केन्द्रको १३औं स्थापना दिवसका अवसरमा कला र साहित्यका क्षेत्रमा सिर्जनाका माध्यमबाट योगदान पुर्याएका स्रष्टाहरुलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।
काठमाडौँ — बालवाङ्मय तथा अनुसन्धान केन्द्रले आफ्नो १३औं स्थापना दिवसका अवसरमा कला क्षेत्रमा सिर्जनाका माध्यमबाट योगदान पुर्याएका स्रष्टाहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
शनिबार नक्सालस्थित नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानमा आयोजना गरिएको कार्यक्रममा ‘साहित्य–सृष्टि बालवाङ्मय साधना सम्मान–२०८२’बाट कलाकार कृष्णभक्त महर्जनलाई प्रदान गरिएको छ ।
कलाकार महर्जनलाई वरिष्ठ कलाकार हरिहर शर्मा, पुरस्कार संस्थापक तथा केन्द्रका सल्लाहकार प्रमोद प्रधान, केन्द्रका अध्यक्ष अनन्त वाग्ले लगायतले नगद २५ हजार रुपैयाँ, सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरे । यसअघि यो सम्मानबाट स्रष्टाहरू शान्तदास मानन्धर, टेकवीर मुखिया, नूपुर भट्टाचार्य सम्मानित भइसकेका छन् ।
त्यस्तै, ‘राकुपा बालबाङ्मय बाल पुस्तक पुरस्कार–२०८१’बाट ‘बालापनका धर्साहरू’ पुस्तकका लागि आर्या त्रिपाठी, ‘केके कर्माचार्य बालवाङ्मय चित्रकला सम्मान २०८२’बाट चित्रकार देवेन्द्र पाण्डे ‘देवेन’ र ‘जयहिरा बालबाङ्मय किशोर आख्यान पुरस्कार–२०८१'बाट पुस्तक ‘कालग्रन्थ’का लागि रोशन पोखरेल सम्मानित भए । सम्मानित सबैलाई वरिष्ठ कलाकार शर्मा, केन्द्रका अध्यक्ष वाग्ले, पुरस्कारका संस्थापकहरू केके कर्माचार्य, सिर्जना शर्माले जनही १० हजार रुपैयाँ नगद तथा सम्मान पत्र हस्तान्तरण गरे ।
‘साहित्य–सृष्टि बालवाङ्मय साधना सम्मान’, ‘राकुपा बालबाङ्मय बाल पुस्तक पुरस्कार’, ‘केके कर्माचार्य बालवाङ्मय चित्रकला सम्मान’ र ‘जयहिरा बालवाङ्मय किशोर साहित्य पुरस्कार’ क्रमशः सर्जकहरू प्रमोद प्रधान, रामकुमार पाँडे, केके कर्माचार्य र सिर्जना शर्माले स्थापना गरेका हुन् ।
संस्था खोल्नु गाह्रो होइन, त्यसलाई निरन्तरता दिन गाह्रो रहेको बताउँदै कलाकार शर्माले केन्द्रको अझै प्रगतिको कामना गरे । शर्माले राष्ट्रको परिचय माटो मात्र नभएको धारणा राखे । उनका अनुसार हामीले अपनाएको कला, सभ्यता र संस्कृति पनि राष्ट्र हो । यसको जरालाई बलियो बनाएर लैजानलाई उनले आग्रह गरे । उनले भने, 'बालबालिका भविष्यको कर्णधार हो । बालसाहित्यको विषय, शैली र प्रस्तुति जस्तोसुकै भएपनि बालबालिकालाई शिक्षा दिने, सन्देशमूलक र बालबालिकाको मनोविज्ञानकलाई कालान्तरसम्म छुने हुनुपर्छ ।'
केन्द्रका अध्यक्ष वाग्लेले सम्मानित तथा पुरस्कृत सबैलाई बधाई ज्ञापन गर्दै बालवाङ्मय तथा अनुसन्धान केन्द्रले १३ वर्षको यात्रा गर्दै गर्दा अझै जिम्मेवार र सचेत भएर अगाडि बढ्नुपर्ने बताए ।
नयाँ आउने बालबालिकालाई चरित्रवान् बनाउन नेपाली नाटक, कथा जस्ता साहित्य सिर्जनाले सघाउन सक्ने बताउँदै केन्द्रका सल्लाहकार प्रधानले साहित्य सिर्जनाले नै योग्य भएका बालबालिकामार्फत देश निर्माण हुन सक्ने धारणा राखे ।
सम्मानित र पुरस्कृत व्यक्तित्वहरुलाई पुरस्कारका संस्थापक एवं केन्द्रका सल्लाहकारहरू कर्माचार्य र शर्माले बधाई ज्ञापन गर्दै आगामी कला सिर्जनाका लागि शुभकामना व्यक्त गरे ।
सम्मानित कलाकार महर्जनले सम्मानप्रति केन्द्रप्रति आभार व्यक्त गर्दै जंगबहादुरको विषयमा नाटकसमेत प्रस्तुत गरेका थिए ।
केन्द्रका सल्लाहकार तारानिधि भट्टराईले पुरस्कृत 'बालापनका धर्साहरू' र 'कालग्रन्थ'माथि चर्चा गरे ।
कार्यक्रममा ज्ञानवृक्ष पब्लिकेशनले प्रकाशित गरेको मानवीय भावना र संवेदनाहरू विषयवस्तु बनाएर सिर्जना गरिएको संयुक्त बालकथा संग्रह ‘मनसा’ समेत सार्वजनिक गरियो । संग्रहमा २० जना बाल कथाकारका बाल कथाहरू समावेश छन् ।
साहित्यकार, चित्रकार, पत्रकार, कलाप्रेमी व्यक्तित्वहरू सहभागी भएको कार्यक्रममा केन्द्रका महासचिव शान्ति सापकोटाले सञ्चालन गरेकी थिइन् ।
