जंगल चिनाउने 'जलथलका रूखहरू'

डाइनोसरको युगभन्दा अघिदेखि नै अस्तित्वमा रहेको प्रजातिहरूको उपस्थिति हेर्दा जलथल वन रूखहरूको समूह मात्र होइन प्रकृतिको जीवित संग्रहालय हो । 

फाल्गुन १३, २०८२

गोविन्द पोखरेल

'Wetland trees' that define the forest

What you should know

‘नेपालको धन, हरियो वन’ भित्र कुन प्रजातिका कस्ता रूखहरू छन् भन्नेबारे हामी अझै स्पष्ट छैनौँ ।  नेपालमा वन क्षेत्रको चर्चा व्यापक हुने गरे पनि वनमा पाइने रूखका प्रजातिहरूको विस्तृत अभिलेखीकरण गरी पुस्तक प्रकाशन गर्ने कार्य विरलै हुने गर्छ ।

नेपालको कुल वन क्षेत्रको जम्मा ०.१ प्रतिशत हिस्सा ओगटेको जलथलमा १४ नयाँ प्रजातिका रूख भेटिनुले हाम्रा अन्य वनहरूमा लुकेको जैविक विविधताको सम्भावनालाई पनि संकेत गर्छ । 

प्राय: संरक्षित क्षेत्र र त्यहाँ पाइने वन्यजन्तुको मात्र अभिलेखीकरण हुने गरेको पाइन्छ । तर रूखका सवालमा भने खासै काम हुने सकेको छैन । सिमसार क्षेत्रमा चराहरूको गणना र प्रजातिको अभिलेख गरिन्छ । संरक्षित क्षेत्रमा यति प्रजातिका वनस्पति पाइन्छन् भन्ने तथ्यांक सुनिन्छ तर संरक्षित क्षेत्रभन्दा बाहिरको वनमा पाइने रूखहरूको अभिलेख ओझेलमा छ । 

संरक्षित क्षेत्रभन्दा बाहिरका वनमा कति प्रकारका रूखहरू छन् ? तीनको अवस्था कस्तो छ ? अभिलेख गरिएका रूखहरूको विशेषता के हो ? नेपालको सन्दर्भमा यी प्रश्‍नको पूर्ण उत्तर हामीसँग छैनन् । स्पष्ट रूपमा भन्नुपर्दा नेपालका वनहरूमा पाइने रूखहरूको अभिलेखीकरणको काम व्यवस्थित हुन सकेको छैन । 

यही परिप्रेक्ष्यमा नेपालको दक्षिण पूर्वी सिमानामा रहेको ‘जलथल वन’मा पाइने रूखहरूको वैज्ञानिक अभिलेखीकरण सम्पन्‍न भएको छ । झापाको भद्रपुर नगरपालिकासहित कचनकवल, हल्दीबारी र बाह्रदशी गाउँपालिकामा ६ हजार १ सय हेक्टरमा फैलिएको यो वन खण्डलाई समेटेर 'जलथलका रूखहरू' नामक पुस्तक प्रकाशन भएको छ । वैज्ञानिक र आम नागरिक दुवैका लागि उपयोगी यो पुस्तक तराई तथा चुरे क्षेत्रमा पाइने रूखहरूको भविष्यमा गरिने अभिलेख कार्यका लागि एउटा महत्त्वपूर्ण सन्दर्भ सामग्री हुने निश्चित छ । 

'Wetland trees' that define the forestवैज्ञानिक विधि अपनाएर तयार पारिएको यस पुस्तकका लेखकहरू वनस्पतिविद् भास्कर अधिकारी, लिलानाथ शर्मा, योगेन्द्रबहादुर पौडेल र मार्क एफ. वाटसन हुन् । जलथल जंगलमा ५३ वटा वनस्पति परिवारका १ सय ६८ प्रजातिका रूख अभिलेख गरिएको छ । तीमध्ये १४ प्रजाति त नेपालकै लागि नयाँ हुन् । नेपालको कुल वन क्षेत्रको करिब ०.१ प्रतिशत मात्र हिस्सा ओगटेको जलथल वनमा यति धेरै विविधता भेटिनु आफैंमा उत्साहजनक पक्ष हो । यो भनेको हाम्रा अन्य वनहरूमा लेकेको जैविक विविधतालाई पनि संकेत गर्छ ।  

