प्रज्ञाप्रतिष्ठानको डबलीमा 'फाइनप्रिन्ट फिभर' हुँदै

सम्राट उपाध्याय, नीलम कार्की निहारिका, अमर न्यौपाने, नयनराज पाण्डे, निरञ्जन कुँवर, स्नेहा प्रधान, केशव दाहाललगायत सहभागी हुने

पुस ४, २०८२

कान्तिपुर संवाददाता

'Fineprint Fever' is taking place in the Academy's lobby

What you should know

काठमाडौँ — फाइनप्रिन्ट बुक्सले नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा भोलि शनिबार, ५ पुसमा घुम्ती साहित्य महोत्सव फाइनप्रिन्ट फिभर को काठमाडौं संस्करण आयोजना गर्दैछ । गत कात्तिकमा चितवनबाट सुरु भएको यो महोत्सव पोखरा, सुर्खेत, नेपालगञ्ज र दाङ हुँदै काठमाडौं आइपुगेको हो ।

सम्राट उपाध्याय, नीलम कार्की निहारिका, अमर न्यौपाने, नयनराज पाण्डे, निरञ्जन कुँवर, स्नेहा प्रधान र केशव दाहाललगायत सहभागी हुने उक्त महोत्सवमा चार सत्र रहनेछन् ।

पहिलो सत्रमा मदन पुरस्कार प्राप्त कृतिकी लेखिका नीलम कार्की निहारिका र मोक्षभूमि लगायतका पुस्तकका लेखक तथा राजनीतिक टिप्पणीकार केशव दाहालबीच “आख्यानमा इतिहास” विषयमा कुराकानी हुनेछ ।

दोस्रो सत्रमा बेलायतमा पहिलोपटक प्रकाशित ‘ग्राफिक कमिक’ यल्प !यती !केयोस इन काठमाडौं की लेखिका स्नेहा प्रधानसँग प्रकाशक तथा महोत्सव निर्देशक मोनिता गुरुङले उक्त पुस्तकलाई केन्द्रमा राखेर संवाद गर्नेछिन् ।

तेस्रो सत्रमा मदन पुरस्कार विजेता अमर न्यौपाने, आख्यानकार नयनराज पाण्डे तथा लेखक–अनुवादक निरञ्जन कुँवरले लेखिका आल्फा शाक्यसँग “कस्तो भाषान्तर, कस्तो भावान्तर” विषयमा छलफल गर्नेछन् । फाइनप्रिन्ट फिभरमा सेतो धरती र सल्लीपिर का अंग्रेजी अनुवादको सार्वजनिकरण हुने सन्दर्भमा यो छलफल आयोजना गरिएको हो ।

चौथो सत्रमा नेपाली-अमेरिकी लेखक सम्राट उपाध्यायको नयाँ ‘डिस्टोपियन’ उपन्यास डार्कमदरल्याण्ड माथि उद्यमी तथा फोटोग्राफर रिभा थापाले कुराकानी गर्नेछिन् । उक्त सत्रमा अमेरिकाको सोहो प्रेसबाट प्रकाशित उपन्यासको नेपाली संस्करणको विमोचनसमेत हुनेछ ।

फाइनप्रिन्टका लेखक र पुस्तकलाई ‘सेलिब्रेट’ गर्न तथा पुस्तक बजारलाई चलायमान बनाउने उद्देश्यले फाइनप्रिन्ट फिभर आयोजना गरिँदै आएको यसका परिकल्पनाकार नीरज भारी बताउँछन् । २०८२ सालको फाइनप्रिन्ट फिभर काठमाडौंपछि इटहरी र बिर्तामोड  हुँदै पश्चिमतर्फ धनगढी पुगेर समापन हुनेछ ।

दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने फाइनप्रिन्ट फिभरको काठमाडौं संस्करणमा चार पुस्तकको विमोचन, लेखकहरूसँग पुस्तक हस्ताक्षर कार्यक्रम तथा विशेष छुटसहितको पुस्तक प्रदर्शनी रहनेछ ।

कान्तिपुर

Link copied successfully