'लेखक काठमाडौं छाडेर मधेश झर्न सक्छ, हिमाल उक्लन सक्छ'

अनुवाद-कर्ममाथि गरिएको विमर्शमा लेखकहरू भन्छन्- 'हामी नेपालको मात्र लेखक हुन चाहन्नौं, संसारको हुन चाहन्छौं । त्यसका लागि अनुवाद जरुरी छ ।'

पुस ६, २०८२

समर्पण श्री

'A writer can leave Kathmandu and go to Madhesh, climb the mountains'

What you should know

काठमाडौँ — नेपाल प्रज्ञा प्रतिष्ठान डबलीमा शनिबार ‘फाइनप्रिन्ट फिभर’मा एउटा सेसन थियो– ‘कस्तो भाषान्तर, कति भावान्तर ?’

अनुवादमाथि विमर्श चलिरहेका बेला सहजकर्ताले प्रश्न गरे, ‘नेपाली पुस्तकको अंग्रेजी अनुवाद पाठकले किन पढ्ने ?’

लेखक अमर न्यौपानेले मननयोग्य उदाहरण समेट्दै प्रस्ट्याए, ‘हामी पनि नेपालको लेखक हुन चाहन्नौं, संसारको हुन चाहन्छौं । त्यसको लागि खासमा यो अनुवाद गरिएको हो ।’

मञ्चमा थिए, लेखकद्वय न्यौपाने र नयनराज पाण्डे अनि अनुवादक निरञ्जन कुँवर ।

न्यौपानेको उपन्यास 'सेतो धरती'को अंग्रेजी संस्करण 'द ह्वाइट लाइफ' नामबाट  प्रकाशनमा आएको छ भने पाण्डेको 'सल्लीपिर'को पनि अंग्रेजी अनुवाद 'अल्फाबेट्स इन द स्नो' सार्वजनिक भइसकेको छ । हिमाली पात्रको ठिहिर्‍याउने दु:खका कथा भन्ने उपन्यास ‘सल्लीपिर’लाई अनुराग बस्नेत  र विधवाको कथा भन्ने ‘सेतो धरती’लाई निरञ्जन कुँवरले अंग्रेजीमा अनुवाद गरेका हुन् । 

यिनै अनूदित किताबमाथि विमर्श चलिरहँदा न्यौपानेले थपे, 'साहित्यको कुनै देश हुँदैन । अमेरिकाको संविधानले अमेरिकामा मात्र शासन गर्छ । त्यो देशमा मात्र लागू हुन्छ । तर अमेरिकाको लेखक अमेरिकाको मात्र हुन चाहन्न । संसारकै हो ।’

लेखक पाण्डेले आफ्ना अनुभवहरू साट्दै अनुवादका जटिलता र सौन्दर्यबारे सम्झिए । ‘सल्लीपिर’को सुरुवात र अन्त्यमा जुन कविता छ, त्यसको अनुवाद सौन्दर्यलाई पाण्डेले तारिफ गरे । ‘मैले त्यो कविता कस्तो भयो भनेर हेरेँ । अनुवाद एकदमै मिठो लाग्यो,’ उनले थपे, ‘कहिलेकाहीँ लेखकको अपेक्षा मैले जे लेखेको थिएँ ठ्याक्कै त्यस्तै आउनुपर्थ्यो भन्ने हुँदो रहेछ । एकदम शब्दानुवाद जस्तो खोज्दा रहेछौं ।’

तर अनुवादमा त्यो सम्भव छैन । दुई दशक आफूले शब्दलाई दृश्यकरण गर्दाका अनुवाद कर्म सम्झिँदै उनले भने, ‘शब्दलाई हेर्ने कथामा रुपान्तरण गर्दा कति चुनौती आउँछन् थाहा थियो । पढ्ने चिजलाई शब्दमै रुपान्तरण गर्दा झन् चुनौतीपूर्ण होला लाग्थ्यो ।’

त्यसकारण अनुवादकले कवितालाई जीवन्त राखेर गरिएको अनुवादले पाण्डेलाई सन्तुष्टि दियो । भाषा जानेर मात्र कहाँ राम्रो अनुवाद हुन्छ भन्ने लाग्छ उनलाई । लेखकको अनुभूति बुझेर गरिने अनुवादमा उनको दिलचस्पी छ । उनले अनुभव र अनुभूतिको मिश्रणसहित भने, ‘अनुवादकमा त विलक्षण कला हुनुपर्दो रहेछ ।’

