‘अब प्रज्ञा प्रतिष्ठान खोज्न काठमाडौं जानु पर्दैन, सर्जक खोज्न प्रतिष्ठान आफैं दुरदराज पुग्ने छ,’ नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले भने, ‘गाउँ–गाउँ पुगेपछि मात्रै वास्तविक स्रष्टा यहीँ रहेको पत्ता लाग्छ ।’
What you should know
धनकुटा — नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई प्रतिभाको खोजीमा गाउँबस्ती चाहर्न थालेका छन् । यसै क्रममा बिहीबार र शुक्रबार साहित्यिक एवं सांस्कृतिक अध्ययनका लागि तेह्रथुमको छथर गाउँपालिकास्थित चाङलुङ गुफामा बिताए । त्यसअघि सोलुखुम्बुको महाकुलुङ पुगेका थिए ।
यात्राका क्रममा ताप्लेजुङको मुकुम्लुङ र फुङ्लिङ हुँदै पाँचथरको फिदिमसम्म पुगेका थिए । इटहरी र धरानमा शनिबार स्रष्टा संवाद र साहित्यिक जमघटमा व्यस्त रहे । साताव्यापी ‘विद्यालयमा कुलपति’ र स्रष्टा प्रतिभा मिलन यात्राका क्रममा उनी ग्रामीण क्षेत्र पुगेका हुन् । प्रज्ञा प्रतिष्ठान खोज्दै काठमाडौं धाउने प्रवृत्तिको अन्त्य गर्न गाउँबस्ती आइपुगेको उनले बताए । ‘अब प्रज्ञा प्रतिष्ठान खोज्न काठमाडौं जानु पर्दैन, सर्जक खोज्न प्रतिष्ठान आफैं दुरदराज पुग्ने छ,’ उनले भने, ‘गाउँ–गाउँ पुगेपछि मात्रै वास्तविक स्रष्टा यहीँ रहेको पत्ता लाग्छ ।’
प्रज्ञा प्रतिष्ठानले ‘सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ नारा बनाएको छ । काठमाडौं र ठूला सहरमा एउटै भाषा मात्र रहेको भाष्य रहेकोले त्यसलाई तोड्न जरुरी रहेको उनको भनाइ छ । ‘कुलपति हुनलाई न्यूनतम नेपाली भाषाको पण्डित हुनैपर्छ, नेपाली भाषाको वर्णविन्यास जान्नै पर्छ,’ उनले भने, ‘तर उनीहरूले नेपाल सबै भाषाभाषीको साझा देश भएको बुझ्न जरुरी छ ।’
प्रतिष्ठानले मुलुकका १ सय २४ भाषाभाषीकै साझा र समान पहुँच स्थापित गर्न लागि परेको उनले बताए । ‘हामीलाई भ्रष्टाचार निर्मूल गरिएको संस्कृति चाहिएको छ, कागजमा लेखेर, भाषणमा सीमित गरेर हुन्न,’ उनले भने, ‘देशको विविधतालाई आत्मसात गरेर अघि बढ्नु पर्छ ।’ १ सय २३ भाषालाई कार्पेटमुनि राखिए साहित्यको विकास हुन नसक्ने उनको तर्क छ ।
नेपाली भाषाको लेखन इतिहास साढे दुई वर्ष मात्र भएपनि त्यस भन्दा अगाडिका शताब्दी पुराना मैथिली, नेवारी, भोजपुरी, अन्य आदिवासी भाषाज्ञान प्रणाली अझै हुर्कन नपाएको उनले बताए । प्रतिष्ठानले अघि सारेको ‘सबैको भाषा सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ अभियान अन्तर्गत ‘विद्यालयमा कुलपति’ कार्यक्रम रहेको छ । प्रतिष्ठानका कुलपति भूपाल राईका अनुसार हालसम्म ३० वटा विद्यालयका २० हजारभन्दा बढी बालबालिकासँग प्रतिष्ठान जोडिएको छ ।
काठमाडौंबाट थालिएको विद्यालयमा कुलपति कार्यक्रम पूर्वका जिल्लाहरुमा पुगिसकेको छ । आगामी महिनादेखि अभियान पश्चिमको यात्रामा रहने जनाइएको छ । पश्चिममा मनाङबाट विद्यालयमा कुलपति अभियान थालनी हुने राईले बताए । विद्यालय ज्ञानको विमर्श रहेकोले जरादेखि आफू जोडिएको उनले बताए । विद्यालयमा आफू पुग्दा कहिल्यै कविता नलेखेको विद्यार्थीले पनि कविता लेख्न हौसिएको पाएको उनले सुनाए ।
