सापकोटाले 'ज्ञानिका' मा २१ जना व्यक्तिको परिचयसहित उनीहरूको योगदानको रोचक शैलीमा जीवनकथा समेटेका छन् ।
चितवन — पत्रकार तथा लेखक ददि सापकोटाको छैटौं कृति 'ज्ञानिका' शनिबार सार्वजनिक भएको छ । प्रकाशन संस्था 'फाइनप्रिन्ट'ले नारायणगढमा आयोजना गरेको घुम्ती साहित्य उत्सव 'फाइन्टप्रिन्ट फिभर' मा उक्त पुस्तकको गृह विमोचन भएको हो । लेखक सापकोटाकी ९३ वर्षीया आमा चन्द्रकला सापकोटाले पुस्तक विमोचन गरेकी हुन् ।
सापकोटाले 'ज्ञानिका' मा २१ जना व्यक्तिको परिचयसहित उनीहरूको योगदानको रोचक शैलीमा जीवनकथा समेटेका छन् । पुस्तकमा समेटिएका व्यक्तिमा प्राय: पर्यावरण र जीव संरक्षणमा लागेका र समाजोपयोगी अन्य खोज अनुसन्धान पनि गरेकाहरू छन् ।
चितवन राष्ट्रिय निकुञ्जका संस्थापक कर्मचारी हुँदै प्रमुखसमेत भएर योगदान दिएका रामपृत यादव, चितवनका सुरूवाती समयका वन्यजन्तु प्राविधिक हर्कमान लामा र विष्णु लामा, सामुदायिक वनको स्थापना र उत्थानमा लागेका तेजबहादुर सिं महतदेखि सुपरिचित वनस्पति अध्येयता डा.तीर्थबहादुर श्रेष्ठसम्मको कथा 'ज्ञानिका' मा छ ।
सालकका बारेमा दत्तचित्त भएर लागेकी तुलसीलक्ष्मी सुवाल र मलाहा बिरालो अर्थात् फिसिङ क्याटका बारेमा अध्ययन अनुसन्धान गरेकी रमा मिश्र र होमस्टेलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने रविभक्त पाण्डेका ज्ञानगुनका कुरा पनि किताब समेटिएको छ ।
'उहाँहरूको अनुभव, रोचक संस्मरण तथा उहाँहरूको योगदान र अध्ययनको सार किताबमा छ' लेखक सापकोटाले भने । चितवन झुवानीका सापकोटा लामो समयदेखि फ्रान्समा बस्दै आएका छन् । उनको यसअघि 'पन्छी जगत्', 'त्यो नेपाल', 'दुखेको युरोप', 'वनको वैभव' र 'जीवगाथा' पुस्तक प्रकाशित छन् ।