वन फडानीका कारण विगतमा धेरै रूखहरू लोप भए पनि जलथल वनचाहिँ अझै धेरै प्रजातिका लागि आश्रयस्थल बनेको छ । लटहर, लाली, आमपाते, चारदाने जस्ता प्रजातिहरू दक्षिण पूर्वी एसियामा पाइन्छन् । यिनको पश्चिमपट्टिको अन्तिम उपस्थिति झापाको जलथल वन नै हो । अर्थात् यी प्रजातिहरूको फैलावटको उत्तर-पश्चिम बिन्दु यही वन क्षेत्र हो । 

जलथल वनको जैविक विविधतामा यति धनी छ कि तराई र चुरेका खोल्साखोल्सीमा पाइेने ‘गान्टे रूख’ यहाँ सहजै भेटिन्छ । चिस्यानयुक्त ठाउँमा छिटो हुर्कने गान्टेको भाले र पोथी फूल अलग अलग हुन्छन् ।  नास्पाती जस्तो देखिने यसको फलको गुदी मलसाँप्रोले मन पराउँछ । यद्यपि पुस्तकमा यसको पुनरुत्पादन अवस्था सन्तोषजनक नभएको उल्लेख गरिएको छ । 

'Wetland trees' that define the forestवैज्ञानिक सामग्रीलाई समुदायले बुझ्ने गरी सरल भाषामा प्रस्तुत गरिएकाले यस पुस्तकप्रति स्थानीयको अपनत्व रहने देखिन्छ । जलथलमा प्रजाति र पारिस्थितिक प्रणाली दुवै तहको विविधता उच्च छ । यहाँको वन तराईको सालको वन वा उष्ण प्रदेशीय सालको वन जस्तो देखिए पनि कतिपय ठाउँमा यसको आफ्नै विशिष्टता छ । कतै साल प्रजातिको वर्चस्व छ भने चिसो, गहिरो खोल्साखोल्सीहरूमा लटरको वन भेटिन्छ । खोला किनारमा सिमल,  पिठारी, खयरका रूख झाँगिएका छन् । 

जलथल एक उष्ण प्रदेशीय सदावहार वन पनि हो । यहाँ रानीबेल, वनसुपारी, वन सन्तुला जस्ता रूखहरूको वनखण्डलाई चर्चा गर्दै लेखकहरूले यसलाई तराईको विविधतायु्क्त वनका रूपमा चिनाएका छन् । यहाँ साल, बोटधएँरो,  बर्रो,  साज,  लटहर,  जामुन र करम जस्ता ठूला रूखहरू पहिलो तहमा छन् । दोस्रो तहमा सिन्दुरे, कुम्भी, कालीकठ, टाँटरी जस्ता प्रजाति छन् ।  बुट्यानको तहमा गलेनी मुख्य प्रजातिका रूपमा रहेको छ । 

यो वनखण्डमा ८५ प्रजातिका च्याउ, १५ प्रजातिका झ्याउ, ४३ प्रजातिका उन्यु र  ५ सय ६० भन्दा बढी फूल फुल्ने वनस्पतिहरू पाइएका छन् । साथै १ सय ५७ प्रजातिका पुतली, २ सय ३८ प्रजातिका चरा, २८ प्रजातिका स्तनधारी, ४२ प्रजातिका माछा, १४ प्रजातिका उभयचर र ३४ प्रजातिका घस्रने जीवहरूको अभिलेखले यसको महत्व अझ बढाएको छ । जलथलममा ३ प्रकारका संकटापन्‍न र ४ प्रकारका खतराको सूचीमा रहेका वनस्पतिसमेत अभिलेख गरिएको छ । 

