हरेक पालिकामा ‘सांस्कृतिक ग्राम’ खोल्न माग

१३ बुँदे भरतपुर घोषणापत्र जारी गर्दै पालिका प्रज्ञा प्रतिष्ठानको भेला सम्पन्न ।

चैत्र १०, २०८२

रमेशकुमार पौडेल

Demand to open 'cultural villages' in every municipality

What you should know

चितवन — संघीयका साथै देशका विभिन्न पालिकाहरूमा गठित प्रज्ञा प्रतिष्ठानका प्रमुख तथा प्रतिनिधिहरूको भरतपुरमा सम्पन्न दुई दिने भेला १३ बुँदे घोषणापत्र जारी गर्दै मंगलबार सम्पन्न भएको छ ।

स्थानीय तहका प्रज्ञा प्रतिष्ठानहरूबीच एकरूपता कायम गर्न नामका पछाडि प्रज्ञा प्रतिष्ठान जोड्ने र अध्यक्षात्मक प्रणाली रहने साङ्गठनिक संरचना बनाउने घोषणापत्रको पहिलो बुँदामा उल्लेख छ ।

पालिकामा गठन भएका प्रज्ञा प्रतिष्ठानहरूले पनि कुलपति, उपकुलपतिजस्ता पदहरू राख्दै आएका छन् । यस्तो नराखे राम्रो हुने सुझावका आधार भेलाले यस्तो घोषणा गरेको भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव बालकृष्ण थपलियाले बताए । भेलाको आयोजना भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले गरेको थियो । भेलामा विभिन्न पालिकामा गठन भएका १४ प्रज्ञा प्रतिष्ठानबाट सहभागी आएका थिए । 

सबै स्थानीय तहमा प्रज्ञा प्रतिष्ठान खोल्ने, भाषा, साहित्य, ललितकला, सङ्गीत, नाट्यकला, लोकवार्ता, ज्ञानविज्ञान समेट्ने गरी विभागहरू गठन गर्ने, सङ्घीय तहमा रहेका तीनवटै प्रज्ञा प्रतिष्ठानहरूले आफ्नो कार्यक्षेत्रभित्रका देशभर रहेका प्रज्ञा प्रतिष्ठान र ललितकला, सङ्गीत, नाटक आदि विधासँग सम्बन्धित संस्थाहरूको विवरण संकलन गरी प्रज्ञा सूचना प्रणाली व्यवस्थापन गर्ने घोषणापत्रमा उल्लेख छ ।

कलालाई शिक्षासँग र शिक्षालाई उत्पादनसँग जोड्ने व्यवस्था मिलाउने, सर्जकलाई प्रोत्साहनका लागि दिइने सम्मान, पुरस्कार र प्राज्ञिक कार्यसँग सम्बन्धित वृत्तिमा लगाइने कर हटाउने, स्रष्टा–परिचयपत्र लागू गरी त्यसका आधारमा मर्यादाक्रम र सामाजिक सुरक्षाको व्यवस्था गर्न भेलाले माग गरेको छ । हरेक पालिकामा कम्तीमा एउटा सांस्कृतिक ग्राम खोल्ने नीति बनाउन अपिल गरिएको छ ।

देशको विविधता, मौलिकता र सौन्दर्यलाई आत्मसात् गरी सबै भाषा, संस्कृति, ललितकला, सङ्गीत, दर्शन, रैथाने ज्ञान, सीप आदि मूर्त र अमूर्त (भौतिक र अभौतिक) सम्पदाको सैद्धान्तिकीकरण, संरक्षण र सम्बर्द्धन गर्ने कुरा तीनै तह सरकारका योजनमा समावेश गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ । प्रज्ञा प्रतिष्ठानका गतिविधिहरूलाई आधुनिक र प्रविधिमैत्री बनाउन पहल गर्ने भनिएको छ । 

साहित्य, कला र संस्कृतिको अनुसन्धानमा एकरूपता ल्याउनका लागि तीनवटै सङ्घीय प्रज्ञा प्रतिष्ठानहरूले आ–आफ्नो अनुसन्धान विधिको ढाँचा तयार गर्न, सिर्जनशीलताको पुस्तान्तरणका लागि युवा र बालबालिकालाई यसमा लाग्न उत्प्रेरित गर्नेर् र लेखन, गायन, नृत्य, अभिनय, सामाजिक सद्भाव र नैतिक आचारंणमा देखिएका विकृतिलाई नियमन गर्ने प्रणालीको विकास गर्न भेलाले माग गरेको छ । 

भाषा, साहित्य, ललितकला, नाट्य, सङ्गीत आदि क्षेत्रमा विद्यमान मौलिक र रैथाने ज्ञान परम्परालाई सम्बन्धित संस्थाहरूले विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा राख्न भेलाले माग गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानलगायत १७ वटा संस्था भेलामा सामेल भएका थिए ।

भेलामा प्रतिष्ठानहरूको वर्तमान अवस्था, भावी मार्गचित्रजस्ता सवाल विस्तृत रूपमा छलफल गरेको आयोजक भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष इन्द्रप्रसाद रेग्मीले बताए । भाषा, मौलिक कला, साहित्य, ललितकला, सङ्गीत, नाटक, ज्ञानविज्ञान, लोकवार्ता, संस्कृतिको संरक्षण, अनुसन्धान र प्रवर्द्धनका लागि के गर्दा राम्रो हुनेछ भन्ने प्रश्नमा आधारित रहेर समूहमा विमर्श भएको उनले जानकारी दिए । 

‘सङ्घीय, प्रादेशिक र स्थानीय तहमा क्रियाशील प्राज्ञिक संस्थाहरूबीच समन्वय, नेपाली मौलिकताको जगेर्ना, पर्यटनमैत्री, प्रविधिमैत्री साहित्य र प्राज्ञिक लेखनमा निश्चित ढाँचाका आधारमा एकरूपता ल्याउने मुख्य लक्ष्य राखेर १३ बुँदे घोषणापत्र जारी गरेका हौं,’ अध्यक्ष रेग्मीले भने । भेलाको अवसरमा मंगलबार आयोजित काव्यिक अनुष्ठानमा विभिन्न कविले कविता, गजल र मुक्तक सुनाएका थिए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully