सम्मेलनमा बृहत् स्तरको बौद्धिक विमर्श, कवि सम्मेलन, मिथिला समाजको विविध सांस्कृतिक झाँकी प्रदर्शन गरिने
मोरङ — मैथिली भाषा–साहित्य, मिथिला संस्कृति, सभ्यताको संरक्षण, संवर्द्धन गर्न शनिबारदेखि विराटनगरमा दुई दिने अन्तर्राष्ट्रिय मैथिली सम्मेलन–२०२५ हुने भएको छ ।
मैथिली एसोसिएसन नेपालद्वारा यही पुस १२ र १३ गते हुने सम्मेलनमा नेपाल–भारतलगायत अन्य मुलुकका एक सयजना मैथिलीभाषी प्रतिनिधिको सहभागिता रहने आयाजकले जनाएको छ ।
आयोजक मैथिली एसोसिएसनका अध्यक्ष प्रवीणनारायण चौधरीका अनुसार सम्मेलनमा बृहत् स्तरको बौद्धिक विमर्श, कवि सम्मेलन, मिथिला समाजको विविध सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ ।
त्यसैगरी मैथिली भाषा–साहित्यमा प्रकाशित पुस्तक प्रदर्शनी, मिथिला चित्रकला प्रदर्शनी, मिथिलाको पैराणिक परम्परा वेदपाठ, शङ्घघोषको प्रस्तुति, मिथिला खानाको परिकारको प्रदर्शनी, लोकनृत्य, लोकगीत, कवि सम्मेलन आदिलगायतका कार्यक्रम हुने बताइएको छ ।
‘भाषा नै मानव जीवनको मूल आधार हो, आफ्नो भाषा पहिले आफैं जोगाउन पर्छ, भाषा बाँचे मात्र सम्यता बाँच्न सक्छ’ भन्ने मूलमन्त्रका साथ सम्मेलनमा ११ बटा महत्वपूर्ण विषयमा प्रस्तुति हुने आयोजक संस्थाका उपाध्यक्ष पकज बर्माले बताए । सम्मेलनले विश्वभरका १० करोड मैथिलभाषीलाई जोड्ने अपेक्षा गरिएको छ ।
