लेखक दाहालले भारतीय नेपालीहरूको स्वार्थलाई केन्द्रमा राखेर भारतीय संविधान नेपालीमा अनुवाद गर्ने आफ्नो पहल सफल भएको उल्लेख गरे।
सिलिगुडी — सिक्किमवासी सर्जक कुबेरचन्द्र दाहालद्वारा लखित उपन्यास ‘टिस्टा–रङ्गीत’ सिलिगुडीमा लोकार्पण भएको छ। उत्तरबङ्ग विश्वविद्यालयका पूर्व प्राध्यापक लक्ष्मीकान्त शर्माले, साहित्य चौतारी सांस्कृतिक प्रतिष्ठान, बिर्तामोड़का अध्यक्ष एवं संरक्षक देवीभक्त श्रेष्ठ, प्राध्यापक मोहन पी. दाहाल र सर्जक कुबेरचन्द्र दाहालले संयुक्त रूपमा लोकार्पण गरेका थिए।
प्रसिद्ध गायक, नाट्यकार तथा साहित्यकार जगदीश शर्माले कृतिको टिप्पणी गरे। सर्जक संवाद सत्रमा वरिष्ठ पत्रकार एवं बुद्धिजीवी अशोक प्रशान्तसँग संवाद गर्दै लेखक दाहालले भारतीय नेपालीहरूको स्वार्थलाई केन्द्रमा राखेर भारतीय संविधान नेपालीमा अनुवाद गर्ने आफ्नो पहल सफल भएको उल्लेख गरे।
उनले उक्त अनूदित कृतिको तेस्रो संस्करणसम्म प्रकाशन भइसकेको प्रसङ्ग स्मरण गराउँदै भने, 'टिस्टा–रङ्गीत सिक्किम र दार्जीलिङबीचको भाषिक–सांस्कृतिक सम्बन्धलाई सिर्जनात्मक दस्तावेजका रूपमा प्रस्तुत गर्ने उद्देश्यले लेखिएको हो।'
भारतीय नेपालीहरूले भोग्दै आएको पीडा, पहिचान र विस्थापनको सङ्कटलाई उपन्यासको केन्द्रीय विषय बनाइएको पनि उनले बताए।
समारोहमा लक्ष्मीकान्त शर्मा र वरिष्ठ सङ्गीतकार जीवन अधिकारीलाई सम्मान गरिएको थियो। कार्यक्रममा कवि लीला अनमोलले कविता पाठ गरिन्। साथै सर्जकको परिचयसम्बन्धी श्रव्य–दृश्य प्रस्तुति राखिएको थियो भने उत्तम अधिकारी र जुनु गौतमले गीत प्रस्तुत गरेका थिए। बुकआन्ट पब्लिकेसन्सले कृति प्रकाशित गरेको हो ।
