धनकुटामा ‘चियासँग कविता’को एक वर्ष पूरा

स्थानीय साहित्यिक गतिविधिलाई चलायमान बनाउँदै सर्जकहरूलाई नियमित रूपमा भेटघाट, कविता वाचन र सिर्जनात्मक संवादको साझा मञ्च उपलब्ध गराएको आयोजकले जनाएको छ।

माघ २३, २०८२

विनोद घिमिरे

'Poetry with Tea' completes one year in Dhankuta

धनकुटा — धनकुटाको पहिलो सामुदायिक रेडियो धनकुटा एफएमको संयोजनमा सञ्चालन हुँदै आएको ‘चियासँग कविता’ कार्यक्रमले एक वर्ष पूरा गरेको छ।

छोटो समयमै कार्यक्रमले स्थानीय साहित्यिक गतिविधिलाई चलायमान बनाउँदै सर्जकहरूलाई नियमित रूपमा भेटघाट, कविता वाचन र सिर्जनात्मक संवादको साझा मञ्च उपलब्ध गराएको आयोजकले जनाएको छ।

धनकुटामा सुस्ताउँदै गएको साहित्यिक माहोललाई पुनः जागृत बनाउन कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै ‘चियासँग कविता’ ले साहित्यिक विकास र नयाँ प्रतिभा पहिचानमा निरन्तर काम गरिरहेको छ।

यही यात्राको एक वर्ष पूरा भएको अवसरमा पहिलो वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाइने भएको संचालक गोपाल बराइलीले बताए ।

आयोजकका अनुसार वार्षिकोत्सवका अवसरमा १५ हजार राशिको ‘चियासँग कविता धनकुटा साहित्य रत्न पुरस्कार’, ५ हजार राशिको ‘युवा साहित्य पुरस्कार’, ५ हजार राशिको ‘नव प्रतिभा पुरस्कार’ र ५ हजार राशिको ‘पत्रकारिता पुरस्कार’ प्रदान गरिनेछ। साथै, सुरुदेखि कार्यक्रममा सहभागी सर्जक तथा विभिन्न रूपमा सहयोग गर्ने सहयोगीहरूलाई पनि सम्मान गरिने बराइलीले जानकारी दिए ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully