लेखक गिरीले आफ्नो पहिलो कथासंग्रहमा स्वैरकल्पनालाई हतियार बनाएर यथार्थहरुको वर्णन गरेका छन् ।
काठमाडौँ — खगेन्द्र गिरीको ‘भग्न प्रेमशाला’ कथासंग्रह बजारमा आएको छ । संग्रहमा नौ वटा प्रयोगवादी कथा समावेश छन् ।
लेखक गिरीले आफ्नो पहिलो कथासंग्रहमा स्वैरकल्पनालाई हतियार बनाएर यथार्थहरुको वर्णन गरेका छन् । उनका कथामा दैनिक जीवनका सामान्य लाग्ने पात्रहरु भयंकर र खुंखार अवतारमा देखिने गर्छन् ।
पत्रकारिता पेसामा आबद्ध लेखक गिरीले आफ्ना कथामा वर्तमानदेखि इतिहाससम्मका विकृतिहरुमाथि तीक्ष्ण व्यंग्य पनि गरेका छन् ।
आख्यानकार तथा निबन्धकार नारायण ढकालले गिरीले आफ्ना कथामा सामाजिक, आर्थिक, राजनीतिक, नैतिक सबैखाले संकटलाई विषयवस्तु बनाएको उल्लेख गरेका छन् । गिरीको मुख्य साहित्यिक उपकरण स्वैरकल्पना भए पनि त्यसलाई उडन्ते तवरले प्रयोग नगरिएको ढकालको भनाइ छ ।
संग्रह इन्डिगो इन्कले प्रकाशन गरेको हो । पुस्तक चाँडै विमोचन हुने प्रकाशकले जनाएको छ । पुस्तकको मूल्य ५४९ रुपैयाँ राखिएको छ ।
