उपन्यासलाई ढकालले विश्वासघातविरुद्ध आफ्नो स्वप्न–दुस्वप्न वक्तव्यको संज्ञा दिएका छन् ।
What you should know
काठमाडौँ — साहित्यकार नारायण ढकालको छैटौं उपन्यास ‘जगज्जननी उसकी आमाको नाम होइन’ सार्वजनिक भएको छ । पब्लिकेसन नेपालयको कालिकास्थानस्थित आरशालामा शनिबार पुस्तक लोकार्पण गरिएको हो ।
ढकालले नातिनी रीति ढकाल र नाति रिवाज ढकाललाई पुस्तक उपहार दिएसँगै पुस्तक सार्वजनिक गरिएको थियो ।
लोकार्पण कार्यक्रममा ढकालले आफ्नो पाँच दशक लामो साहित्य यात्रा-अनुभव सुनाए । किशोर उमेरमै जासुसी उपन्यास लेखेर प्रकाशकलाई बुझाएको तर नछापिएको कथा सुनाउँदै ढकालले आफ्नो पठनयात्राका प्रारम्भिक दिन स्मरण गरे, ‘त्यसपछि मैले संसारका प्रसिद्ध लेखक खोज्दै पागलझैं पढ्न र पढिरहन थालेँ । मेरो यस्तो लत अझै उस्तै छ ।’
बसमा, शौचालयमा, कलेजमा, घरमा लुकीलुकी पुस्तक पढ्ने बानीले बिस्तारै आफूभित्रको लेखक जाग्दै गएको ढकालले बताए । जीवनमा आफू विभिन्न विधा र आन्दोलनमा छरिएको स्मरण गर्दै उनले भने, ‘घरी झोछेँका गल्लीहरुमा शिवधुवाँको कुइरीमण्डलमा जीवनको सपना खोज्न थालियो, घरी प्रतिबन्धित कम्युनिस्ट पार्टीको कार्यकर्ता भइयो ।’
विद्यार्थी आन्दोलन, शिक्षक आन्दोलन, जेल यात्रा, पत्रकारिता, सांसद, हङ्ग्री जेनरेसन, यस्ता विविध घटना र मोडहरूको अस्थिर जीवन नै आफ्नो साहित्यिक खुराक बनेको ढकालले बताए ।
ढकाल साहित्यलाई कोरा भावुकताको रुपमा मात्र नहेरी राजनीति, इतिहास, अर्थशास्त्र, समाजप्रतिको प्रश्न र प्रतिबद्धताका रुपमा अर्थ्याउँछन् । ‘जगज्जननी उसकी आमाको नाम होइन’ उपन्यासलाई ढकालले विश्वासघातविरुद्ध आफ्नो स्वप्न–दुस्वप्न वक्तव्यको संज्ञा दिए ।
ढकालको पाण्डुलिपिले आफ्नो दिमाग खराब र मन सफा गरेकाले उपन्यास प्रकाशन गरेको नेपालयका सम्पादक विमल आचार्यले बताए । ‘आफूप्रति हदैसम्म निर्मम र आफ्नो लेखनप्रति हदैसम्म विश्वास भएका लेखक नारायण ढकालभित्र पटक–पटक परिष्कार गर्ने हुटहुटी र आलोचना सुन्ने लोकतान्त्रिक संस्कार प्रचुर पाएँ,’ उनले भने, ‘जगज्जननी उसकी आमाको नाम होइन नेपाली उपन्यासको इतिहासमा बिर्सन सकिने नाम होइन ।’
२०३० सालमा पहिलो कथा प्रकाशन भएको मितिले ढकालको साहित्यिक यात्रा ५२ वर्ष कटेको छ । ढकालका छ उपन्यास, सात कथासंग्रह, तीन निबन्धसंग्रह, दुई बाल-कथासंग्रह, एक कवितासंग्रह प्रकाशित छन् ।
‘नारायण वाग्लेदेखि सुरु भएको हाम्रो उपन्यास यात्रा नारायण ढकालसम्म आइपुगेको छ,’ नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठले भने, ‘प्रकाशन यात्राको यो २१ वर्षमा हामी २१ औँ शताब्दीका ७५ नयाँ लेखकका कथा, कविता र निबन्ध पनि चाँडै प्रकाशन गर्दैछौँ ।’
