पलेँटीमा गुञ्जिइन् भूषिता

वाद्यवादकसहित मञ्चमा देखिएकी भूषिताले आफ्नो काव्यात्मक साँझलाई 'वसन्त स्नान'का रूपमा ग्रहण गरिदिन अनुरोध गरेकी थिइन् ।

माघ १८, २०८२

कान्तिपुर संवाददाता

Bhushita hummed in the floor

What you should know

काठमाडौँ — गत शुक्रबार र शनिबार साँझ कालिकास्थानमा रहेको नेपालयको 'आर'शालामा साहित्यकार भूषिता वशिष्ठको काव्यवाचन सम्पन्न भएको छ । साहित्यको अध्ययन र अन्वेषणमा क्रियाशील भूषिताले झण्डै सात वर्ष पहिले पनि पलेँटीको मञ्चमा आफ्नो छन्द काव्यवाचन प्रस्तुत गरेकी थिइन् ।

यसपालिको पलेँटीमा अग्रज र समकालीन कविका  डेढ दर्जन काव्यात्मक रचनाहरू समेटिएका थिए । पलेँटीका वाद्यवादकसहित मञ्चमा देखिएकी भूषिताले आफ्नो काव्यात्मक साँझलाई 'वसन्त स्नान'का रूपमा ग्रहण गरिदिन अनुरोध गरेकी थिइन् ।

भूषिताले आफ्नो कार्यक्रमको थालनीमा 'कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारम् । सदा बसन्तं हृदयारबिन्दे भबं भवानीसहितं नमामि ।।' बोलसमेटिएको मङ्गलगानबाट गरेकी थिइन् । यो रचना वाचन गर्दा श्लोकको भाव झैँ उनको मुहारमा करुणा भावको स्निग्धता झल्कन्थ्यो ।

Bhushita hummed in the floorकाव्य साहित्यप्रति आफ्नो धारणा राख्दै प्रस्तुत भएकी भूषिताले यसपालिको पलेँटीलाई साहित्यका नवरसमा केन्द्रित गरेकी थिइन् । उनले 'विभत्स' र 'भयानक' रसलाई भने सचेतनापूर्वक नसमेटेको जानकारी पनि गराएकी थिइन् । उनी भन्दै थिइन्, 'मैले आजको साँझको शीर्षक नै 'वसन्त स्नान' दिएँ, यति सुन्दर जमघटमा 'विभत्स' र 'भयानक' रस घोप्ट्याउन मन लागेन यद्यपि ती पनि साहित्यभित्रका रसहरु हुन् । तर मैले आज तिनलाई आफ्नो तालिकामा पार्न चाहिन ।'

कवि सोमनाथ शर्मा सिग्द्यालको 'बसन्त ऋतु' शीर्षकको कविता हुँदै अघि बढेको कार्यक्रममा मोतीराम भट्ट, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे, लोकप्रिया देवकोटा, अग्निप्रसाद शर्मा बराल, भैरव अर्याल जस्ता मूर्धन्य कविहरूका रचनाहरू समेटिएका थिए । कार्यक्रमका क्रममा भूषिताले आफ्ना पिताजी कवि भरतमणि भट्टराई र आफैंले सृजना गरेका कविताहरु पनि प्रस्तुत गरेकी थिइन् ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाकी दिदी लोकप्रिया देवकोटाको कविता प्रस्तुत गर्ने क्रममा भूषिता भन्दै थिइन् - 'महिला भएर साहित्यमा स्थापित हुनु र स्थापित गराइनु हाम्रो समाजमा मात्र होइन पाश्चात्य समाजमा पनि गाह्रो कुरा थियो।' पलेँटी हरेक अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबार र शनिबार आयोजना हुँदै आएको लघु सांगीतिक कार्यक्रम हो ।

कान्तिपुर संवाददाता

Link copied successfully