संज्ञान विमर्शमा 'फिर्दोसको साँचो'

कथाकार श्रेष्ठको कथासंग्रहमाथि पाटन संयुक्त क्याम्पस, नेपाली विभागले विमर्श कार्यक्रम गरेको हो ।

मंसिर १२, २०८२

कान्तिपुर संवाददाता

'Key to Paradise' in cognitive debate

What you should know

काठमाडौँ — कथाकार राजबाबु श्रेष्ठ सागरको नवीन कथाकृति 'फिर्दोसको साँचो'माथि समालोचनात्मक विमर्श गरिएको छ । 

पाटन संयुक्त क्याम्पस, नेपाली विभागको 'संज्ञान विमर्श' अन्तर्गत चौथो शृंखलामा शुक्रबार कथाकृतिमाथि विमर्श भएको हो ।

नेपाली विभागका विभागाध्यक्ष सहप्राध्यापक माधव उपाध्यायको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा विभागका उपप्राध्यापक डा. शोभा ढुङ्गानाले श्रेष्ठको कृतिमाथि समालोचकीय टिप्पणी प्रस्तुत गरिन् । उनले श्रेष्ठका कथा आध्यात्मिक जीवन दर्शनमा आधारित भएको बताइन् । कथामा वर्गीय जटिलता अभिव्यक्त भएको सन्दर्भ प्रस्तुत गर्दै कथाकारको प्रस्तुति शिष्ट बन्न सके आगामी यात्रा अझै समृद्ध बन्न सक्ने विचार प्रस्तुत गरिन् ।

त्यस्तै, अर्का समालोचक उपप्राध्यापक विष्णु ज्ञवालीले अन्य साहित्यकारबाट नछोइएको द्वीप, श्रेष्ठले कथामा उठान गरेको धारणा राखे । उनले विषयवस्तुका हिसाबले यस कृतिका कथाको केन्द्रीय विषय मान्छे बनेको धारणा प्रस्तुत गरे । ज्ञवालीले प्रयोगशीलता कथाकार श्रेष्ठको विशेषता बनी प्रकट भएको अभिमत प्रस्तुत गरे । 

शुभकामना मन्तव्य राख्ने क्रममा उपप्राध्यापक डा. जीवन श्रेष्ठले नेपाली कथालेखनको यात्रामा श्रेष्ठको स्थान निर्धारण गर्नु समालोचकको कर्तव्य भएको बताए । उपप्राध्यापक डा. महानन्द जोशीले कथाको सैद्धान्तिक धरातल समाती अघि बढ्न सके कथाकारको कथाशिल्प मजबुत बन्ने अभिमत प्रस्तुत गरे ।

मिश्रित चेतनाका कथा लिएर श्रेष्ठ अघि बढेका भनी उपप्राध्यापक डा. सारदा लामिछानेले कथाकारको शक्तिमाथि चर्चा गरिन् । उपप्राध्यापक चतुर्भुज केवरतले अर्थका तहभित्र प्रवेश गरी कृतिको बोध गर्न पाठक स्वतन्त्र रहेको धारणा अघि सारे । विभागीय प्रमुख माधव उपाध्यायले कथाकार श्रेष्ठलाई शुभकामना दिँदै पाटन संयुक्त क्याम्पस, नेपाली विभागले यस प्रकृतिका विमर्श कार्यक्रम नियमित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

विभागका प्राध्यापक तथा स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरूको समुपस्थितिमा विभागले अबदेखि हरेक महिनाको अन्तिम शुक्रबार 'संज्ञान विमर्श' मा स्रष्टा, कृति, विचारक, विचार र सिद्धान्तमाथि छलफल तथा विमर्श गरी ज्ञाननिर्माणको अभियान अघि बढाउने योजना सार्वजनिक गरेको छ । 

कान्तिपुर

Link copied successfully