‘महायुग’मा नारी शक्ति, अध्यात्म र स्वैरकल्पनाको खोज

बुकहिलको आयोजना तथा र्‍यान्डम रिडर्स सोसाइटीको सहआयोजनामा शनिबार पोखरामा सम्पन्न ‘बुकहिल बुकाञ्जा’को दोस्रो सत्र ‘स्वको महायुग’ मा साहित्यकार सरस्वती प्रतीक्षाले महायुग माथि केन्द्रित रहेर लेखकसँग भलाकुसारी गरिन्।

पुस २६, २०८२

दीपक परियार

The search for female power, spirituality, and self-imagination in the 'Mahayuga'

What you should know

पोखरा — लेखक सीमा आभासको पछिल्लो कृति ‘महायुग’ले नारी शक्ति, अध्यात्म र सामाजिक यथार्थलाई एकैसाथ प्रस्तुत गर्ने प्रयास गरेको चर्चा गरिएको छ।

पुस्तकको आवरण चित्रदेखि कथ्यसम्म उठेका बहस र जिज्ञासाले कृतिलाई थप चर्चामा ल्याएको हो।

बुकहिलको आयोजना तथा र्‍यान्डम रिडर्स सोसाइटीको सहआयोजनामा शनिबार पोखरामा सम्पन्न ‘बुकहिल बुकाञ्जा’को दोस्रो सत्र ‘स्वको महायुग’ मा साहित्यकार सरस्वती प्रतीक्षाले महायुग माथि केन्द्रित रहेर लेखकसँग भलाकुसारी गरिन्। सत्रको सुरुआतमै पुस्तकको आवरण चित्रको प्रसंग उठ्यो, जसले हालै सामाजिक सञ्जाल, पत्रकार र पुस्तक वितरकबीच चर्चा पाएको थियो ।

सचिन योगरले बनाएको महायुगको आवरण चित्र ‘महायुगको द्वार’ झल्काउने उद्देश्यले तयार गरिएको भए पनि त्यसको आकृति योनीमुद्रासँग मिल्न गएको भन्दै बहस चलेपछि लेखिकाले स्पष्टीकरण दिनुपरेको बताइन्। ‘महायुगको द्वार यस्तै प्रकारको हुन्छ,‘ सीमा आभासले भनिन्, ‘चित्रमा नदी तरेको भाव छ । नदी तरेपछि फर्केर आउन सकिँदैन । धेरैजना त्यहीँ हराउँछन् ।'

उनका अनुसार उक्त चित्र सृष्टिको केन्द्र र स्त्री शक्तिको प्रतीकका रूपमा राखिएको हो । ‘स्त्रीका लागि सबैभन्दा शक्तिशाली मुद्रा भनेकै योनीमुद्रा हो,' उनले भनिन्, ‘मैले स्त्री शक्तिबारे लेखेको हुनाले यही भाव बोकेको चित्र राखेकी हुँ ।' यसअघि कविता संग्रहमा ‘आइमाई’ शब्द प्रयोग गर्दा पनि स्पष्टीकरण दिनुपरेको स्मरण गर्दै उनले महायुगमा पनि महिलाको शक्ति र अस्तित्वलाई केन्द्रमा राखिएको दोहोर्‍याइन् ।

पूर्वीय दर्शनको आधारमा महिलाको सम्मानजनक अस्तित्व खोज्ने प्रयास पुस्तकको मुख्य भाव रहेको सीमा आभास बताउँछिन् । ‘यस कृतिमा पूर्वीय दर्शनलाई टेकेर महिलाको इच्छा, चेतना र स्वतन्त्र अस्तित्व खोजिएको छ,' उनले भनिन् ।

पुस्तकका पात्रहरूको नामकरणमा पनि विशेष ध्यान दिइएको उनले बताइन् । ‘स्त्री पात्रलाई सस्तो नाम दिने परम्परा छ,' उनले भनिन्, ‘नामले व्यक्तित्व निर्माण गर्छ । त्यसैले मैले अर्थ बोकेका र सम्मानजनक नामहरू रोजेकी हुँ ।‘ पात्रका नामहरूबाट आफू सन्तुष्ट रहेको उनको भनाइ छ ।

साहित्यकार सरस्वती प्रतीक्षाले महायुग सामाजिक यथार्थ र स्वैरकल्पनाको संगम कृति भएको बताइन् । यही कारण पुस्तकले मिश्रित प्रतिक्रिया पाएको उनको टिप्पणी थियो । ‘नेपाली साहित्यमा यथार्थवाद र स्वैरकल्पनाबीच द्वन्द्व देखिन्छ,‘ उनले भनिन्, ‘सीमाजीको किताब आएपछि पनि त्यही मिश्रित प्रतिक्रिया देखिएको छ ।'

लेखक सीमा आभासले पुस्तकको पहिलो खण्डमा आम मानिसका दुःख र दोस्रो खण्डमा स्वैरकल्पनाबाट निर्मित संसार समेटिएको स्पष्ट पारिन् । महिलामा चेतनाको जागरण गराउन स्वैरकल्पनाको सहारा लिनुपरेको उनको भनाइ छ । यही कारण दुई खण्ड छुट्टाछुट्टै पुस्तकमा ल्याउन सुझाव आए पनि एउटै कृतिमा समेटिएको उनले बताइन् ।

नारीवाद र आध्यात्मको संयोजनबारे बोल्दै उनले धर्म र आध्यात्मकै नाममा महिलालाई दबाउने प्रवृत्तिबाटै उठ्नुपर्ने धारणा राखिन् । ‘महिलालाई यही गर्न हुँदैन, त्यो गर्न सक्दैनस् भनेर जहाँबाट दबाइएको छ,‘ उनले भनिन्, ‘अब त्यहीँबाट उठ्नुपर्छ ।'

समग्रमा महायुग मार्फत महिलाको सम्मानजनक अस्तित्व, चेतना र शक्तिको खोज गरिएको लेखिका सीमा आभासको भनाइ छ ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully