नयाँ पुस्ताको नेतृत्वबारे सौरभ–एकान्तको असहमति

होटल पोखरा ग्रान्डमा भएको बुकहिल बुकान्जाको पहिलो सत्र ‘असहमति–तन्त्र’ मा उनीहरूले समकालीन राजनीति, नेतृत्व र शासकीय प्रवृत्तिमाथि आलोचनात्मक धारणा राखे ।

पुस २६, २०८२

दीपक परियार

Saurabh-Ekant disagree on new generation leadership

What you should know

पोखरा — समाज, संस्कृति र इतिहासका स्थापित भाष्यहरूमाथि प्रश्न उठाउँदै आएका विश्लेषक सौरभ र सनातन परम्परा तथा संस्कृतिलाई राष्ट्र निर्माणको आधार मान्ने लेखक एकान्त शर्माले शनिबार पोखरामा एउटै मञ्चबाट आफ्ना फरक–फरक असहमति सार्वजनिक गरे ।

बुकहिलको आयोजना तथा र्‍यान्डम रिडर्स सोसाइटीको सहआयोजनामा होटल पोखरा ग्रान्डमा भएको बुकहिल बुकान्जाको पहिलो सत्र ‘असहमति–तन्त्र’ मा उनीहरूले समकालीन राजनीति, नेतृत्व र शासकीय प्रवृत्तिमाथि आलोचनात्मक धारणा राखे ।

कार्यक्रममा बोल्दै विश्लेषक सौरभले नयाँ पुस्ताले देशको शासनसत्ता हातमा लिए तत्कालै अस्थिर अवस्था देखिन सक्ने टिप्पणी गरे । ‘नयाँ पुस्ताले राज्य शासन आफ्नो हातमा लियो भने सुरुका सात दिन नेपालमा आगो बल्छ जस्तो लाग्छ,’ उनले भने, ‘स्पष्ट दृष्टि, सोच र विचारको अभाव देखिन्छ ।’

सौरभले २०३० सालमा सिंहदरबारमा आगलागी हुँदा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको प्रसंग स्मरण गरे । त्यसको तुलना गर्दै उनले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा सिंहदरबारसहित विभिन्न स्थानमा आगजनी हुँदा कसैले जिम्मेवारी नलिएको भन्दै असहमति जनाए । ‘त्यतिबेला प्रत्यक्ष दोष नदेखिँदा पनि प्रधानमन्त्रीले राजीनामा दिए,’ उनले भने, ‘आज सहरमा र सिंहदरबारमै आगो लाग्दा पनि कसैले जिम्मेवारी लिँदैन ।’

उनका अनुसार वर्तमान राजनीतिक नेतृत्वप्रति आमनागरिकमा गहिरो आक्रोश छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालप्रति जनआक्रोशको स्तर देखाउँदै उनले व्यंग्यात्मक टिप्पणी गरे । ‘यदि कसैले ती तीन नेतालाई उठाएर लग्यो भने पनि धेरैले सार्वभौमसत्तामाथि आघात भयो भन्ने ठान्दैनन्,’ उनले भने, ‘बरु सात रात दीपावली मनाउने अवस्था छ ।’

कार्यक्रममा दुवै वक्ताले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको कार्यशैलीप्रति पनि आलोचना गरे ।

महानगरले सडक खुला बनाउने नाममा सडक व्यवसायी हटाएको विषयमा लेखक एकान्तले काठमाडौं केवल एक सहर मात्र नभई देशको राजधानी भएको तर्क अघि सारे । ‘काठमाडौं मेरो लागि केवल काठमाडौं होइन, यो देशको राजधानी हो,’ उनले भने, ‘पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नागरिक यहाँ आएर जीवनयापन गर्न पाउनुपर्छ ।’

सौरभले पनि उक्तप्रति धारणा समर्थन गर्दै सडक व्यवसायी हटाउँदा त्यसले ठूलो सामाजिक प्रभाव पारेको बताए । ‘एक लाख सडक व्यवसायी हटाउँदा करिब चार लाख मानिसको जीवनयापन प्रभावित हुन्छ,’ उनले भने । उनले काठमाडौं महानगरपालिकामा अर्बौं रुपैयाँ बजेट खर्च हुन नसकी थुप्रिएको दाबीसमेत गरे ।

काठमाडौंको नेतृत्वले स्थानीय तहको सीमित सोचभन्दा माथि उठेर काम गर्नुपर्नेमा एकान्तले जोड दिए । ‘काठमाडौं महानगर चलाउनेहरूले वडाध्यक्षजस्तो व्यवहार गर्नु हुँदैन,’ उनले भने, ‘राजधानीको प्रमुख हुँ भन्ने सोचले यहाँ बस्ने सबै नागरिकको अवस्थालाई समेटेर सोच्नुपर्छ ।‘

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully