साहित्यकार एवम् पत्रकार डा. निमेष निखिलले पुस्तकका विविध पक्षमा समीक्षा गरे । पुस्तकमाथि चर्चा गर्दै निखिलले सरल र वर्णनात्मक तथा विवरणात्मक भाषाको प्रयोग गरी ऐतिहासिक पात्र बखानसिंह गुरुङको जीवनी र त्यससँग सम्बन्धित रहेर ऐतिहासिक उपन्यास लेखिएको बताए ।
What you should know
काठमाडौँ — साहित्यकार एवम् पत्रकार वसन्त पराजुलीको तेस्रो कृति बखानमाथि हेटौँडामा परिचर्चा भएको छ ।
नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा शुक्रबार ऐतिहासिक उपन्यास बखानको विषयवस्तु र विविध पक्षबारे परिचर्चा गरिएको हो ।
साहित्यकार एवम् पत्रकार डा. निमेष निखिलले पुस्तकका विविध पक्षमा समीक्षा गरे । पुस्तकमाथि चर्चा गर्दै निखिलले सरल र वर्णनात्मक तथा विवरणात्मक भाषाको प्रयोग गरी ऐतिहासिक पात्र बखानसिंह गुरुङको जीवनी र त्यससँग सम्बन्धित रहेर ऐतिहासिक उपन्यास लेखिएको बताए ।
कुनै विषय र सन्दर्भको भित्री तहसम्म पुग्न गहिरोसँग व्यक्ति तथा सन्दर्भहरूको प्रयोग गर्ने विशेषता लेखकमा रहेको उनले जनाए ।
बखानसिंह चितवनमा बस्ती बसाउन अगुवाइ गर्ने तथा चितवनमा नेपालकै पहिलो सहकारी बखान ऋण सहकारी संस्था स्थापना गर्ने व्यक्ति हुन् । उनी २००७ सालको जनक्रान्तिका एक योद्धा पनि हुन् ।
शाही सेनाको क्याप्टेन पदको जागिर छाडेर राणाविरोधी क्रान्तिमा होमिएका उनले क्रान्तिकै क्रममा दुई छोरासमेत गुमाएका थिए ।
गुरुङको जीवनका विविध सङ्घर्षमय क्षणहरूको रोचक चित्रणले उपन्यास जीवन्त बनेको समीक्षक निखिलको भनाइ छ ।
चित्रसेन बाबाको मन्दिरको कथा, सोमेश्वर गढी तथा त्यहाँ रहेको मन्दिरको कथा, उपरदाङ गढीको सन्दर्भ, देवघाटको प्राचीनताको कथा, चितवन राष्ट्रिय निकुञ्जको स्थापना र यहाँ राजपरिवार तथा विदेशीहरूले शिकारका नाममा गरेको जङ्गली जनावरहरूको सिकारको नृशंस कथा उपन्यासमा अनुसन्धानमूलक ढङ्गले समेटिएको निखिलको विश्लेषण छ।
२००७ सालको राणाविरोधी जनक्रान्ति, २०१७ सालमा राजा महेन्द्रले गरेको कु, त्यसपछि नेपाली काङ्ग्रेसको नेतृत्वमा भएको विद्रोह, पुलिमराङदेखि बन्दीपुरसम्मका तत्कालीन सन्दर्भ, चितवनमा बस्ती विकासका प्रारम्भिक दिनको कथा कलात्मक रूपमा बुनिएको भन्दै उपन्यास रुचिकर रहेको निखिलको भनाइ छ।
उपन्यासमार्फत उपन्यासकार पराजुलीले आफ्नो जिल्ला चितवन र यहाँ रहेका विशिष्ट स्थान तथा ऐतिहासिक सन्दर्भहरूलाई चिनाउने प्रयास गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए।
सहकारीकर्मी, राजनीतिकर्मीदेखि सबैका लागि उपन्यास पढनीय र सङ्ग्रहणीय बनेको उनको तर्क छ ।