'Wetland trees' that define the forestअंग्रेजी र नेपाली दुवै भाषा दुवै भाषामा उपलब्ध यो पुस्तक ‘फरेस्ट एक्सन नेपाल’ले प्रकाशन गरेको हो । यसमा रूखको बोक्रा, भौगोलिक फैलावट,  अवस्था, उपयोग तथा फूल फुल्ने र फल लाग्‍ने समयको जानकारी पनि दिइएको छ । लेखकहरूले स्थानीयले बुझून् भनेर रूखहरूको स्थानीय नाम पनि समावेश गरेका छन् । यद्यपि  केही प्रजातिको स्थानीय नाम भने छुट्न गएको छ । जस्तो कि पृष्ठ ५५ मा उल्लेखित पतझर Miliusa dioeca को नेपाली नाम दिइएको छैन । सायद थाहा नभएर वा प्राविधिक कारणले लेखकहरूले यसलाई उल्लेख नगरेका हुन सक्छन् । पहिचान नभएका ४ वटा प्रजातिमध्ये लेखकहरूले २ वटा प्रजातिको भने स्थानीय नाम उल्लेख गरेका छन् । 

पुस्तकमा रूख पहिचानका लागि फल, फूल, पात र बोक्राको स्पष्ट तस्बिरहरू समावेश गरिएका छन् । यसले पाठकहरूलाई प्रजाति ठम्याउन सहज हुन्छ । लेखहरूले रूखको  बोक्राको फोटो, रंग र बनावटको चर्चा गरे पनि फूलको रंगबारे विस्तृत वर्णन गरेका छैनन् । पुस्तकको पहिलो भागमा फूलको रंग देखिने फोटो राखिसकेपछि 'फूल सेतो हुन्छ' भनेर नलेखिएको भनेर लेखकहरूले पुस्तकको पहिलो भागमा उल्लेख गरेपनि बोक्रा रंग भने किन लेखियो भन्नेबारे केही खुलाइएको छैन । परिमार्जित संस्करणमा यसबारे स्पष्ट पार्नु उपयुक्त हुन्छ । विशेष गरी दृष्टिविहीन पाठकहरूका लागि फूलको रंगबारे जानकारी भएमा उनीहरूले  अरूलाई सुनाउन वन महसुस गर्न सक्छन् । 

पुस्तकमा रूखलाई 'काठयुक्त, स्पष्ट मूल काण्ड भएको र प्राकृतिक रूपमा दुई मिटर वा सोभन्दा बढी उचाइ हुने बहुवर्षीय प्रजाति' का रूपमा परिभाषित गरिएको छ । यद्यपि पुस्तकमा रूखको उचाइ उल्लेख गरिए पनि त्यसको व्यासबारे चर्चा भनेर गरिएको छैन । नेपाल सन्दर्भलाई जोडेर हेर्ने हो भने केही भिन्‍न किसिमले व्याख्या गरिएको छ । ‘वन नियमावली, २०७९’ (दोस्रो संशोधन २०८१) ले रूख भन्नाले ‘३० सेन्टिमिटर भन्दा बढी व्यास डीबीएच भएको खडा बोट’ भनेको छ । त्यस्तै, काठको परिभाषामा ‘दुई फिट वा सो भन्दा बढी लम्बाई र एक दशमलव पाँच फिट वा सो भन्दा बढी गोलाइ भएको चिरानको रूपमा जान सक्‍ने गोलिया काठ सम्झनु पर्छ र सो शब्दले खयर प्रजातिको हकमा जतिसुकै आकार वा नापको काठलाई समेत जनाउँछ’ भनेर लेखेको छ । 

