चन्द्रकृष्ण कर्माचार्यको संघर्ष र सफलताको कथा समेटिएको आत्मकथात्मक पुस्तक ‘संसार आफ्नै’ शनिबार पोखरामा सार्वजनिक भएको हो ।
What you should know
पोखरा — २०२५ सालमा भक्तपुरको ठिमीबाट व्यवसायको सपना लिएर चन्द्रकृष्ण कर्माचार्य पोखरा आइपुगे । भैरहवाबाट ११ नम्बरको ट्रकमा चढेर नुन र बिस्कुट ओसार्दै थालेको व्यवसाय आज ‘कर्माचार्य ग्रुप’ को रूपमा स्थापित छ । उनको यही संघर्ष र सफलताको कथा समेटिएको आत्मकथात्मक पुस्तक ‘संसार आफ्नै’ शनिबार पोखरामा सार्वजनिक भएको छ ।
कर्माचार्य समाज कास्कीको पाँचौं स्थापना दिवसको अवसरमा विमोचन गरिएको यो पुस्तकमा एक साधारण व्यापारीबाट सफल उद्योगपतिसम्मको यात्रा जीवन्त रूपमा प्रस्तुत गरिएको छ । पोखराको रानीपौवामा सानो पसल खोलेर सुरु गरेको व्यवसाय महेन्द्रपुल हुँदै आजको कर्माचार्य ग्रुपसम्म कसरी पुग्यो भन्ने विवरण पुस्तकमा विस्तृत रूपमा उल्लेख छ ।
सुरुआती दिनमा उनले मट्टितेलको व्यापार गर्थे । पृथ्वीचोकको हिमालय पेट्रोल पम्प र बसपार्कको पञ्चरत्न पेट्रोल पम्पबाट मट्टितेल खरिद गरी बिक्री गर्ने गरेको उनले पुस्तकमा खुलाएका छन् । ‘त्यतिबेला नुन साल्ट ट्रेडिङका डिलरबाट र चुरोट जनकपुर चुरोट कारखानाका डिलरबाट ल्याएर बेच्ने गर्थ्यौं,’ पुस्तकमा उनले लेखेका छन् । बुबाले जग बसालेको सानो व्यवसायलाई परिवारसँग मिलेर तत्कालीन गण्डकी र धौलागिरी अञ्चलका १० जिल्लासम्म विस्तार गरेको उनको भनाइ छ ।
व्यापारबाट उत्पादनमूलक उद्योगतिर लाग्दै उनको परिवारले कर्माचार्य नुडल्स, कर्माचार्य आयल इन्डस्ट्रिज, एभरेस्ट रबर उद्योग, कर्माचार्य प्लास्टिक उद्योग, गण्डकी प्लास्टिक प्रोडक्ट्स र फिस्टेल डेरी उद्योगलगायत दर्जनौं उद्योग स्थापना गरे । पृथ्वी राजमार्ग बस सञ्चालन र गोर्खाकाली रबर उद्योगको डिलरसिप लिएर मोबिल तथा टायर–ट्युबको क्षेत्रमा पनि उनले बलियो उपस्थिति दर्ता गराए ।
पुस्तक विमोचन गर्दै पोखरा महानगर प्रमुख धनराज आचार्यले उद्योगी कर्माचार्यको सफलताको कथा नयाँ उद्यमीका लागि विश्वविद्यालय बन्न सक्ने टिप्पणी गरे । ‘प्रतिष्ठित कर्माचार्य ग्रुपको समग्र पोखराको उद्योग व्यवसायको प्रवर्द्धनमा योगदान छ,’ उनले भने, ‘उद्योग व्यवसाय गर्दाको कठिनाई र चुनौतीलाई समेटेको यो पुस्तक ज्ञानको पाठशाला बन्नेछ ।’ पुस्तकमा कर्माचार्यले सिलसिलेवार ढंगले आफ्नो जीवनी र समाजको चित्रण गरेको उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले कर्माचार्य ग्रुपले यातायात, बिस्कुट, तेल र चामललगायतको उत्पादनमार्फत सामूहिक रूपमा उद्यमशीलताको विकासमा योगदान पुर्याएको बताए । कोशेली प्रकाशन समूहका सञ्चालक गोपाल ध्वजुले गहुँको रोटीमा गुण राखेर बेच्दा बेच्दै बिस्कुट उद्योग खोलेको प्रसंग सुनाए । लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चतुराखर अधिकारीले पुस्तकको विवेचना गरेका थिए ।
पुस्तक विमोचन कार्यक्रममा कर्माचार्य ग्रुपले स्थापना गरेको ‘चन्द्रकृष्ण कर्माचार्य तथा लक्ष्मीसुन्दरी कर्माचार्य मिर्गौला पीडित सहयोग कोष’ अन्तर्गत माछापुच्छ्रे–२ सार्दीखोला निवासी ४९ वर्षीया मिर्गौला पीडित बुद्धिशोभा गुरुङलाई एक लाख रुपैयाँ प्रदान गर्यो । कर्माचार्य परिवारले ३० लाख रुपैयाँको यो कोष स्थापना गरी २०८० देखि डायलिसिस सेवा लिने महिलालाई वार्षिक रूपमा एक लाख रुपैयाँ सहयोग गर्दै आएको छ ।
कार्यक्रममा कर्माचार्य समाज नेपालका अध्यक्ष चन्द्रेश्वर कर्माचार्य, स्याङ्जाको भिरकोट नगरपालिकाका प्रमुख गोविन्दकुमार कर्माचार्य, मणिपाल अस्पतालका न्युरोसर्जन डा.बालगोपाल कर्माचार्य, कर्माचार्य समाज नेपालका केन्द्रीय सदस्य रेखा कर्माचार्यलगायतले पुस्तकले उद्यमी बन्न समेत प्रेरित गर्ने उल्लेख गरे ।
