फाइनप्रिन्ट फिभर : साहित्य, संरक्षण र सिनेमामाथि संवाद

नारायणगढमा घुम्ती साहित्य उत्सव सम्पन्न ।

कार्तिक १, २०८२

रमेशकुमार पौडेल

Fineprint Fever: A Dialogue on Literature, Conservation, and Cinema

What you should know

चितवन — प्रकाशक संस्था फाइनप्रिन्टले शनिबार नारायणगढमा घुम्ती साहित्य उत्सव ‘फाइनप्रिन्ट फिभर’ सम्पन्न गरेको छ । हालै मात्र ‘युगदेखि युगसम्म’ पुस्तक सार्वजनिक गरेका राजेश हमालले लेखक भूपिन खड्कासँग सम्वाद गरे ।

हमालले पत्रकार यज्ञशसँग गरेको प्रश्नउत्तरमा आधारित रहेर सो पुस्तक तयार भएको हो । भूपिनले हमाललाई सोधे, ‘सिनेमाबाट साहित्यतर्फ लाग्दै गर्दाको अनुभव कस्तो हुँदो रहेछ ?’ आफू कसैसँग हम्मेसी नखुल्ने स्वभावको रहेको बताउँदै हमालले किताब लेख्ने कुरालाई पहिला टार्दै आएको बताए ।

‘म ‘अरे हुर्कंदै छु, कथा लामो लेख्नका लागि त पर्खौं न’ भन्थो । म हम्मेसी आफ्नो भावना अरुलाई सेयर नगर्ने स्वभावको मान्छे हुँ । तर यज्ञशजीसँग अलि पृथक् तरिकाले किताब लेख्ने कुरा उठ्यो । उहाँ पूर्वपरिचित त हैन तर चाँडै नै यसरी खुलेर कुरा गरेँ कि मधु (श्रीमती)लाई भन्दा धेरै उहाँलाई आफ्ना कुरा राखो,’ हमालले सुनाए । हमालसँग भूपिनले अहिलेको राजनीतिक घटनाक्रमका बारेमा पनि सोधे ।

‘पछिल्ला ७० वर्षमा जे जति आन्दोलन या संघर्ष भए, त्यसलाई हरेक नेपालीले हर्षोल्लासका साथ हृदयदेखि नै स्वागत गर्दै आएको हो । तर एउटा पुस्ताले आन्दोलन गरेर कसैलाई स्थापित गर्ने तर त्यसरी स्थापित नेतृत्वले अर्को पुस्तालाई सन्तुष्ट पार्न सकेको देखिएन । अब यसो नभए हुन्थ्यो भन्ने लाग्छ,’ हमालले भने । उनले नेता मात्रै नभएर अब जनतामा पनि भिजन हुनुपर्ने धारणा राखे ।

हमाल र भूपिनबीचको सम्वाद कार्यक्रमको अन्तिममा भएको थियो । साँझ पर्दै गर्दा पनि कार्यक्रम स्थल नारायणी कला मन्दिरभित्र श्रोताहरू उल्लेख्य देखिन्थे । त्यसअघि पाँचवटा सत्र सम्पन्न भएका थिए । सुरुवातमा सुविन भट्टराईसँग मिमांशा ढुंगानाले संवाद गरिन् । त्यसपछि नदी र समुन्द्र यात्राका बारेमा रमेश भुषाल र जीवा लामिछानेको कुराकानी सुरु भयो ।Fineprint Fever: A Dialogue on Literature, Conservation, and Cinema

लामिछानेको अन्टार्कटिका यात्रामा आधारित पुस्तक ‘अक्षत अन्टार्कटिका’ र रमेश भुषालको कर्णाली नदीको मुहान तिब्बतको मानसरोबर हुँदै नेपालदेखि भारतसम्म गरेको लामो यात्रामा आधारित पुस्तक ‘छालबाटो’ प्रकाशित भएको छ । त्यसैले यो छलफलमा वातावरण र संरक्षणका कुरा उठ्ने नै भयो । लामिछानेले पर्यावरण बचाउँदै विकास र पर्यटन अगाडि लैजान सकिने धारणा राखेका थिए । 

त्यसै गरी लेखक भुषालले नेपालमा एउटै विषयमा पटक–पटक लेखिँदै आएको तर लेख्नु पर्ने विषय लेख्दै नलेखेको देखिने गरेको बताए । नदी संरक्षण, जलवायु परिवर्तनजस्ता विषय लेखनमा धेरैभन्दा धेरै समेट्नु पर्ने उनको भनाइ रह्यो । कार्यक्रमै छैटौं पुस्तक ‘ज्ञानिका’ सार्वजनिक गरेका लेखक ददि सापकोटासँग साहित्यकार अमर न्यौपानेले गरेको संवादमा वन्यजीव र वनस्पतिका बारेमा प्रशस्त कुरा भए ।Fineprint Fever: A Dialogue on Literature, Conservation, and Cinema

यस वर्ष मदन पुरस्कार प्राप्त गर्न सफल उपन्यास ‘उरमाल’का लेखक छुदेन काविमोसँग सामना पहाडले चियाको कथाबारे वार्ता गरिन् । रञ्जना सुब्बाले ‘महाभारा’ र ‘सिमसारा’का वसन्त बस्नेतसँग र डा. जीवन क्षेत्रीले गत भदौमा ‘स्वस्पर्श’ प्रकाशित गरेका अर्का डा. नवराज केसीसँग संवाद गरेका थिए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully