‘दिनेश गुप्ता प्रतिभा पुरस्कार’ सुभाष बैठालाई

बैठाका भोजपुरी भाषाका दुई कृति ‘गांव’ उपन्यास र ‘लडाइई जिनगी के’ कविता संग्रह प्रकाशित छन्।

फाल्गुन २, २०८२

शंकर आचार्य

पर्सा — साहित्यकार दिनेश गुप्ताद्वारा स्थापित ‘दिनेश गुप्ता प्रतिभा पुरस्कार’ को पहिलो संस्करणको सम्मान भोजपुरी साहित्यका लेखक सुभाष कुमार बैठालाई प्रदान गरिने भएको छ।

भोजपुरी भाषामा लेखिएका बैठाका दुई कृति ‘गांव’ उपन्यास र ‘लडाइई जिनगी के’ कविता संग्रह प्रकाशित छन्।

निर्णायक मण्डलले बैठाको ग्रामीण जीवनप्रतिको गहिरो बुझाइ, समाजको यथार्थ चित्रण र भोजपुरी भाषामा रहेको सशक्त अभिव्यक्तिलाई उच्च मूल्यांकन गर्दै यो पुरस्कारका लागि छनोट गरेको जनाएको छ।

पुरस्कार घोषणा गर्दै गुप्ताले सुभाष कुमार बैठाले मातृभाषा भोजपुरीमा सिर्जनात्मक लेखनमार्फत साहित्यलाई समृद्ध बनाएको उल्लेख गरे । ‘गांव’ उपन्यास र ‘लडाई जिनगी के’ कविता संग्रहले समाजको वास्तविकता उजागर गर्ने भएकाले यस्ता स्रष्टालाई सम्मान गर्न पाउनु आफ्नो लागि गौरवको विषय भएको गुप्ताको भनाइ छ।

पुरस्कारको राशि र सम्मान समारोहको मिति छिट्टै सार्वजनिक गरिने उनले बताए । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully