कुम्हालेको चक्रदेखि जीवनका आरोह अवरोहसम्मका सशक्त प्रेरणादायी किस्सा समेटिएको राजेश अवालेको पुस्तक ‘अक्षरमा सात दशक’ लोकार्पण गरिएको छ ।
काठमाडौँ — धातुहस्त मूर्तिकलाकार राजेश अवालेको आत्मवृत्तान्त ‘अक्षरमा सात दशक’ सातदोबाटो ललितपुरमा लोकार्पण भएको छ ।किताबमा कुम्हालेको चक्र, माटो र जीवन सहित ४२ अध्याय समावेश छन् ।
किताबमा उनको बाल्यकाल, युवावस्था, मूर्तिकला क्षेत्रमा स्थापित हुन गरिएका अनेक आरोह–अवरोहका संघर्षशील दिनहरू लिपिबद्ध छ । उनको सुख–दुःख, सफलता असफलता र संयोग–वियोगका चरणले किताब रोचक बनेको छ । अवालेको जीवन–संघर्षलाई लेखक नानी हेरा शाक्यले लिपिबद्ध गरेकी हुन् । आख्यानकार शैलेन्द्र अधिकारीले समीक्षात्मक अंश पनि किताबमा समावेश छ ।
किताबमा समावेश तत्कालीन समाजको वर्णनदेखि उतारचढावको किस्सा पढिसकेपछि विशेषतः युवावर्गलाई धैर्य लिएर काम गर्नुपर्छ भन्ने उर्जा थपिने विश्वास प्रकाशक कयो अवालेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र विशेष अतिथि ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य बज्राचार्य थिइन् । किताबको अन्तर्कियात्मक लोकार्पण समारोहमा शैलेन्द्र अधिकारी, वरिष्ठ धातुमूर्ति कलाकार सन्तकुमार शाक्यसहित रुद्रवर्ण महाविहार संरक्षण समितिका अध्यक्ष काजीरत्न शाक्य, महाबुद्ध मन्दिर संरक्षण समितिका अध्यक्ष महेन्द्रानन्द शाक्य, वरिष्ठ कलाकार तथा प्राज्ञ धर्मराज शाक्य, वरिष्ठ पौभा कलाकार लोक चित्रकार, वरिष्ठ प्रस्तरमूर्ति कलाकार चन्द्र श्याम डंगोल, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा मूर्तिकला विभाग प्रमुख तथा प्राज्ञ दिनेश्वर महत्तो र ललितपुर महानगरपालिकाका अध्यक्ष निर्मलरत्न शाक्यले आ–आफ्ना धारणा राखे ।
कुमार रञ्जितको प्रश्नमान शैलेन्द्र अधिकारीले भने, ‘किताबले एक मूर्तिकार हिँडेको जीवनका कठिन बाटोहरूमाथि विमर्श गर्छ । चार पुस्ता एकै अर्थात् मूर्तिकै पेशामा अडिनु नै निकै महत्वको उदाहरणीय तथ्य हो । यो किताब पढ्न नपाएको भए मैले वास्तविक कलालाई नबुझ्ने रहेछु ।’
‘कुम्हालेको घरमा जन्मेका र माटोसाग खेल्दै हुर्केका अवालेको पुस्तकले पञ्चतत्व र अनित्य जीवनको वास्तविकता उजागर गर्छ,’ लेखक नानी हेरा शाक्यले भनिन् । नारदमणि हार्तम्छालीले किताब प्राज्ञिक अध्येताका निम्ति उपयोगी हुने बताए ।
