डा. वाङ्ग्यालको 'दार्जिलिङ टु डिस्ट्यान्ट डेस्टिनेसन्स' विमोचनसँगै स्यालमेण्डर इम्प्रिन्ट्सको शुभारम्भ

बेस्टसेलर इतिहासकार डा. सोनाम बी वाङ्ग्यालद्वारा लिखित उक्त पुस्तक सोमबार सिलिगुडी गुरुङ नगरको किताब क्याफेमा सार्वजनिक गरिएको छ।

पुस २९, २०८२

कान्तिपुर संवाददाता

Salamander Imprints launched with the release of Dr. Wangyal's 'Darjeeling to Distant Destinations'

What you should know

सिलिगुडी — बुक–आण्ट पब्लिकेशन हाउस, सिलिगुडीले आफ्नो नयाँ प्रकाशन एकाइ (इम्प्रिन्ट) स्यालमेण्डर इम्प्रिन्ट्सको औपचारिक शुभारम्भ गरेको छ।

ऐतिहासिक यात्रासाहित्य 'दार्जीलिङ टु डिस्ट्यान्ट डेस्टिनेसन्स'को  विमोचनसँगै इम्प्रिन्टको उद्घाटन गरिएको हो।

बेस्टसेलर इतिहासकार डा. सोनाम बी वाङ्ग्यालद्वारा लिखित उक्त पुस्तक सोमबार सिलिगुडी गुरुङ नगरको किताब क्याफेमा सार्वजनिक गरिएको छ।

कार्यक्रमको मुख्य आकर्षण लेखक डा. वाङ्ग्याल र सहजकर्ता डा. सत्यदीप एस क्षेत्रीबीच भएको गहन संवाद थियो। सो क्रममा डा. क्षेत्रीले प्रसिद्ध यात्रु इब्न बतुत्ताको भनाइ उद्धृत गर्दै भने, 'नयाँ स्थानमा पुग्दा मानिस पहिले मौन हुन्छ, अनि पछि उ कथाकार बन्छ।' उनले यो भनाइ डा. वाङ्ग्यालको यात्रात्मक लेखनमा पूर्णरूपमा प्रतिबिम्बित हुने उल्लेख गरे।

आफ्नो मन्तव्यमा डा. वाङ्ग्यालले ‘ब्रान्ड दार्जीलिङ’ र ‘ब्रान्ड गोर्खा’ को अवधारणामाथि चर्चा गरे। विश्वभर इत्र, सिगार, मदिरा र वस्त्रजस्ता उत्पादनमा यी नामहरूको व्यापक प्रयोग भइरहेको उल्लेख गर्दै उनले समुदायका रूपमा यस ब्रान्ड मूल्यको सदुपयोग गर्न नसकिएको र विश्व बजारमा क्षेत्रको वास्तविक पहिचान स्थापित गर्न चुकिएको धारणा व्यक्त गरे। उनले आफ्नो पुस्तकलाई यस क्षेत्रको ब्रान्ड मूल्यप्रति चेतना जगाउने  कृतिका रूपमा व्याख्या गरे।

पुस्तकको औपचारिक विमोचन डा. पीके क्षेत्री, डा. रिन्जी इडेन वाङ्दी, ज्ञानेन्द्र खतिवडा र डा. सत्यदीप एस क्षेत्रीकोबाट सम्पन्न भएको थियो। उक्त अवसरमा स्यालमेण्डर इम्प्रिन्ट्सका तर्फबाट लेखक डा. वाङ्ग्याललाई सम्मानित गरिएको थियो। कार्यक्रमको समापन बुक–आण्ट पब्लिकेशन हाउसका सल्लाहकार तथा अनुवादक नरेश के शाहीले गरे।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा डा. पीके क्षेत्री तथा विशिष्ट अतिथिका रूपमा डा. रिन्जी इडेन वाङ्दी उपस्थित थिए। आफ्नो सम्बोधनमा डा. क्षेत्रीले विश्वव्यापीकरणको वर्तमान सन्दर्भमा संस्कृतिहरू, पहिचान र क्षेत्रीय कथानकहरू बुझ्न यात्रावृत्तान्त लेखनको महत्त्वमाथि जोड दिए।

दार्जिलिङ टु डिस्ट्यान्ट डेस्टिनेसन्सले स्थानीय पहिचान र विश्वव्यापी अनुभवबीचको सम्बन्धलाई उजागर गर्दै पूर्वी हिमालय क्षेत्रबाट आएको समकालीन यात्रासाहित्यमा महत्वपूर्ण योगदान पुर्‍याएको बताइएको छ।

स्यालमेण्डर इम्प्रिन्ट्सको शुभारम्भसँगै सम्पन्न उक्त कार्यक्रममा लेखक, सामाजिक अभियन्ता, अनुसन्धानकर्ता तथा विभिन्न क्षेत्रका व्यक्तिको उपस्थिति रहेको थियो। स्यालमेण्डर इम्प्रिन्ट्सका संस्थापक–निर्देशक राजा पुनियानीले इम्प्रिन्टको नाम पूर्वी हिमालय, विशेषगरी दार्जीलिङ क्षेत्रमा पाइने ‘जीवित जीवाश्म’ मानिने स्यालमेण्डरको संरक्षण आवश्यकताबाट प्रेरित भएको बताए। उनले आगामी दिनमा गुणस्तरीय अनुसन्धानमूलक कृतिहरू तथा ऐतिहासिक उपन्यास प्रकाशनमा विशेष ध्यान दिने जानकारी दिए।

इम्प्रिन्टअन्तर्गत प्रकाशनाधीन कृतिहरूमा शारदा क्षेत्रीको अ लेगेसी अफ सरो : अ स्टोरी फ्रम दार्जीलिङ (अङ्ग्रेजी उपन्यास), कुमार प्रधानको द गोर्खा कङ्क्वेस्ट्स (अङ्ग्रेजी तथा नेपाली संस्करण), चर्चिल सुब्बाको हाम्रा लोकबाजा, सौमेन नागको कञ्चनजङ्गाय अशान्तिर आगुन तथा बबिता मादेनको १९८६: वास हराएपछिको अङ्ग्रेजी संस्करण रहेका छन्।

कान्तिपुर संवाददाता

Link copied successfully