लेखकद्वय सम्राट उपाध्याय र प्रवीण अधिकारीको संवादपछिको ८ कविले आफ्ना मन पर्ने कविता सुनाएका थिए ।
What you should know
काठमाडौँ — सांग्रिला लिटरेचर फेस्टिबलको तेस्रो ‘सांग्रिला संवाद’ मा लेखकद्वय सम्राट उपाध्याय र प्रवीण अधिकारीले आख्यान लेखन, शिल्प र विधिका विविध आयामहरूमाथि गहन विमर्श गरे ।
प्राध्यापक तथा लेखक उपाध्यायले आफ्नो लेखन प्रक्रिया तथा सिद्धान्तबारे खुलेर कुरा गरेका थिए । लेखन प्रक्रियामा आफूले के-कस्तो कथा भन्न खोजेको हो, त्यसमा अगाडि नै स्पष्ट हुनुपर्ने बताए ।
अधिकारीले कुनै थिमको सीमामा रहेर लेख्नुहुन्छ कि वा लेख्दै जाँदा थिम पत्ता लगाउनुहुन्छ भनेर सोधेको प्रश्नमा उपाध्यायको जवाफ थियो, ‘कम्तीमा पहिलो ड्राफ्टसम्म म थिमको बारेमा सोच्दिनँ, म त्यो लेख्दै जाँदा पाउँछु, मेरो लागि भन्ने कथा धेरै महत्वपूर्ण हुन्छ, त्यसैले पहिलो वा दोस्रो ड्राफ्टपछि मात्र म थिमको बारेमा सोचेर थोरै परिमार्जित गर्छु । थिम भनेको दोस्रो वा तेस्रो कुरा हो, कथा पहिलो हो ।’
उपाध्याय र अधिकारीको संवादपछिको दोस्रो सत्र 'कविता–वाचन'मा ८ कविले आफ्ना कविता सुनाएका थिए । कविहरू डा. नवराज लम्साल, भुवन थपलिया, हरिश अधिकारी, रजनीमिला, रमी प्रिया, अस्मिता वादी, देवव्रत र कृपा खनालले कविताको भव्य र सुन्दर काव्यिक माहोल सिर्जना गरे ।
कवि लम्सालको ‘मौन विद्रोहमाथि विकासको जुलुस,’ भुवन थपलियाको ‘व्हेर आर द रुट्स’, हरिश अधिकारीको ‘स्ट्याण्डीङ अन ड बोर्डर: २०१५’, र ‘ओ माइ आइज’, रजनीमिलाको ‘नोस्टालजिया’, रमी प्रियाको ‘चिसोले च्याप्दै लगेको सहर', देव व्रतको ‘तिमी गए पनि हुनेछ प्रेम’, अस्मिता वादीको ‘काब्राको रुख’, र कृपा खनालको ‘टु मिनेट्स’ कविताले दर्शक–स्रोतालाई भावुक र मन्त्रमुग्ध बनाइरह्यो ।
ललितपुरको मोक्ष रेस्टुरेन्ट एन्ड बारमा भएको कार्यक्रममा सयभन्दा बढी लेखक एवम् पाठकहरूको उत्साहजनक सहभागिता थियो ।
सांग्रिला लिटरेचर फेस्टिबलका निर्देशक केन सुवेदीका अनुसार काठमाडौं सांग्रिला फाउन्डेसनले केही महिनाभित्रै प्रथम फेस्टिभलको आयोजना गर्नेछ, जसमा देश र विदेशका कलाकार, लेखक, चिन्तक, तथा बुद्धिजीवीबीच विविध मुद्दामा विचार-विमर्श हुनेछ ।
