रवीन्द्र मिश्रको कवितासंग्रह ‘माथिको आदेश छ’ सार्वजनिक

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रममा जेन–जी युवा अनि कवि मिश्रले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे ।

कार्तिक १५, २०८२

कान्तिपुर संवाददाता

Rabindra Mishra's poetry collection 'Mathiko Aadesh Chha' released

काठमाडौँ — राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् लेखक रवीन्द्र मिश्रले ५० दिन प्रहरी हिरासतमा रहेका बखत लेखेका कविताहरूको संग्रह ‘माथिको आदेश छ’ सार्वजनिक गरिएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रममा जेन–जी युवा अनि कवि मिश्रले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे ।

‘नेपालमा हिरासतमा बसेर आत्मसंस्मरण लेखिएका छन्, दैनिकी लेखिएका छन्, उपन्यास लेखिएका होलान्, तर यसरी कविता लेखिएको मैले थाहा पाएको छैन,’ लेखक मिश्रले भने, ‘नेपालको सन्दर्भमा यो पुस्तक नयाँ प्रयोग हो कि भन्ने मेरो अनुमान छ ।’ तसर्थ आफ्नो जीवनमा यो कवितासंग्रहको विशेष अर्थ रहेको उनको भनाइ छ । यसअघि तयार अर्को कवितासंग्रहलाई थाती राखेर हिरासतको बसाइका क्रममा फुरेका कविता आफूले सार्वजनिक गरेको उनको भनाइ छ ।

‘माथिको आदेश छ’मा संगृहीत कविता हिरासतसँगको बाध्यात्मक संसर्गबाट जन्मिएका सन्तान रहेको मिश्रले बताए । ‘यी कविता ‘हिरासतको ‘म’का आवाज, आवेग र आर्तनाद हुन्,’ उनले भने । कार्यक्रममा रवीन्द्र मिश्रले ‘माथिको आदेश छ’, ‘म राज्यविरुद्धको कसुर भएँ’ लगायत केही कविता वाचनसमेत गरेका थिए ।

५० दिन हिरासतमा बस्दा मिश्रले ३५ वटा कविता लेखेका थिए । तिनै कवितालाई उनले यस संग्रहमा संगृहीत गरेका हुन् । ‘कविताको सोच दिमागमा आउनु सामान्य हो तर त्यो सोच कविताको स्वरूपमा अभिव्यक्त हुनु असामान्य हो । हिरासत बसाइमा मलाई निरन्तर रूपमा कविताका सोचहरू दिमागमा फुरेछन् र तिनलाई मैले कवितामा रूपान्तरण गर्न सकेछु,’ कविताबारे उनले भने ।

मिश्रको यो दोस्रो कवितासंग्रह हो । उनको पहिलो कवितासंग्रह ‘रवीन्द्र मिश्रका कविता’ २०७१ सालमा प्रकाशन भएको थियो ।

‘रवीन्द्र मिश्र कवि हुन कविता लेख्दै छैनन्, कविता लेख्न कवि स्वरूपमा अवतरित छन् । कविले होइन, कवित्वले कविता लेखाएको छ,’ कवितासंग्रहको पाण्डुलिपि अध्ययन गरेका मदन पुरस्कार विजेता कवि तथा गीतकार नवराज लम्सालको टिप्पणी छ, ‘यसमा सूक्ष्म कथ्यमाथि बलियो र अटुट काव्यप्रवाह छ । यस संग्रहमा अध्यात्मतर्फ कविको आकर्षण पनि सुन्दर, सशक्त र गहिरो रूपमा प्रकट भएको छ ।’

‘पत्रकारिता, परोपकार वा राजनीतिको छविबिनै यस संग्रहका कवि रवीन्द्र मिश्र पूर्ण छन् । मिश्रलाई कविताको बाटोमा दह्रो गरी खुट्टा टेकेर उभिन यो कवितासंग्रह पर्याप्त रहेको पद्मश्री साहित्य पुरस्कार विजेता कवि नवराज पराजुलीको बुझाइ छ । ‘अनुभूतिलाई शब्दमा बिछ्याउँदा कविताको जुन बाटो बन्छ, रवीन्द्र मिश्र त्यो बाटोभरि इमानदार लाग्छन् । इमानदारी सौन्दर्य बनेर उनका कवितामा फुलेको छ,’ पराजुलीले लेखेका छन् ।

कवितासंग्रह फाइनप्रिन्टले प्रकाशन गरेको हो ।

कान्तिपुर

Link copied successfully