तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवनले आयोजना गरेको कार्यक्रममा समीक्षकले उपन्यासले समग्र नेपाली समाजको चित्रण गरेको बताए ।
काठमाडौँ — पत्रकार तथा लेखक वसन्त पराजुलीद्वारा लेखिएको उपन्यास ‘बखान’माथि शनिबार भरतपुरमा समीक्षा गरिएको छ ।
तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद चितवनले आयोजना गरेको कार्यक्रममा समीक्षकले उपन्यासले समग्र नेपाली समाजको चित्रण गरेको बताए । विशेषगरी गुरुङ समुदायको इतिहास, संस्कृति र राजनीतिक भूमिकालाई उजागर गर्दै गहिरो प्रभाव पार्न सफल भएको समीक्षक गणेशबहादुर गुरुङले बताए ।
‘गुरूङ समुदायको लागि एउटा महत्त्वपूर्ण दस्तावेज नै बनेको छ,’ उनले भने, ‘किनकि सत्यतथ्यमा आधारित यस्ता पुस्तक बिरलै पढ्न पाइन्छ ।’ यो उपन्यास केवल गुरुङ समुदायका लागि मात्र नभई गैरगुरूङ समुदायका पाठकहरूका लागि पनि केही नयाँ पक्ष उजागर गर्ने कृति भएको उनको भनाइ छ । उपन्यासमा देखिएको संवेदनशीलता र यथार्थ चित्रणको उनले प्रशंसा गरे ।
अर्का समीक्षक एवम् पत्रकार विनोदबाबु रिजालले पुस्तकलाई ‘ऐतिहासिक दस्तावेज’को संज्ञा दिए । उपन्यासभित्रका प्रमुख पात्र बखानसिंह गुरूङले राज्यबाट पाउनुपर्ने सम्मान नागरिक तहबाट पाएको उनको भनाइ छ । ‘कम्तीमा नागरिकका तर्फबाट वसन्त पराजुलीले उपन्यास लेखेर एक पटक सम्मान दिने प्रयास भएको छ,’ उनी भन्छन्, ‘यो सम्मान राज्यले दिनुपर्ने थियो ।’
उपन्यासको भौगोलिक पृष्ठभूमिमा केही त्रुटि भए पनि त्यसले समग्र कथाको प्रभावमा असर नपरेको गुरुङ संस्कृतिमा गहिरो सरोकार राख्ने कवि एवम् समीक्षक माया कोन्मे गुरूङले बताइन् । गोरखा, तनहुँ, चितवन र नरकटियागञ्ज बखानको मुख्य भूगोल भएको हुँदा भूगोलको विषयमा अझ ध्यान दिनुपर्ने देखिएको उनले जनाइन् । ‘लेखकले चितवनलाई चिनाउने उद्देश्यले केही कल्पनात्मक प्रसङ्ग पनि जोडिदिनुभएको छ, जुन उपन्यासको शैलीअनुरूप स्वीकार्य छन्,’ उनले भनिन् ।
उपन्यास भएको हुँदा कतिपय प्रसङ्ग काल्पनिक हुने लेखक वसन्त पराजुलीले बताए । उपन्यासमार्फत चितवनको विगतलाई केलाउने क्रममा उनले उपन्यासका प्रमुख पात्र बखानसिंह गुरुङलाई चितवन चिनाउन आवश्यक स्थानहरुको भ्रमण गराइएको प्रसङ्ग सुनाए । ‘कतिपय स्थानमा मुख्य पात्रलाई नपुर्याइँदा चितवनको परिचय अधुरो रहन्थ्यो । उपन्यास अधुरो रहन्थ्यो,’ उनी भन्छन्, ‘त्यसकारण वास्तविकतामा केही कल्पनाशीलता पनि मिसिएको छ ।’
बखानसिंह गुरूङलाई मुख्य पात्रका रूपमा उभ्याइँदा गुरुङ संस्कार, संस्कृति र चालचलनलाई पनि समेट्न आवश्यक पर्ने हुँदा ती विषयलाई पनि उपन्यासमा समेट्ने प्रयास गरिएको उनको भनाइ छ । उपन्यास लेखेकै आधारमा चितवनका गुरूङहरुको संस्था तमू ह्युल छोँज धीँले गरेको सम्मानप्रति कृतज्ञ रहेको उनले बताए । ‘चितवनको गुरूङ समुदायबाट प्राप्त गरेको यो माया र सम्मान मेरा लागि अविस्मरणीय छ,’ उनले भने ।
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्षसेमत रहेका लेखक पराजुलीलाई तमू ह्युल छोँज धीँ चितवनले गुरुङ संस्कारअनुसार दही–अक्षता र सेता फेटासँगै सम्मानपत्र प्रदान गरेको थियो ।
