विराटनगरमा ‘महायुग’ विमर्श

कार्यक्रममा वक्ताहरूले उपन्यासमा प्रस्तुत ऐतिहासिक संवेदना, नारी चेतना र कथनशैलीका विविध आयाममाथि घनिभूत बहस गरे।

कार्तिक २९, २०८२

कान्तिपुर संवाददाता

'Mahayuga' discussion in Biratnagar

What you should know

विराटनगर — साहित्यकार सीमा आभासको उपन्यास 'महायुग’ माथि शनिबार विराटनगरमा साहित्यिक विमर्श भएको छ ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगर र बुकहिल काठमाडौंको संयुक्त आयोजनामा आरोहण गुरुकुलको सभाहलमा भएको कार्यक्रममा वक्ताहरूले उपन्यासमा प्रस्तुत ऐतिहासिक संवेदना, नारी चेतना र कथनशैलीका विविध आयाममाथि घनिभूत बहस गरे।

कार्यक्रमका मुख्य वक्ता पूर्वप्रशासक तथा लेखक डा. राजेन्द्र उप्रेतीले 'महायुग' नेपाली साहित्यमा नारी पीडा र प्रतिरोधको बहुआयामिक दस्तावेजका रूपमा स्थापित भएको मूल्यांकन गरे। परापूर्वकालदेखि निरन्तर दोहोरिँदै आएको लैंगिक विभेद र शोषणलाई उपन्यासले गहिरो संवेदनशीलताका साथ प्रस्तुत गरेको उल्लेख गर्दै उनले भने, 'उपन्यास पढिसकेपछि सीमा आभासको साहित्यिक व्यक्तित्व एकदम भिन्न र व्यापक रूपमा देखिन्छ।' उनका अनुसार 'महायुग’ उपन्यास मात्रै होइन, इतिहास र समाजको अन्तरगर्भमा थुनिएका नारी आवाजको उद्घोष पनि हो।

त्यस्तै, समीक्षक तथा प्राध्यापक डा. इन्दिरा मिश्रले उपन्यास नारी चेतना जागृत गर्ने प्रभावकारी कृति भएको धारणा राखिन्। ‘महायुग’ तीन पटक अध्ययन गरेको अनुभव सुनाउँदै उनले नारी असमानता, सांस्कृतिक बन्धन र दीर्घकालीन सामाजिक संरचना भित्रका शोषणका तहहरूलाई उपन्यासले अत्यन्त सूक्ष्म अनि सबल ढंगले उद्घाटन गरेको बताइन्।

परिचर्चा कार्यक्रम पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो। उपाध्यक्ष भूषण ढुंगेल, लेखक सीमा आभास, प्रकाशकका तर्फबाट गीतकार भूपेन्द्र खड्का, कवि शुभलक्ष्मी लम्साल, कवि धीरज राईलगायत वक्ताहरूले कृतिको भाषा, संरचना, सन्देश र साहित्यिक धाराबारे आफ्ना दृष्टिकोण प्रस्तुत गरे।

कार्यक्रममा लेखक र पाठकबीच प्रत्यक्ष अन्तरक्रिया पनि गरिएको थियो ।

सीमा आभासको 'महायुग’ लाई बुकहिल काठमाडौंले बजारमा ल्याएको हो। उपन्यासले समकालीन नेपाली साहित्यमा नारी–चेतना र इतिहास बोधको नयाँ विमर्शलाई बलियो बनाउँदै सार्थक उपस्थिति जनाएको साहित्यिक क्षेत्रका जानकारहरू बताउँछन्।

कान्तिपुर संवाददाता

Link copied successfully