कमलको यो तेस्रो पुस्तक हो, यसअघि उनका 'सडक' र 'खुडी' प्रकाशित छन् ।
काठमाडौँ — कमल संघर्षको गजलसंग्रह काठमाडौंमा विमोचन भएको छ । लेखक विवेक ओझा, शीतल कादम्बिनी, पूर्ण रावल र प्रकाशक पुष्पराज पौडेलले संयुक्त रुपमा पुस्तक विमोचन गरे । न्याधन रामन, लक्ष्मण संगम, मदन बुढाले संग्रहमा रहेका गजल वाचन गरे ।
रावलले कमलले गजलमा खस भाषालाई जोडेर देशलाई नै गुन लगाएको भनाइ राखे । कादम्बिनीले 'हियाका कुडा' पढेपछि आफूलाई डाह र ईख लागेको बताइन् । गजल जति पटक पढ्दा पनि त्यति धेरै पढ्न मन लाग्ने उनको भनाइ थियो ।
मदन पुरस्कार विजेता विवेक ओझाले कमल आफ्नो समकालीन रहेको र उनका गजलबाट सधैं प्रभावित रहेको बताए । 'हियाका कुडामा पश्चिम नेपालको इतिहासलाई गजलसित जोड्न सफल भएकामा थप खुसी लागेको छ,' उनले भने ।
लेखक कमलले आफ्नो तेस्रो पुस्तकमा पनि पहिलाजस्तै मेहनत गरेकाले पाठकहरुले मन पराउने विश्वास व्यक्त गरे । कमलका यसअघि 'सडक' र 'खुडी' प्रकाशित छन् । 'हियाका कुडा'लाई शिखा बुक्सले बजारमा ल्याएको हो ।
