अग्रज अनुवादकहरूको ज्ञान र अनुभवलाई इतिहासका रूपमा अभिलेखीकरण गर्ने, नयाँ र पुराना पुस्ताबीच ज्ञान हस्तान्तरण गर्ने तथा निरन्तर संवादमार्फत पेसागत सञ्जाल विस्तार गर्ने उद्देश्यसहित कार्यक्रम सुरु गरिएको आयोजकले जनाएका छन् ।
What you should know
काठमाडौँ — अनुवादक समाज नेपालले आफ्नो पहिलो ‘अनुवाद विमर्श’ शृंखला बिहीबार आयोजना गरेको छ ।
अग्रज अनुवादकहरूको ज्ञान र अनुभवलाई इतिहासका रूपमा अभिलेखीकरण गर्ने, नयाँ र पुराना पुस्ताबीच ज्ञान हस्तान्तरण गर्ने तथा निरन्तर संवादमार्फत पेसागत सञ्जाल विस्तार गर्ने उद्देश्यसहित कार्यक्रम सुरु गरिएको आयोजकले विज्ञप्तीमार्फत जनाएका छन् ।
समाजका अनुसार ‘अनुवाद विमर्श’ लाई बहसको थलो नभई अग्रज अनुवादकका अनुभव सुन्ने, उनीहरूका गल्तीबाट सिक्ने र सफलताबाट प्रेरणा लिने खुला डबली का रूपमा अघि बढाइनेछ ।
कार्यक्रममा प्रमुख वक्ताका रूपमा वरिष्ठ कवि तथा अनुवादक भीष्म उप्रेतीले अनुवाद केवल भाषिक रूपान्तरण नभई उच्च सृजनात्मक र प्राविधिक कला भएको बताए ।
उनले अनुवाद गर्दा मूल लेखकको भाव, शैली र सांस्कृतिक परिवेशप्रति इमानदार हुनुपर्नेमा जोड दिए ।
आफ्नो अनुवाद यात्राका क्रममा भोगेका रोचक अनुभव र चुनौतीहरू साझा गर्दै उप्रेतीले सन् १९९९ मा यूके बसाइका क्रममा अङ्ग्रेजी अनुवादको अभावले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन कठिनाइ भएको अनुभवले आफूलाई अनुवादको महत्त्व गहिरो रूपमा बोध गराएको बताए ।
पेन नेपालका अध्यक्षसमेत रहेका उप्रेतीले अनुवादमार्फत ज्ञानको दायरा विस्तार भएको उल्लेख गर्दै कोभिडकालमा दक्षिण एसियाली साहित्य, युद्ध साहित्य तथा इस्लामिक महिला कविहरूका कविता अनुवाद जस्ता महत्त्वपूर्ण परियोजनामा संलग्न भएको जानकारी दिए।
उनका अनुसार साहित्यिक अनुवादमा सांस्कृतिक बिम्ब र भाषिक सूक्ष्मता मुख्य चुनौतीका रूपमा देखा पर्ने गर्छन् ।
उनले अनुवादकले मूल लेखकको ‘हृदय’ बुझ्न सक्नुपर्ने, सांस्कृतिक पृष्ठभूमिबारे जानकार हुनुपर्ने र शैलीप्रति इमानदार रहनुपर्नेमा जोड दिए ।
साथै, अनुवाद सम्पन्न भएपछि तत्काल प्रकाशन नगरी केही समय राखेर पुनः सम्पादन गर्दा गुणस्तर अभिवृद्धि हुने सुझाव पनि दिए ।
कार्यक्रममा अनुवादक समाज नेपालका अध्यक्ष डा. बलराम अधिकारी र महासचिव डा. ऋषिराम अधिकारीले ‘अनुवाद विमर्श’ लाई नयाँ उचाइ दिन निरन्तरता दिनुपर्ने बताएका थिए ।
