‘पहिलो आमनिर्वाचन २०१५’ लिएर आए पत्रकार विराट अनुपम

पत्रकार विराट अनुपमले लेखेको पुस्तक 'पहिलो आमनिर्वाचन २०१५' मंगलबार काठमाडौंमा सार्वजनिक गरिएको हो ।

फाल्गुन १९, २०८२

कान्तिपुर संवाददाता

Journalist Virat Anupam brings 'First General Election 2015'

काठमाडौँ — पत्रकार विराट अनुपमले लेखेको पुस्तक 'पहिलो आमनिर्वाचन २०१५' सार्वजनिक भएको छ । उक्त पुस्तक मंगलबार काठमाडौंमा सार्वजनिक भएको हो ।

पुस्तकमा नेपालको इतिहासमा भएको पहिलो संसदीय निर्वाचनसम्बन्धी विस्तृत विवरण समेटिएको छ । फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन हुन गइरहेका बेला पत्रकार विराट अनुपमले भने नेपालको पहिलो संसदीय निर्वाचनका विवरण समेटिएको पुस्तक ल्याएका हुन् ।

आगामी निर्वाचनमा युवा पुस्ताले सक्रिय भएर सहभागिता जनाइरहेको बेला नेपालको इतिहासमा भएको पहिलो संसदीय निर्वाचनको पुस्तक ल्याएको उनले बताए । 'नेपालको राजनीतिसँग मतलब छैन भन्ने नयाँ पुस्ता यतिबेला राजनीतिक बहस र छलफल गरिरहेको छ । यो पुस्तकले युवा पुस्तालाई मुलुक कसरी लोकतन्त्रमा प्रवेश गरेको थियो भन्ने ज्ञान दिने विश्वास छ । पहिलो पटक मतदान गर्न लागिरहेको युवा पुस्तालाई देशमा भएको पहिलो चुनाव कस्तो थियो भनेर पनि यो पुस्तकले जानकारी दिनेछ,' लेखक विराट अनुपमले भने ।

प्राध्यापक तथा लेखक जगत नेपालले विराट अनुपमको पहिलो संसदीय निर्वाचनबारेको पुस्तक नेपालको पहिलो आमनिर्वाचनको अभिलेखीकरण भएको बताए । नेपालको इतिहास र लोकतान्त्रिक पद्धतिमा रुचि राख्नेहरूका लागि उक्त पुस्तक सहयोगी हुने नेपालको भनाइ थियो । 

विराट अनुपमको पुस्तकमा २०१५ सालको निर्वाचनमा भाग लिएका राजनीतिक दल, उम्मेदवार, ती दलका घोषणापत्र, निर्वाचन क्षेत्र, निर्वाचन परिणाम, चुनाव चिह्नलगायतका विवरण समेटिएको उनले बताए ।

विराट अनुपमले लेखेको यो पुस्तक बुक हिल प्रकाशनले प्रकाशित गरेको हो । 

कान्तिपुर

Link copied successfully