गैरआवासीय नेपाली संघ (एनआरएनए)को २२औँ स्थापना दिवसका अवसरमा बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठान र एनआरएनएको भाषा साहित्य समितिले संयुक्त रुपमा आयोजना गरेको साहित्यिक संगोष्ठी तथा बहुभाषिक सिर्जना वाचन कार्यक्रमका वक्ताले देश अब निश्चित भूगोलभित्र मात्र सीमित नहुने बताएका हुन् ।
What you should know
काठमाडौँ — नेपाली पुगेका ठाउँमा नेपाल हुने भएकाले ती ठाउँमा नेपाली भाषा साहित्यको विकास गरिनुपर्नेमा जोड दिइएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)को २२औँ स्थापना दिवसका अवसरमा बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठान र एनआरएनएको भाषा साहित्य समितिले संयुक्त रुपमा आयोजना गरेको साहित्यिक संगोष्ठी तथा बहुभाषिक सिर्जना वाचन कार्यक्रमका वक्ताले देश अब निश्चित भूगोलभित्र मात्र सीमित नहुने बताएका हुन् । त्यसैले नेपाली पुगेका स्थानामा नेपाली भाषा, साहित्यको विकास गरी नेपाल भएको अनुभूति नयाँ पुस्तालाई दिनुपर्नेमा उनीहरुले जोड दिएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति भुपाल राईले नेपाली भाषाका साथै नेपालमा बोलिने सबै भाषाका क्षेत्रमा प्रतिष्ठानले काम गर्न लागेको जानकारी गराए ।
प्रतिष्ठानले हाल ४६ भाषामा काम सुरु गरिसकेको र दश भाषामा पत्रिका नै प्रकाशन सुरु भएको उनले सुनाए । विश्वका जुनसुकै कुनामा नेपाली पुगे पनि त्यहाँ नेपाली भाषा, साहित्य र संस्कृतिको पनि विकास हुने कुलपति राईले सुनाए ।
एनआरएनएका अध्यक्ष महेशकुमार श्रेष्ठले कुनै पनि देशका अस्तित्व समाप्त गर्न त्यस देशका भाषा र संस्कृति समाप्त गरे हुने भएकाले विश्वभर फैलिएका गैरआवासीय नेपालीले आफ्ना छोराछोरीलाई नेपाली भाषा र संस्कृतिको प्रवर्द्धन गरी भावनात्मक रुपमा राष्ट्रियताप्रति प्रतिबद्ध बनाएको बताए ।
प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीले विश्वभर नेपाली भाषा साहित्यको संरक्षण एवं प्रवर्द्धनका लागि एनआरएनएसँग सहकार्य भइरहेको बताए ।
एनआरएनएका उपाध्यक्ष एवं भाषा साहित्य समितिका संयोजक विश्वासदीप तिगेलाले एनआरएनएको संगठन भएका ९१ देशमा नेपाली भाषा, साहित्यका प्रवर्द्धनमा पनि काम भइरहेको बताए ।
कार्यक्रममा प्रतिष्ठानका मातृभाषा साहित्य विभाग प्रमुख राजन मुकारुङले नेपाल भाषा र संस्कृतिका दृष्टिले बहुआयामिक भएकाले त्यसै अनुरुपका कामलाई अघि बढाइएको बताए ।
एनआरएनएका पूर्वमहासचिव जानकी गुरुङले नेपाल बाहिर बस्ने नेपाली पनि राष्ट्रियताका प्रतीक भएकाले त्यहाँ पनि नेपाली भाषा सहित्यको विकास भएको बताए ।
कार्यक्रममा विभिन्न भाषाका ५४ जना कवि एवं कवयित्रीले आफ्ना रचना पाठ गरी सुनाएका थिए ।
