पुरस्कार-२०८१ अठार मगर खाम भाषा एकांकी नाटकसंग्रह नाङ्खार-याल (गाउँतिर-२०७४) र अल्लाका सुल (हिजोको पाइला-२०८०) नाटकसंग्रहका स्रष्टा थवाङ-२ मिरुल रोल्पा निवासी राकेश बिएम 'चिन्तन'लाई प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।
पुरस्कार यही चैत २८ गते शनिबार काठमाडौंमा एक कार्यक्रमबीच वितरण गरिने जनाइएको छ । सोही अवसरमा निवर्तमान उपसभामुख इन्दिरा राना मगर र कुलपति भूपाल राईलाई सम्मान गरिने अध्यक्ष लाफा मगरले बताए ।
