'बगावतनामा' विमर्श 

रिमा केसीका कवितासंग्रह 'बगावतनामा' मा प्रेम र विद्रोहका दुई बृहत् पाटाभित्र गुजुल्टिएर बसेका अनेक विषय छन् । 

माघ १८, २०८२

कान्तिपुर संवाददाता

Discussion on 'Rebellion'

What you should know

काठमाडौँ — छलफल, कुराकानी गर्ने हेतुले थालिएको ‘अन्तर–विधा’ मार्फत रिमा केसीको नवीनतम कविता संग्रह 'बगावतनामा' माथि हिजो काठमाडौंमा संक्षिप्त अन्तरक्रिया गरिएको छ । प्रेम  र विद्रोहका दुई बृहत् पाटाभित्र गुजुल्टिएर बसेका अनेक विषय छन् यसमा । 

संग्रहबारे अभियन्ता तथा लेखक राधा पौडेलले भनिन्, 'हामीलाई कहिले हिंसात्मक बलात्कार गर्छन्, कहिले भावननात्मक बलात्कार गर्छन् । राजनैतिक घोषणापत्रसमेत महिलाका विषयमा मौन रहेको यो बेला यी कविताले छुटेका यस्तै विषयलाई समेटेको छ । यी कविताले छद्म चरित्रका मान्छे र प्रवृत्तिको प्रतिवाद गरेका छन् । कविताले समाजमा रहेका विभेद, क्रूरताको विरोध मात्र गर्दैनन्, विभेदरहित समाजका लागि अपिल पनि गर्छन् ।' 

त्रिविमा प्राध्यापनरत  हेम भण्डारीको हेराइमा यी कविताले परम्परागत लेखन मान्यतालाई भत्काएर प्रतिरोधलाई कविताको नयाँ शैली र सौन्दर्यका रूपमा स्थापित गरेका छन् ।  उनका अनुसार परम्परागत व्याकरण नै भत्काइदिएका छन् यी कविताले । दोहोरो चरित्रमा बाँचेका, विषाक्त पितृसत्ता तथा सामाजिक विभेदका वाहकलाई कविताबाटै चुनौती दिएकी छन् कवि रिमाले । 

संग्रहका कवितावारे आफ्नो धारणा राख्दै कवि लक्ष्मी रुम्वाले थपिन्, 'यी कविताले तल्लो तहमा रहेका तथा वर्गीय उत्पीडनको पीधमा रहेकाहरुप्रति देखाएको समभाव कम अत्यन्तै गाढा छ । बारम्बार पढ्दा पनि कम हुँदैन । सामाजिक घटनाको सूक्ष्म अवलोकनमा आफ्नै अनुभूति मिसाएर लेख्छिन् कवि रिमा । आक्रोश त पोखिएका छन् यहाँ तर अतिरन्जित लाग्दैन । लोभलाग्दो लाग्छ उनको साधारण शब्द चयन तर सशक्त अभिव्यक्ति ।' 

कार्यक्रममा सहजीकरण गर्दै गणेश खनियाले वक्तात्रयसँग संक्षिप्त प्रश्नहरु राखेका थिए । बीचबीचमा दर्शकदीर्घाबाट कवि रिमा तथा तीन वक्ताहरूलाई प्रश्न पनि सोधिएका थिए । कार्यक्रमको अन्त्यमा कवि रिमाले आफ्नो कवितासमेत वाचन गरेकी थिइन् । 

कान्तिपुर संवाददाता

Link copied successfully