कार्यक्रममा अमृत गुरुङले पुस्तकले ब्यान्डका यथार्थ कथाहरू साहसपूर्वक प्रस्तुत गरेको बताए
सिलिगुडी — लोकप्रिय नेपाली फोक–रक ब्यान्ड नेपथ्यको जीवनी ‘नेपथ्य: लोकप्रिय यात्राको अन्तरङ्ग’ को भारतीय संस्करण शुक्रबार सिलिगुडीमा लोकार्पण भएको छ ।
सिलिगुडीस्थित स्यालमेन्डर इम्प्रिन्ट्सले सार्वजनिक गरेको उक्त पुस्तक गायक अमृत गुरुङ, लेखक गिरीश गिरीसहित किरण कृष्ण श्रेष्ठ, आभास, ज्ञानेन्द्र खतिवडा, बद्री खरेल र दुर्गा खरेलले संयुक्त रूपमा लोकार्पण गरेका हुन्।
गिरीश गिरीद्वारा लिखित उक्त कृतिमा सन् १९८० को दशकदेखि अन्तर्राष्ट्रिय मञ्चसम्म फैलिएको नेपथ्यको सांगीतिक यात्रा, शान्ति र सद्भावका सन्देश तथा ‘पिस म्युजिक जर्नी’ अभियानलाई समेटिएको छ।
कार्यक्रममा अमृत गुरुङले पुस्तकले ब्यान्डका यथार्थ कथाहरू साहसपूर्वक प्रस्तुत गरेको बताए। आयोजक पक्षले पुस्तक अमेजन इन्डिया तथा ई–कमर्समार्फत उपलब्ध भइसकेको र चाँडै दार्जीलिङ र सिक्किमका पुस्तक पसलमा पनि पुग्ने जानकारी दिएको छ ।