यो प्रसंग वनस्पतिको उद्विकाससँग जोडिएको ‘फोसिल्स प्लान्ट’ अर्थात Cycas Pectinata (थाकल)सँग पनि जोडिन्छ । तराईका जंगलमा भने जलथल बाहेक अन्यत्र अभिलेख नभएको यो प्रजाति डाइनोसरको युगभन्दा अघिदेखि नै अस्तित्वमा छ । यसले जीवन संग्रहालयलाई पनि जनाउँछ । यसो भनिरहँदा यो प्रजातिलाई ‘विशुद्ध रूख’ मान्ने कि मान्‍ने कि ‘रूख जस्तो देखिने जिम्नोस्पर्म’ (Gymnosperm) भन्नेमा बहस हुन सक्छ । वैज्ञानिक रूपमा यो जिम्नोस्पर्म हो जसमा फूल र फलको सट्टामा कोन (Cone)  हुन्छ । पुस्तकमा यसको विवरण दिँदा अंग्रेजीमा ‘सदाबहार रूख’ भनिएपनि नेपाली अनुवादमा ‘सदावहार वनस्पति’ भनिएको छ । यसले लेखकहरूको केही द्विविधालाई संकेत गर्छ । 

पुस्तकमा जलथल क्षेत्रमा गरिएका वनस्पतिको खोज र हार्बेरियम संकलनको इतिहासलाई पनि जोड्न सकिने ठाउँ थियो । साथै, सन्दर्भ सामग्रीका रूपमा नेपाली भाषामा प्रकाशित लेखहरूलाई समावेश गरिएको भए नेपाली पाठकका लागि थप सहज हुन्थ्यो । यद्यपि, यो लेखकहरूको क्षेत्राधिकारको कुरा हो ।

'Wetland trees' that define the forestपुस्तकको अर्को सबल पक्ष भनेको यसमा प्रयोग गरिएका तस्बिरहरू हुन् । आवरणमै राखिउको ठेकीफल अर्थात ढेँडुझुला को फलको तस्बिर समभ्वत: नेपाली वनस्पति क्षेत्रकै लागि नयाँ हुनुपर्छ । त्यस्तै गान्टे, वन सन्तुला, ‌औटंगा अर्थात् पाँचफलका तस्बिरहरू निकै नै उत्कृष्ट छन् । यस्तै केही साना फूलहरू जस्तै पेज नम्बर ४९ मा रहेको गोगनपाते, पेज नम्बर १५७ नम्बरमा रहेको बाख्रे घाँसका तस्बिरहरू ‘माइक्रो लेन्स’बाट खिचिएको भए तीनको बनोट अझ प्रस्ट देखिने थियो ।  

'Wetland trees' that define the forestपुस्तकमा जलथल वन व्यवस्थापनका चुनौतीहरूलाई पनि केलाइएको छ । जसमा  मिचाहा प्रजातिको झारहरूको समस्या प्रमुख छ । विगतमा वन फडानीबाट बचेको यो वन हाल सामुदायिक वनमार्फत व्यवस्थापन भइरहेको छ । तर ५० वटा रुख प्रजातिको पुनरुत्पादन सन्तोषजनक नभएकाले केही  प्रजातिहरू लोप हुने खतरामा रहेको विषय किताबमा पाउन सकिन्छ । सादन, सानो थाकल, पाँचफल, सतिसाल र चाँप जस्ता प्रजातिहरू लोप हुने अवस्थमा पुगेकोतर्फ लेखकहरूले ध्यानाकर्षण गराएका छन् । केही प्रजाति त आधा दर्जनभन्दा पनि कम संख्यामा रहेकाले तीनको संरक्षणमा जोड दिइएको छ । 

रूखहरूप्रति युवा पुस्ताको चासो कम हुँदै गएको वर्तमान अवस्थामा यो पुस्तकले पक्कै नयाँ रूची जगाउने अपेक्षा गर्न सकिन्छ । रूख पहिचान गर्ने भरपर्दो सामग्रीको अभावलाई यसले पूर्ति पनि गरेको छ । यस किसिमको पुस्तकले नेपालमा नागरिक र वैज्ञानिकलाई जोड्ने सेतुका रूपमा काम गर्दै समुदायस्तरमा वनस्पति संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने निश्चित छ । 

गोविन्द पोखरेल पोखरेल विज्ञान, वन, वातावरण, प्रविधि लगायतका क्षेत्रमा कलम चलाउँछन् ।

Link copied successfully