काठमाडौंको प्रज्ञा–प्रतिष्ठानको डबलीमा शनिबार आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरियो ।
What you should know
काठमाडौँ — पत्रकार तथा लेखक ददि सापकोटाको छैटौं कृति ‘ज्ञानिका’ बजारमा आएको छ । काठमाडौंको प्रज्ञा–प्रतिष्ठानको डबलीमा शनिबार आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरियो । कार्यक्रममा लेखक सापकोटा र वन्यजन्तुविद् रमा मिश्रसँग पत्रकार विराट अनुपमले अन्तर्क्रियासमेत गरे ।
लेखक ददि सापकोटाले यस पुस्तकमा संरक्षणका क्षेत्रमा आफ्नो जीवन समर्पित गरेका २१ जना ‘ज्ञानिका’ का अनुभव र उनीहरुका आवाजलाई समेटेका छन् । प्रकृतिसँग जोडिएको मानवीय सङ्घर्ष, वैज्ञानिक खोज र संरक्षणका प्रेरणादायी अनुभव यस पुस्तकमा छन् । पाठकले यहाँ विज्ञानका तथ्य मात्र होइन, ती तथ्यलाई जीवन्तता दिने मानवीय अनुभव र भावना पनि पाउने वन्यजन्तुविद् रमा मिश्रले बताइन् । यस पुस्तकले हामीभित्र पर्यावरणप्रतिको चेतना बढाउने र प्रकृतिप्रति माया अनि सम्मान जगाउने उनको भनाइ छ ।
हिमालदेखि तराईसम्म फैलिएका विविध भौगोलिक र जैविक सम्पदाले भरिपूर्ण नेपाल साँच्चै प्रकृतिको अद्भुत कक्ष रहेको लेखक ददि सापकोटाले बताए । ‘नेपालले विश्वलाई सामुदायिक वन देखायो । शून्य सिकारको मन्त्र सुनायो,’ उनले भने, ‘होमस्टे जस्ता मौलिक अवधारणा पनि जन्मायो । तर यिनै उपलब्धिका ओझेलमा थुप्रै अदृश्य पात्र, चेतावनी र सम्भावना बााकी रहेछन् भन्ने हेक्का पनि मलाई दिलायो । यिनै कारण ‘ज्ञानिका’ पुस्तक लेख्न मलाई उत्प्रेरित गरेको हो ।’
हाम्रो वरिपरि रहेको प्राकृतिक संसार केवल खाने र बस्ने ठाउँ मात्र होइन । यो एउटा जीवित प्रणाली पनि हो, जसले हामीलाई निरन्तर सन्तुलन, ज्ञान र ऊर्जा प्रदान गरिरहेको उनको भनाइ छ । ‘विज्ञानमा हामीले तीव्र प्रगति गरिरहेका त छौं । तर मानव र प्रकृतिबीचको गहिरो सम्बन्ध बुझ्न र सिक्न अझै धेरै बााकी छ,’ सापकोटाले भने ।
चितवन राष्ट्रिय निकुञ्जका संस्थापक कर्मचारी हुँदै प्रमुखसमेत भएर योगदान दिएका रामप्रीत यादव, चितवनका सुरुवाती समयका वन्यजन्तु प्राविधिक हर्कमान लामा र विष्णु लामा, सामुदायिक वनको स्थापना र उत्थानमा लागेका तेजबहादुर सिं महतदेखि सुपरिचित वनस्पति अध्येयता डा. तीर्थबहादुर श्रेष्ठसम्मका कथा ‘ज्ञानिका’मा छन् ।
सालकबारे दत्तचित्त भएर लागेकी तुलसीलक्ष्मी सुवाल र मलाहा बिरालो अर्थात् फिसिङ क्याटबारे अध्ययन अनुसन्धान गरेकी रमा मिश्र र होमस्टेलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने रविभक्त पाण्डेका ज्ञानगुनका कुरा पनि किताबमा समेटिएको छ ।
