गत वर्ष पुरस्कार घोषणा गर्न नसकिएकाले यसपाली दुवै साहित्यकारलाई एकै समारोहमा सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ
रामेछाप — यस वर्षको जगदीश घिमिरे स्मृति पुरस्कार साहित्यकार पवन आलोकलाई प्रदान गरिएको छ । गत वर्षका लागि सोही पुरस्कार साहित्यकार मिना चौलागाईलाई प्रदान गरिएको हो ।
मन्थलीमा शनिवार ११ औं जगदीश घिमिरे स्मृति साहित्यिक सभा, वक्तृत्वकला प्रतियोगिता तथा पुरस्कार वितरण समारोहमा ५१-५१ हजार रुपैयाँ सहित सम्मान गरिएको थियो ।
गत वर्ष पुरस्कार घोषणा गर्न नसकिएकाले यसपाली दुवै साहित्यकारलाई एकै समारोहमा सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ । साहित्य र पत्रकारिताको क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने साहित्यकार तथा पत्रकारलाई हरेक वर्ष प्रतिष्ठानले पुरस्कार वितरण गर्दै आएको छ । यसअघि यो पुरस्कार मनु ब्राजाकी, रोचक घिमिरे लगायतले प्राप्त गरिसकेका छन्।
कार्यक्रममा साहित्यकार तथा विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । नयाँ पुस्तामा साहित्य र अभिव्यक्ति कलाप्रति रुचि बढाउने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको प्रतिष्ठानले जनाएको छ। कार्यक्रममा जिल्लासहित मुलुकभरबाट साहित्यकारको सहभागिता रहेको थियो । वरिष्ठ साहित्यकार जगदीश घिमिरेले आफैँ जीवित रहँदै स्थापना गरेको प्रतिष्ठानले साहित्यिक अभियानलाई निरन्तरता दिँदै आएको छ।