प्रकाशनको दशक लामो यात्रा कटाइसकेको ‘सल्लीपिर’ आउँदा पाठक र समीक्षकमाझ उतिबेला केही पिर सुनिएको थियो । भनियो पनि, ‘नयनले यो नलेखेको भए हुन्थ्यो ।’

उनी मधेशमा हुर्किए । आफू नउक्लिएको हिमालको कथा कसरी लेखे ? तारन्तार आइरहने प्रश्नहरुको जवाफ उनले ‘फाइनप्रिन्ट फिभर’को यो मञ्चबाट दिए ।

छेउमै बसेका लेखक न्यौपानेको उदाहरण थप्दै भने, ‘अमरजीले पनि नेपालगन्ज गएर गजबका कथा लेख्नुभयो ।’ नेपालमा लेखकले आफ्नो परिवशेको मात्र कथा लेख्नुपर्छ भन्ने मान्यता रहेको औंल्याउँदै उनले चिर्ने प्रयास गरे, ‘आफ्नो परिवेशको भन्दा पत्यारिलो होला । तर त्यही मात्र पनि सही भनेर बसिरहने हो भने पुस्तक लेखनको अभ्यास साँघुरिदै जान्छ ।’

सन् २०१३ मा रिलिज भएको फिल्म ‘ग्र्याभिटी’को उदाहरण दिँदै प्रस्ट्याए, ‘यो सिनेमाका एक-दुई सिनबाहेक सिँगै अन्तरीक्षमा छ । तर लेखक अन्तरीक्षमा त गएको होइन । एउटा लेखक काठमाडौं छाडेर मधेश झर्न सक्छ, हिमाल उक्लन सक्छ ।’

लेखकद्वयमाझ बसेका अनुवादक कुँवरले आफूले ‘सेतो धरती’ अनुवाद गर्न पाउँदा महसुस गरेको खुसीबारे सुनाए । उनले कोभिडकालको सुरुवाती समयबाट यसको थालनी गरेको सम्झिए । ‘सबै घरमा थुनिएको बेला मैले यो पुस्तक अनुवादको मौका पाएको थिएँ । मैले दुई वर्ष त नियमित रुटिन बनाएरै यसमा ध्यान केन्द्रित गरेँ,’ उनले भने ।

न्यौपाने पनि १४ वर्षअघि प्रकाशित भएको पुस्तकको सुखद यात्रा सम्झँदै रोमाञ्चित भए । यो अनौठो कथा अरुले पनि पढ्नुपर्छ भन्ने लाग्थ्यो उनलाई । त्यो सुन्दर संयोगहरूको पर्खाइमा थिए ।

अहिले अनुवाद भएर आएको पुस्तक सुमसुम्याएपछि उनलाई के लाग्यो भने कुनै पुस्तकको प्राण त त्यही हो, आत्मा पनि त्यही हो । त्यसको फर्म र भाषा मात्र फरक रुपमा आउने हो ।

न्यौपानेले डेढ दशकअघिका ती दिन सम्झिए, जहाँबाट यो कथा अंकुराएको थियो । ०६७ सालमा देवघाट पुग्दा उनले यति मात्रै सोचेका थिए, ‘बुढाबुढीहरूको कथा लेख्छु ।’ तर यात्रामा भेटिएकी वृद्ध पात्र र उनको अतीततका लामा सुस्केराले अमरको सोचाइलाई नै मोडिदियो ।

यो पुस्तक आज पनि उत्तिकै पाठकहरूको निम्ति मनप्रिय छ । 

‘फाइनप्रिन्ट फिभर’मा अन्य छलफल पनि थिए । ‘आख्यानमा इतिहास’मा लेखकद्वय नीलम कार्की निहारिका र केशव दाहालले संवाद गरेका थिए । सम्राट उपाध्यायको पुस्तक ‘डार्कमदरल्यान्ड’माथि सम्राट र रिभा थापाले विमर्श गरेका थिए । 

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully