‘कम्पनी’ उपन्यास दक्षिण कोरियाको सोल सहरमा एक विद्यार्थी र मजदुर जीवनको दोसाँध वरिपरि केन्द्रित छ।
काठमाडौँ — सिड्नी निवासी साहित्यकार कुमार शर्माको पहिलो उपन्यास ‘कम्पनी’ सिड्नीमा लोकार्पित भएको छ। सिड्नीस्थित ब्ल्याकटाउन सिटी काउन्सिलको आयोजनामा भएको कार्यक्रममा लेखक, अग्रज साहित्यकार र नेपाली डायस्पोरिक समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।
करिब दुई घण्टासम्म चलेको कार्यक्रममा उपन्यास लोकार्पण गार्गी शर्मा, ज्ञानुवाकर पौडेल, कुमार शर्मा, सानु घिमिरे र शौरभ श्रेष्ठले संयुक्त रूपमा गरेका थिए । कार्यक्रममा सानु घिमिरेले पुस्तक संवादको संयोजन गर्दै उपन्यासका विविध आयामबारे छलफल गराएकी थिइन् ।
लेखक प्रकाश पन्थी तथा प्रज्ञा पनेरुले लोकार्पित पुस्तक ‘कम्पनी’ माथि आफ्ना धारणा प्रस्तुत गरेका थिए । थियो । प्रतिज्ञा अधिकारीले सहजीकरण गरेको उक्त कार्यक्रममा अग्रज साहित्यकार ज्ञानुवाकर पौडेलले शुभकामना मन्तव्य पनि व्यक्त गरेका थिए ।
करिब एक दशकदेखि सिड्नीमा बसोबास गर्दै आउनुभएका शर्मा अस्ट्रेलियाको पोस्टल सर्भिसेजमा कार्यरत छन् । लामो समय अखबारी लेखनमा संलग्न रहेपछि उनी आख्यान लेखनतर्फ उत्रिएका हुन् ।
‘कम्पनी’ उपन्यास दक्षिण कोरियाको सोल सहरमा एक विद्यार्थी र मजदुर जीवनको दोसाँध वरिपरि केन्द्रित छ। परम्परागत बाटो नहिँडेर आफ्नो मनको आवाज सुन्ने एक वयस्क युवकको ‘कमिङ अफ द एज’ कथा यस उपन्यासमा प्रस्तुत गरिएको छ। उपन्यास बु हिल पब्लिकेशनले प्रकाशित गरेको हो।
