लेखकहरू राजन मुकारुङ, दीपक सापकोटा, रजनी ढकाल र गौरी तमूले कविता–किताबको विमोचन गरेका हुन् ।
What you should know
काठमाडौँ — गुरुङ भाषा र साहित्यका क्षेत्रमा लामो समयदेखि क्रियाशील लेखक/कवि गौरी तमुको नयाँ कविता–किताब ‘सैँप्रोल’ काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा शनिबार विमोचन भएको छ ।
लेखकहरू राजन मुकारुङ, दीपक सापकोटा, रजनी ढकाल र गौरी तमूले कविता–किताबको विमोचन गरेका हुन् ।
विमोचनपछि किताब र कवितामाथि अन्तरक्रिया कार्यक्रम पनि सञ्चालन गरिएको थियो । अन्तरक्रियामा ‘सैँप्रोल’ गुरुङ भाषा र संस्कृति चियाउने आँखिझ्याल भएको र आदिवासी–जनतजातीसम्बन्धीको पहिचान साहित्य नै मुलधारको साहित्य भएको राजन मुकारुङले बताए । ‘आदिवासी–जनजातिको परम्परा र संस्कृतिमाथि लेखिएको साहित्य नै अहिलेको मुलधार हो । नेपालमा अझै पनि आन्दोलनपछि आदिवासी–जनतातीको आवाज हराउने बनाइन्छ, जुन नहुनुपर्थ्यो’, मुकारुङले भने, ‘सैँप्रोलका कविताले तिनै हराइरहेका आवाज मुखरित गरेको छ ।’
‘सैँप्रोल’ का कविताहरू प्रतिरोध र आक्रोशका प्रश्न भएको दीपक सापकोटाले बताए । ‘यो किताब तमू मिथमा आउने महिला पात्रको नाम मात्रै होइन । तमू (गुरुङ) महिलाको अस्तित्व, असन्तुष्टि र आक्रोशको बहस, विमर्श र प्रश्न पनि हो’, सापकोटाले भने, ‘महिलाको विद्वता र क्षमतामाथि गरिएको प्रश्नप्रति प्रतिरोध हो– सैँप्रोल । महिलाले प्राप्त गरेको ज्ञानमाथि शंका गरिएको आदिमकालको गुरुङ मिथकलाई शिर्षकीकरण गरिएको यस किताबका कविताले महिला सशक्तिकरणमा उत्प्रेरणा दिन्छन् । र, यी कविता व्यक्तिगत अनुभव र सामूहिक प्रतिवद्धताबाट निर्मित भएका हुन् ।’
‘सैँप्रोल’ का कविताले गुरुङ–संस्कृति र पहिचानमाथि गम्भीर विमर्श गर्ने रजनी ढकालले बताइन् । ‘म त्यहि संस्कृतिमा हुर्के÷बढेको भएपनि मैले गुरुङ–मगरको संस्कृति बुझेको थिइनँ, यस किताबले तमू संस्कृतिप्रति मलाई उत्सुकता बढाइदियो, यसअर्थमा यस पुस्तकलाई म पूर्णांक दिन सक्छु’, ढकालले भनिन्, ‘यी कविताका शैली र प्रवृत्ती गौरी तमूको जस्तै स्पष्ट र सटिक छ ।’
किताबले महिला अस्तित्वसँगै तमू (गुरुङ) हरूको उत्पत्ति, संस्कृति, मृत्यु संस्कार र तमूसँगै आदिवासी भूगोल–संस्कृतिमाथिको आक्रमणबारे विमर्श गर्ने आशा राखिएको कवि गौरी तमूले बताइन् । तमूको यसअघि गुरुङ–नेपाली भाषाको द्विभाषिक मुक्तक संग्रह ‘समैँ दर्बानी’ प्रकाशित छ ।
इन्डिगो इन्कले प्रकाशन गरेको कविता–किताब ‘सैँप्रोल’ को मूल्य २७५ रुपैयाँ रहेको छ ।
