नयाँ कृति ‘प्रेमको सुगन्ध’ लिएर आए लेखक निर्दोष जीवन

साहित्य लेखनसँगसँगै गायन र संगीतमा रुचि राख्ने निर्दोष जीवन तीनवटै विधामा सक्रिय छन् । गीत र मुक्तकबाट साहित्य लेखन सुरु गरेका निर्दोष जीवनका ‘आशीर्वाद’, ‘नयाँ जीवन’, ‘प्रार्थना’, ‘मैयाँ’, ‘कोर्राको चोट’, ‘फस्ट लभ’, ‘प्रिय साथी’, ‘मेरो गीत’ र ‘नोस्टाल्जिया’ कृति प्रकाशित छन् ।

फाल्गुन ३, २०८२

कान्तिपुर संवाददाता

Author Innocent Life comes out with new work 'Scent of Love'

What you should know

काठमाडौँ — गजल मञ्च चितवनले प्रकाशन गरेको कृति ‘प्रेमको सुगन्ध’ गैंडाकोटमा विमोचन गरिएको छ ।

काव्य काफिया र वि फाइभको संयुक्त आयोजनामा द नारायणी रिसोर्टमा भएको कार्यक्रममा साहित्यकार उषा शेरचन, काव्य काफियाका संयोजक रामकृष्ण अनायास, गैंडाकोट नगरपालिका–१ का वडाध्यक्ष सुरेन्द्रप्रसाद रेग्मी र अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले कृति लोकार्पण गरे ।  

प्रेमले सबैलाई एकताको सूत्रमा बाँड्ने सुरेन्द्रप्रसाद रेग्मीले बताए । ‘प्रेमले मानिसलाई एकताको सूत्रमा जोड्छ । प्रेम दिवसको अवसरमा आएको यो कृतिले सबैलाई प्रेममा समाहित हुन प्रेरित गर्छ,’ रेग्मीले भने ।  

साहित्य संसारमा मुक्तक विधाको विशिष्ट योगदान रहेको साहित्यकार उषा शेरचनको भनाइ छ । ‘निर्दोष जीवन साहित्य सिर्जनामा सक्रिय भएर लाग्नुभएको छ । उहाँका मुक्तकहरू साँच्चिकै सुन्दर छन्,’ उनले भनिन् ।  

निर्दोष जीवनका मुक्तकह सरल र लयबद्ध भएको अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले बताए । ‘प्रेमको सुगन्धमा मुक्तकहरूको विविधता छ,’ सापकोटाले भने, ‘सङ्ग्रहमा प्रेमिल मुक्तक यथेष्ट छन् । सामाजिक विषयवस्तुका मुक्तक पनि छन् । राष्ट्र र राष्ट्रियतालाई सम्बोधन गरिएका मुक्तक पनि छन् । नारी जातिका दु:ख, पीडा समेटिएका मुक्तक पनि छन्, संरचनाका हिसाबले सबै मुक्तक राम्रा छन् ।’

मुक्तककार निर्दोष जीवन बहुमुखी प्रतिभा भएको बताउँदै सापकोटाले साहित्यिक सक्रियताको चर्चासमेत गरे ।  

मुक्तककार निर्दोष जीवनले प्रेमकै प्रसङ्गमा प्रसिद्ध लेखक पावललाई सम्झिए । लेखक पावलले आफ्नो पुस्तकमा प्रेमको विषयमा खुलेर लेखेको निर्दोषले बताए। यी हरफहरुलाई हृदयदेखि मनन गर्न अनि जीवनमा लागू गर्न सकियो भने साँच्चै जीवनमा प्रेमको सुगन्ध रहिरहने निर्दोषको भनाइ छ । 

‘कहिल्यै पनि प्रेमको मिठासको अन्त हुनेछैन । प्रेम सधैं अमर रहिरहने छ,’ पावलको प्रेम परिभाषालाई उद्धृत गर्दै निर्दोषले भने, ‘प्रेम सहनशील हुन्छ र दयालु हुन्छ । प्रेमले डाह गर्दैन, न सेखी गर्छ । प्रेम हठी हुँदैन, न ढीट हुन्छ । प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन । प्रेम खराबीमा प्रसन्न हुँदैन, तर ठीक कुरामा रमाउँछ । प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ । प्रेमको कहिल्यै अन्त्य हुँदैन । अगमवाणीहरू बितेर जानेछन्, भाषाहरू बन्द हुनेछन्, ज्ञान टलिजानेछ । तर प्रेम सधैं रहिरहने छ ।’

साहित्य लेखनसँगसँगै गायन र संगीतमा रुचि राख्ने निर्दोष जीवन तीनवटै विधामा सक्रिय छन् । गीत र मुक्तकबाट साहित्य लेखन सुरु गरेका निर्दोष जीवनका ‘आशीर्वाद’, ‘नयाँ जीवन’, ‘प्रार्थना’, ‘मैयाँ’, ‘कोर्राको चोट’, ‘फस्ट लभ’, ‘प्रिय साथी’, ‘मेरो गीत’ र ‘नोस्टाल्जिया’ कृति प्रकाशित छन् । 

कान्तिपुर

Link copied successfully