शनिबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजिनक भयो । पुस्तकमा हमालको जीवनलाई पत्रकार तथा लेखक यज्ञशले अन्तर्वार्तामा उनेका छन् ।
What you should know
काठमाडौँ — कुनै समय थियो, फिल्मका पर्दामा अभिनेता राजेश हमाल झुल्किनासाथ तालीका हुटिङ बर्सिन्थे । उनका गर्जँदो डाइलग सुनेर दर्शक तरंगित बन्थे । सिनेमामा सधैं प्रतीक्षित राजेशको जीवनबारे थुप्रै मानिसहरूका निम्ति चासोको विषय हुन्थ्यो । आजबाट उनै हमालको जीवनलाई दर्शकले पुस्तकका पानाहरूमार्फत पल्टाउन सक्नेछन् ।
शनिबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजिनक भयो । पुस्तकमा हमालको जीवनलाई पत्रकार तथा लेखक यज्ञशले अन्तर्वार्तामा उनेका छन् । पुस्तक विमोचनको परम्परागत शैली नपछ्याइ प्रकाशन गृह फाइनप्रिन्टले फरक अभ्यास गरेको हो । यज्ञश, लेखक बुद्धिसागर र आफ्नी जीवनसाथी मधु भट्टराईसँग राजेश पुस्तकको विषयमा अन्तर्क्रियामा सुनिएका थिए ।
बुद्धिसागरले आफूले छिचोलेको यो पुस्तकबारे मन्थन गर्दै भने, ‘राजेश हमालका २/३ हजार अन्तर्वार्ता होलान् । सबै प्रश्न त्यही पेरिफेरीका छन् । तर पुस्तकमा आइपुग्दा ती जवाफमा कति धेरै गहिराइ हुँदो रहेछ भनेर तपाईंले पहिलो पटक महसुस गर्नुहुन्छ । पुस्तक कहिल्यै पछि पर्दैन । पुस्तक कहिल्यै मर्दैन । पुस्तकहरू यसरी नै बाँचिरहन्छन् ।’
राजेश हमालसँग स्टेज सेयर गरिरहँदा बुद्धिसागर पुराना स्मृतितर्फ फर्किए । बाल्यकालीन समयमा कैलालीको मटेरामा भिडियोमा फिल्म हेरिरहने क्रमलाई अचानक सिनेमा हलले ब्रेक लगाएको थियो । एकदिन बुद्धिसागरलाई दिदीहरूले भने, ‘एउटा मिथुनजस्तो नेपाली हिरो आएको छ रे । उसको फिल्म चलेको छ रे । त्यो हेर्न जाऊँ ।’ फिल्म थियो– ‘युगदेखि युगसम्म’ । बुद्धिसागरले हलमा साक्षात्कार गरेको पहिलो फिल्म थियो त्यो । हलभित्र ठूलो लाइट आउनु र राजेश हमालको इन्ट्री हुनु । त्यो निकै रोचक क्षण थियो । ‘त्यो टीकापुरको हलमा असिनपसिन भएर कहिल्यै कल्पना गरेको थिइनँ कि यति वर्षको अन्तरालपछि हामी स्टेजमा हुनेछौँ । र म त्यो कथा सुनाउनेछु,’ बुद्धिसागरले सम्झिए ।
राजेशको फिल्म ‘चट्याङ’ हेर्न स्कुलबाट भागेर फिल्म हल गएको तर टिकट नपाएर फर्किएको किस्सा पनि उनले सुनाए । पुस्तक पढिरहँदा उनले अनुभूत गरेका केही गहिरा कुरा यसरी सुनाए, ‘बाहिरबाट देख्दा राजेश हमाल यति ठूलो मिथ, औरा भएको व्यक्तित्व हो । तर पुस्तक पढ्दा त्यतिधेरै चमकमा बसेको मान्छेभित्र पनि कतिको ठूलो एक्लोपन हुन्छ भन्ने कुरा पुस्तकमा छ । त्यसले मलाई छोयो । भीडको बीचमा पनि मान्छेभित्र कस्तो खालको एक्लोपन हुन्छ । त्यो बुझ्न पाएँ ।’
राजेश हमालले यो पुस्तक तयार पार्दाका क्षणहरू पनि कार्यक्रममा सम्झिए । ‘यो पुस्तक यज्ञशजी र मैले विभिन्न वातावरणमा छलफल गर्यौँ । रोचक कुराचाहिँ म एउटै ठेगानामा ५० औं वर्ष बसेँ । तर यो पुस्तक लेख्ने क्रममा मेरो ठेगाना तीन पटक बदलियो,’ उनले सुनाए । कपुरधारामा पचासौँ वर्ष बिताएका राजेशले पुस्तकका लागि वार्ता त्यही घरबाट सुरु गरेका थिए । त्यही क्रममा कपुरधाराको घर छाडेर उनी बुढानिलकण्ठ सरे । र त्यहाँबाट पनि नयाँ निर्माण भएको घरमा सिफ्ट भए ।
‘यी तीनै ठाउँमा यज्ञशजी र म बसेर धेरै छलफल गर्यौँ । विदेशमा हुँदा पनि ह्वाट्सएपबाट भिडियो कलमासमेत छलफल गर्यौँ,’ राजेशले सुनाए । यो क्रममा मधुले दिएको साथ र सहयोगबारे पनि राजेशले सुनाए । मधुले पनि राजेशलाई नजिकबाट चिन्ने मौका पुस्तकबाट पाउने बताइन् ।
यज्ञशले राजेशसँग यो पुस्तक तयार पार्ने क्रममा फेरिएका विचार र नयाँ अवधारणाबारे सुनाए । ‘मानिसका समयक्रमा अनुसार विचारहरू फेरिन्छन् । यो पुस्तक लेखनको दौरान पनि मेरा कति विचार परिवर्तन भए । नयाँ अवधारणा जन्मिए,’ उनले सुनाए ।
