यदि मसँग कलम नभएको भए बन्दुक हुन्थ्यो होला : जसिन्ता केरकट्टा

भारत झारखण्ड राज्यको आदिवासी समुदायकी कवि तथा पत्रकार जसिन्ता केरकट्टा भन्छिन् : भारतमा सरकारले आदिवासीलाई सशस्त्र संघर्ष गरिरहेको कम्युनिस्ट समूह नक्सलवादी भनेर कारबाही गर्दै पुँजीपतिका लागि जंगल नष्ट गरिरहेको छ । 

मंसिर २६, २०८२

रमेशकुमार पौडेल

If I didn't have a pen, I would have a gun: Jacinta Kerkatta

What you should know

चितवन — भारत झारखण्ड राज्यको आदिवासी समुदायकी कवि तथा पत्रकार जसिन्ता केरकट्टाको विद्वत् प्रवचनसँगै शुक्रबारदेखि ‘चित्तौन कचेहेरी’को तेस्रो शृङ्खलाको मुख्य गतिविधि छलफलका सत्रहरूको सुरुवात भएको छ । अभिवादन अर्थात आफ्नो भाषामा ‘जोहार’ भन्दै उनले आदिवासी ज्ञान र उनीहरूमाथि हुने गरेको अत्याचारका बारेमा बोल्न सुरु गरिन् ।

जसिन्ता भारतकै प्रख्यात कवि हुन् । त्यसैले कविताबाटै उनले प्रवचन सुरु गरिन् । पुराना राजा र अंग्रेज शासकहरूले पनि सम्मान गर्दै आएको उनीहरूको इलाकाको आदिवासी समाजलाई पछिल्लो समय विकासले पार्दै ल्याएको असरहरूका पाटा उनले खुलाउँदै गइन् ।

आदिवासी लक्षित गलत भाष्य र उनीहरूमाथि हुने सामूहिक हिंसाविरुद्ध आफूले कविता र समाचार लेख्न सुरु गरेको उनले बताइन् । ‘यदि मेरो हातमा कलम हुने थिएन भने बन्दुक हुन्थ्यो होला,’ उनको भनाइ थियो । आदिवासी समाजमा जस्तो लोकतान्त्रिक चरित्र अरु समुदायमा नहुने उनले बताइन् । हिन्दु जात व्यवस्था आदिवासीको यो चरित्रलाई ध्वस्त बनाउन उद्दत रहेको उनलेको टिप्पणी थियो । जंगल विनास र खनिज उत्खननसँगै आदिवासी इलाकामा अन्य राज्यका बासिन्दा आउन थालेपछि यो क्रम बढेको उनले सुनाइन् ।

‘आदिवासीहरू मान्छेकै बलि दिने चरित्रका हुन् भनेर गलत र झुटो भाष्य बनाएर हामीमाथि हुने सामूहिक हिंसालाई जायज ठहर गर्न लागियो । मूलधार भनिने मिडिया, सिनेमा, सत्ता र शक्ति सबैको ध्यान अहिले आदिवासीमा छ,’ उनले भनिन् । भारतमा आदिवासीलाई सशस्त्र संघर्ष गरिरहेको कम्युनिस्ट समूह नक्सलवादी भनेर कारबाही गर्दै पुँजीपतिका लागि जंगल नष्ट गर्न सरकार लागेको उनले बताइन् ।

If I didn't have a pen, I would have a gun: Jacinta Kerkattaप्रकृतिका साथ मिलेर बसेका हुँदा आदिवासी जत्तिको देशभक्त अरु कोही नहुने उनले दाबी गरिन् । ‘उच्च र मध्यम वर्ग देश प्रेमका कुरा निकै गर्दछन् । तर हमेसा देश छाडेर भाग्न यही वर्ग तयार हुन्छ । देशमा समस्या आए भागेर विदेशमा बस्छन् । आदिवासी कहिल्यै भारत छाडेर भाग्दैनन् । आदिवासी देशप्रेमी हौं भनेर चिच्याउँदैनन् । तर आदिवासीलाई जत्तिको माटो, प्रकृति र देशप्रेम अरुलाई छैन,’ उनले भनिन् ।

उनले नाङ्गै खुट्टा गाउँaस्तीमा बसेका आदिवासीलाई जात व्यवस्थाले नयाँ दलित बनाउने प्रयास निकै गरिरहेको बताइन् । ‘आदिवासी समाजले प्रकृतिलाई र धरतीलाई साथै राखेर विकास गर्न चाहन्छन् । विकासको नाममा हुने लुट बेइमानीविरुद्ध आदिवासी समाज लडिरहने छ,’ उनले बताइन् । तर सत्ता नक्सलवादीको नाममा आदिवासीविरुद्ध उत्रने खतरा कायमै रहेको उनको भनाइ छ । 

If I didn't have a pen, I would have a gun: Jacinta Kerkatta‘चित्तौन कचेहेरी’ चितवनका आदिवासी समुदाय थारू भाषाको शब्दबाट राखेको नाम हो । बेटर चितवन आयोजक रहेको चित्तौन कचेहरी’मा बिहीबार साँझ कविता कचेहेरी सम्पन्न भयो । शुक्रबार र शनिबार गरेर विभिन्न १५ विषयका सत्र सञ्चालन हुने छन् । नारायणी कला मन्दिरमा सञ्चालन भइरहेको चित्तौन कचेहेरीको सह-आयोजकमा कला मन्दिरसहित थारू कल्याणकारिणी सभा चितवनलगायत ६ संघ संस्था रहेका छन् । 

चित्तौन कचेहेरीको यो श्रृङ्खलामा जेन-जी आन्दोलनका विषयमा दुईवटा सत्रमा छलफल हुने छ । त्यसैगरी चितवनका आदिवासी थारू समुदायका विषयमा पनि दुई वटा सत्र रहने छन् । सिनेमादेखि राजनीति, साहित्यदेखि पत्रकारितासम्म, समाजदेखि भुईंमान्छेका समस्याका विषयमा कचेहेरीमा बहस चल्ने आयोजक समितिका संयोजक इन्जिनियर सागर कार्कीले बताए । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully