डा. लुहारले हालसम्म २७ वटा पुस्तक लेखेका छन् । उनका कृति नेपाल मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रख्यात छन् ।
What you should know
डडेल्धुरा — पुर्ख्यौली घर डडेल्धुरा भई नेपाली साहित्य र आध्यात्मिक चिन्तनको क्षेत्रमा सक्रिय योगदान गरिरहेका डा. नरिराम लुहार ‘विनोद’ प्रतिष्ठित ‘नेपाल लेखक पुरस्कार २०२५’ को आध्यात्मिक तथा धार्मिक साहित्य विधामा मनोनयनमा परेका छन् ।
उनको पुस्तक ‘नेपालका प्रमुख १० धर्महरूको संक्षिप्त परिचय’ ले धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र राष्ट्रिय पहिचानलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको मूल्यांकन गर्दै मनोनयन गरिएको आयोजक संस्था इन्फिनिटी सर्भिसेज प्रालिले जनाएको छ ।
पुस्तकले नेपालमा प्रचलित प्रमुख धर्महरूको वास्तविक परिचय मात्र नभई आपसी सद्भाव, शान्ति र आध्यात्मिक जागरणको सन्देशसमेत प्रवाह गरेको छ । साहित्यिक र आध्यात्मिक क्षेत्रमा योगदान गरेका ४० जनालाई कार्तिक १५ गते सम्मान गर्न लागिएको आयोजक संस्थाकी प्रबन्ध निर्देशक शीतल खड्काले जानकारी दिइन् ।
डा. लुहारको साहित्यिक समर्पण र आध्यात्मिक दृष्टिकोणले नेपाली समाजमा सकारात्मक सोच र नैतिक चेतना स्थापना गर्न उल्लेखनीय योगदान पुर्याउँदै आएको छ । उनका लेखनमार्फत युवा पुस्तालाई मार्गदर्शन गर्ने कार्य प्रशंसनीय रहेको उल्लेख गरिएको छ । डा. लुहारले हालसम्म २७ वटा पुस्तक लेखेका छन् । उनका कृति नेपाल मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रख्यात छन् ।
डा. लुहारले गोल्ड मेडलका साथ सातपटक वर्ल्ड रेकर्ड राखेका छन् । उत्कृष्ट शिक्षक पुरस्कार, राष्ट्रिय शिक्षा रत्न अवार्ड–२०७९, आजीवन उपलब्धि पुरस्कार, विश्वव्यापी अन्तर्राष्ट्रिय उपलब्धि पुरस्कार, ख्रिस्टियन अपोलोजिस्ट पुरस्कार, सर्वोत्कृष्ट लेखक पुरस्कार पाइसकेका छन् । यसका साथै उत्कृष्ट सार्वजनिक वक्ता पुरस्कार, ग्लोबल बेस्ट प्रोफेसर गोल्डेन पिक अवार्ड–२०७९, अन्तर्राष्ट्रिय मानव अधिकार पुरस्कार, एसिया नोबेल लिडरसिप पुरस्कार (थियोलोजिकल स्टडिज), राष्ट्रिय गौरव पुरस्कार र अन्तर्राष्ट्रिय नेल्सन मण्डेला पुरस्कार–२०२४ पाएका छन् ।
उनको यस मनोनयनले नेपाललाई आध्यात्मिक चिन्तन र साहित्यिक योगदानको माध्यमबाट विश्व समुदायमा परिचित गराउन महत्त्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ ।
