फेस्टमा ‘साहित्य साँझ’अन्तर्गत कविहरू श्रवण मुकारुङ, विप्लब प्रतीक, प्रभाती किरण, राधा कँडेल, रिमा केसी र देवव्रतले कविता सुनाएका थिए ।
What you should know
काठमाडौं — ‘ग्लोबल लिटरेचर फेस्ट २०२६’ सम्पन्न भएको छ । साहित्य, संस्कृति र सिर्जनशीलताको अन्तर्राष्ट्रिय संवादलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ग्लोबल कलेज अफ म्यानेजमेन्टअन्तर्गत द एड्भान्ट–ग्रेड लिटरेरी क्लबका विद्यार्थीहरूद्वारा आयोजित फेस्टिभलमा विभिन्न सेसनअन्तर्गत साहित्यिक विचार–विमर्श एवं कविता वाचन भएको थियो ।
प्रगतिशील साहित्यकार खगेन्द्र संग्रौलाले फेस्टिभलमा ‘प्रेम र जीवन’सेसनअन्तर्गत स्वागत प्रवचन दिएका थिए । उनले यस सेसनअन्तर्गत आफूले जीवनकालमा विद्यार्थी जीवनदेखि गरेको प्रेमानुभव सुनाएका थिए । उनले प्रेमले मान्छेलाई मानवीय र संवेदनशील बनाउने बताए । आफूले प्रेम गर्न उक्साएको र प्रेम नगर्न अर्ती दुवै नदिएको बताउँदै जीवनका प्राथमिकताहरूमा केन्द्रित हुनुपर्ने बताए । आफू आफ्नै खुट्टामा अडिग नभइ गरिने प्रेममा सम्मान र समान भाव दुवै नहुने उनको भनाइ थियो ।
यसैगरी, सङ्ग्रौलासहित कवि नवराज लम्साल र कथाकार बिनाथिङ तामाङले ‘रिल्स’को बढ्दो प्रभावबीच साहित्यको अर्थ, धैर्य र पुस्तान्तरणीय मूल्यबारे गम्भीर बहस गरेका थिए । पत्रकार तथा निबन्धकार दीपक सापकोटाले सञ्चालन गरेको उक्त सेसनमा वरिष्ठ साहित्यकार संग्रौलाले प्रेमलाई जीवनको सबैभन्दा बहुमूल्य तत्व भन्दै आजको पुस्ता सजिलो र छिटो माध्यमतर्फ आकर्षित भइरहेको बताए। उनका अनुसार वर्तमान पुस्ता “रेडिमेड नुडल्स” जस्तो छिटो परिणाम खोज्ने प्रवृत्तिमा छ, जबकि साहित्यले धैर्य, प्रतीक्षा र गहिरो अनुभूति माग्छ।
उनले साहित्य मरेको नभई नयाँ पुस्तालाई आकर्षित गर्ने ढङ्गले लेखनमा सुधार आवश्यक रहेको उल्लेख गरे। प्रत्येक पुस्ताको आफ्नै भाषा, रुचि र मानसिकता हुने भएकाले बदलिँदो समयलाई बुझेर साहित्यिक गतिविधि अघि बढाउनुपर्ने उनको धारणा थियो।
संग्रौलाले आजको संसार तीव्र गतिमा अघि बढेकाले मानिसहरूलाई धैर्य अभ्यास गर्ने अवसर कम भएको र छोटा रिल्समा बढी समय बिताउने प्रवृत्ति बढेको बताए। केही दशकअघि मनोरञ्जनका साधन सीमित हुँदा जीवनसँग जोडिन र सिक्न साहित्य लोकप्रिय रहेको स्मरण गर्दै उनले समयसँगै मानिसहरू रिल्सतर्फ सरेको टिप्पणी गरे।
तर रिल्सले शिक्षा प्रणालीलाई पूर्ण रूपमा नकारात्मक असर नपारेको र केही हदसम्म सिकाइलाई प्रवर्द्धन पनि गरेको उनको भनाइ थियो। अनुसन्धान गर्दा आजका मानिसहरू कम्तीमा आफ्नो पहिचान र अस्तित्वबारे खुलेर उभिन थालेको सकारात्मक पक्ष पनि देखिएको उनले बताए।
कवि तथा सञ्चारकर्मी नवराज लम्सालले सामाजिक सञ्जालले धेरैलाई लेखक, वक्ता र सर्जकको रूपमा स्थापित हुन सहयोग गरेको बताए। उनका अनुसार परिवर्तन प्रत्येक पुस्तासँगै आउँछ, त्यसलाई स्वीकार गर्दै नयाँ माध्यमसँग सिक्दै अघि बढ्नुपर्छ ।
लम्सालले वास्तविक साहित्य भनेको मानिस–मानिसबीचको सम्बन्ध, माया र आत्मीयता भएको उल्लेख गर्दै रिल्स होस् वा साहित्य-त्यसले सम्बन्ध जोड्न, प्रेम फैलाउन र आगामी पुस्तासम्म मूल्य हस्तान्तरण गर्न सक्नुपर्नेमाथि जोड दिए ।
कथाकार बिनाथिङ तामाङले पछिल्लो पुस्ता रिल्समा अल्झिएर पठन संस्कृतिक कमजोर नभएको बताएकी थिइन् । युवा पुस्तामा पठन संस्कृति कायमै रहेको बताउँदै उनले यो विस्तारित हुननसक्नुको कारण अभिभावक र शिक्षकहरू नै भएको तर्क गरेकी थिइन् । ‘अहिले ५० हजार प्रति पुस्तक बिक्री भएमा बेस्ट सेलरको मानकका रूपमा हेर्ने गरिएको छ। तर हाम्रोमा शिक्षक कति छन् ? उनीहरूले मात्रै पुस्तक किनेर पढिदिने हो भने त्यो त कम्तिमा ५ लाख १० लाख प्रति बिक्ने थियो,’ उनले भनिन्, ‘जसरी हामीलाई पढाइमा आकर्षित गर्न त्यसवेला घरमा अभिभावकको पढ्ने र पुस्तकमा लगानी गर्ने चलन थिएन, अहिले पनि अवस्था त्यही हो । त्यसकारण पठन संस्कृति खस्कियो भनेर नयाँ पुस्तालाई दोष देखाउन मिल्दैन ।’
उनले नयाँ पुस्तामा पठन संस्कृति बढाउन अभिभाव नै जिम्मेवार र गम्भीर हुनुपर्ने एवं बहस, कार्यक्रम र सिर्जनात्मक पहल आवश्यक रहेको बताइन् ।
फेस्टिभलमा ‘साहित्य साँझ’अन्तर्गत कविहरू श्रवण मुकारुङ, विप्लब प्रतीक, प्रभाती किरण, राधा कँडेल, रिमा केसी र देवव्रतले कविता सुनाएका थिए ।
