कार्यक्रममा कवि राजा पुनियानीले स्यालम्याण्डर इम्प्रिन्ट्स हिमाली क्षेत्रका गहिरा ऐतिहासिक सन्दर्भ बोकेका स्थानीय कथामा केन्द्रित रहेको बताए।
सिलिगुडी — वरिष्ठ लेखिका तथा पत्रकार शारदा छेत्री द्वारा लिखित उपन्यास ‘अ लिगेसी अफ सरो : ए स्टोरी फ्रम दार्जीलिङ’ को लोकार्पण भएको छ।
पुस्तक बुक-एण्ट पब्लिकेशन हाउस को एकाई स्यालम्यान्डर इम्प्रिन्ट्सद्वारा प्रकाशित गरिएको हो।
उपन्यासले दार्जीलिङ पहाडका तीन महिलाको जीवनकथामार्फत् तीन दशक लामो पीडा, क्षतिबोध र सन् २०१७ को गोर्खाल्याण्ड आन्दोलनको पृष्ठभूमिलाई समेटेको छ। जुनदेखि सेप्टेम्बरसम्म चलेको आन्दोलनले प्रभावित पारेको सामाजिक–राजनीतिक परिवेशलाई लेखकले भावनात्मक र ऐतिहासिक गहिराइका साथ प्रस्तुत गरेकी छन्। कृतिले पहिचान, स्वत्व र पुस्तान्तरित स्मृतिको जटिल प्रश्नसँग जुध्दै गोर्खाल्यान्ड आख्यानलाई नयाँ दृष्टिकोणबाट पुनर्लेखन गरेको समीक्षकहरूको धारणा छ।
समारोहमा लेखिका अनुराधा शर्मा सँग सर्जक संवादमा उत्रिएकी थिइन्। पुरस्तक लोकार्पणपछि कृतिकार छेत्रीले भनिन्, 'यो पुस्तकले नेपाली जातीय पहिचान र भारतीय राष्ट्रिय पहिचानबीच समन्वय खोज्ने क्रममा भोग्नुपरेको मूल्याङ्कनको पीडालाई सम्बोधन गर्ने प्रयास गरिएको छ।'
उनले कृति महिला पात्रमा केन्द्रित भए पनि यसलाई नारीवादी आख्यानका रूपमा सीमित गर्न नहुने स्पष्ट पारिन्। उपन्यासले मानवीय क्षति, पहिचान र जुझारूपनलाई लैङ्गिक सीमाभन्दा पर पुगेर विश्लेषण गरेको उनले बताइन्। मनोवैज्ञानिक अनुसन्धानबाट प्रभावित कथनशैलीमार्फत् व्यक्तिगत तथा सामूहिक आघात पुस्तान्तरित हुन सक्ने अवधारणालाई पनि कृतिले समेटेको छ।
कार्यक्रममा कवि राजा पुनियानीले स्यालम्याण्डर इम्प्रिन्ट्स हिमाली क्षेत्रका गहिरा ऐतिहासिक सन्दर्भ बोकेका स्थानीय कथामा केन्द्रित रहेको बताए।
